फेरीबाट स्वामीकार्तिकमा यातायात सञ्चालनको तयारी
बाजुरा : बाजुराको उत्तरी क्षेत्रमा रहेको कर्णाली पारीको स्थानिय तह स्वामीकार्तिक खापर गाउँपालिकामा यातायात पहुँच पुयाउन कर्णाली नदीमा फेरी निर्माण गरिने भएको छ। गाउँपालिकाको आफ्नै लगातमा फेरि निर्माण गरिने अध्यक्ष चिरन्जीवी शाहीले बताए।
९ वटा स्थानीय तह रहेको बाजुरा जिल्लामा सडक सञ्जाल नजोडिएको एउटा मात्र स्थानिय तह स्वामीकार्तिक खापर गाउँपालिका हो। यो कर्णाली नदि पारी छ।
स्वामीकार्तिक खापर गाउँपालिका ४ सुईजिउला र जगन्नाथ गाँउपालिका १ पिलिचौरको बिचमा फेरी बनाएर यातायातका साधान तार्ने काम गर्ने गरिने अध्यक्ष शाहीले बताए। फेरी सञ्चालनमा आएपछि वर्षातका ३ महिना असार, साउन, भदौ महिना बन्द हुने र बाँकी महिना भने सञ्चालन भइरहने गाउँपालिकाले जनाएको छ।
कर्णाली नदीमा यातायात सञ्चालन हुने पुल निर्माणका लागि धेरै लगानी आवश्यक पर्ने र तत्काल सम्भावना नभएकाले अहिलेलाई फेरी निर्माण सुरु गरेको अध्यक्ष शाहीले बताए। १ करोड ७४ लाखमा निर्माण हुन लागेको फेरी ठेक्का सम्झौता भएर ६ महिनाभित्र काम सम्पन्न हुने निमित्त प्रशासकीय अधिकृत कुबेर शाहीले बताए।
फेरी निर्माणको काम सुनन्नदा मष्टेश्वरी निर्माण सेवासँग सम्झौता भएको छ। निर्माण सेवाका प्रबन्धक विनोद शाहीले भने ६ महिनाभित्र काम गरिसक्ने सम्झौता रहेको छ।
कर्णाली नदीमा फेरी निर्माण हुन लागेपछि स्थानीयबासी खुसी भएका छन्। 'गाडी चढ्न, सामान ढुवानी गर्न, बोक्न पनि कर्णाली तर्नु पर्ने रहेको छ', फेरी बनेपछि यो बाध्यता टर्ने आशा छन स्थानीय जयमैल ल्वार।
फेरी निर्माण हुन लागेको स्वामिकार्तिक खापर गाँउपालिका ४ सुईजिउला र जगन्नाथ गाँउपालिका १ पिलिचौरमा रहेको कर्णाली नदी। फोटोः पदमबहादुर सिंह/अन्नपूर्ण