‘केटासँग लभ होइन फाइट पर्थ्यो'
काठमाडौं : २५ वर्षपछि थिएटर आर्टिस्ट निशा शर्मा चलचित्रमा कमब्याक भएकी छन् । उनलाई सिनेमाको पर्दामा देख्न चाहनेहरूका लागि यो ठूलो खुसीको खबर हो । तर उनी चलचित्रको पर्दाभन्दा नाटक घरको प्रांगणमा रमाउँछिन् ।
खगेन्द्र लामिछानेले निर्देशन गर्न लागेको ‘पानीफोटो’ मा दमदार भूमिका नभएको भए उनले यो चलचित्र खेल्ने निदो गर्ने नै थिइनन् ।भर्खरै पाँचौं राष्ट्रिय नाटक महोत्सव सकाएर वि श्राममा रहेकी निशा आफूलाई भूमिका मन नपरेसम्म नखेल्ने बताउँछिन् । भन्छिन्, ‘सानै भूमिका होस् तर त्यो दर्शकले ‘नोटिस’ गर्ने खालको हुनुपर्छ ।’
आजसम्म उनले थुप्रै टेलिफिल्म र नाटकमा काम गरिसकेकी छन् । ती सबैमा उनले आफ्नो भूमिका हेरेर काम गरिन् । तर अहिले उनी आफ्नो क्यारेक्टर र उमेर सुहाउने स्क्रिप्ट चलचित्र क्षेत्रमा पाउँदिनन् । बीचमा एक विदेशी निर्माताको फिल्म उनलाई निकै मन परेको थियो तर त्यो फिल्म पछि बनेन ।
पानीफोटो गुरुकुलमा मञ्चन भइसकेको नाटक हो । यसको कथावस्तुसँग जानकार भएकाले नै उनले फिल्म खेल्न चाहेकी हुन् । होइन भने निशा फिल्मी वातावरण खासै मन पराउँदिनन् ।
नेपाली फिल्ममा उमेर ढल्किसकेका कलाकारलाई मुख्य भूमिकामा राखेर कथा नै लेखिँदैन । कथा सबै हिरो हिरोइनको वरिपरि घुम्छ । यस्तो किसिमको टे«न्ड निशालाई खासै चित्त बुझेको छैन ।
पानी फोटोमा आमाको भूमिका निर्वाह गर्न लागेकी निशा भन्छिन्, ‘हिरो हिरोइनले मात्र होइन उमेर ढल्किसकेका कलाकारले पनि दर्शक तान्न सक्छन् ।’ सानो उमेरमा चलचित्र क्षेत्रमा जान नपाउँदा उनलाई दुःख लाथ्यो । नाटकमा मात्र किन सीमित हुनु जस्तो लाग्थ्यो तर अहिले उनी बुझ्दै छिन् आफू विशेषतः ‘नाटकका लागि जन्मेको रहेछु’ ।
चलचित्रको स्क्रिनले कलाकारलाई छिटो लोकप्रिय बनाउँछ । तर निशालाई त्यस्तो लोकप्रियताले खासै मन तानेन । भन्छिन्, ‘देखावटी ग्ल्यामरमा रमाउनै सकिनँ ।’ फिल्ममा प्रविधिको बढी प्रयोग हुने भएकाले कलाकारको ‘इफोर्ट’ कम लाग्ने उनी बताउँछिन् । नाटकमा त्यस्तो हुँदैन । सबै विषयमा पोख्त हुनुपर्छ । ‘अभिनयका लागि नाटक निकै सशक्त माध्यम हो’, उनी भन्छिन् ।
फिल्मप्रतिको वितृष्णा ‘प्रे्रेमपिण्ड’ खेल्दादेखि नै लागेको थियो । उनलाई बताइएको भूमिकाका र गरिएको अभिनयका कयौं सिन काटिएपछि निशा निकै दुःखी भइन् । भन्छिन्, ‘मलाई यति नराम्रो लाग्यो कि मैले आजसम्म त्यो फिल्म हेरेकी छैन, हेर्नै मन लागेन ।’
थुप्रै टेलिसिरियलमा अभिनय गरेकी निशाको जीवन बिमा, दसैं, निमित्त नायक, सत्य सारस, जेठो छोरा, दोष कसैको छैन, चप्रासी, हाट खोलाको गोरेटो निकै चर्चित छन् । निशाले थुप्रै यादगार नाटकमा अभिनय गरिन् जसमा विदेशी नाटक पुतलीको घर र साइकोसिस निकै चर्चित छन् । उनी आफैंलाई पनि साइकोसिस नाटक निकै राम्रो लाग्छ । भन्छिन्, ‘यसमा पात्रलाई न्याय गरेको जस्तो लाग्छ ।’
जानी नजानी नाटकबाटै महिलाको हकहितका विषयमा काम गर्न पाउँदा उनी खुसी छिन् । पाँच वर्षकै उमेरमा नाटक क्षेत्रमा प्रवेश गरेकी निशाले पछि १०, ११ वर्षको उमेरमा दोस्रो नाटक खेलेकी हुन् । नाटकका लागि मेहेनत गर्नु परे पनि खासै संघर्ष गर्नु परेको अनुभव उनीसँग छैन । यो मामलामा आफू भाग्यमानी ठान्छिन् ।
अभिनय क्षेत्रमा लाग्छु भन्ने कहिल्यै नसोचेकी उनलाई सुनील पोखरेल र बद्री अधिकारीले नाटकमा प्रवेश गराएका हुन् । नाटक खेल्ने कुरा सुनेर उनकी साइँली दिदी खुब रिसाउनु भयो । पढाइ बिग्रिन्छ भन्दै चिन्ता गर्नुभयो । यसै पनि निशालाई पढाइमा खासै रुचि थिएन । त्यसमाथि रिसालु र झगडालु स्वभाव थियो उनको ।
तर ‘प्रतिभा आकाशमा छे’ भन्ने नाटकमा प्रतिभाको बहिनी बनेर खेलेपछि उनको नाटकमा मन बस्यो । ०४२ सालमा फेरि उनले महजोडीको ‘विज्ञापन’ मा अभिनय गरिन् । प्रायः आरोहण समूहबाट नाटक खेल्दै आएकी निशाले त्योभन्दा बाहिर जम्मा दुई नाटक खेलिन् ।
त्यो बेलाको नाटकमा अभिनय सिकाइका दिन सम्झँदै उनी भन्छिन्, ‘रिहर्सलमा गल्ती गर्दा गाली र कुटाइ दुवै खान्थेँ । त्यतिबेला खुब रुन्थेँ ।’ उनी सानैदेखि चुलबुले थिइन् । हक्की स्वभाव थियो । उमेरमा केटासँग लभ होइन फाइट पथ्र्याे । जसलाई पनि कुट्न तम्सिहाल्थिन् । सुनीलले प्रपोज गर्दा १० वर्षपछि पनि जवाफ दिन सक्दिनँ जस्तो लागेको थियो उनलाई ।
नौ वर्षकै उमेरमा सुनीलसँग भेट भएको थियो । त्यसैले सुरुमा त सुनीललाई दाइ भनेर सम्बोधन गर्थिन् । पछि उनीसँगै विवाह भयो । स्कुलका दिन निशा निकै याद गर्छिन् । त्यो बचपना कति रमाइलो थियो । लभलेटर दिने केटाहरू पनि धेरै थिए । एक दिन कक्षाकै एक केटाले लभ लेटर लेखेर दियो । उसले घर गएर पढ्नसमेत सुझायो । तर निशाले स्कुलकै शौचालयमा गएर पढिन् । पहिलो पटक लभ लेटर पढ्दा उनको हाँसो रोकिएन । उनी मुस्कुराउँदै भन्छिन्, ‘त्यो कस्तो फन्नी लभ लेटर थियो भने के भन्नु ।’
पहिलो पटक लभ लेटरमा मलाई निशा होइन प्रेमपूर्वक निशी लेखिएको थियो । पढेर मरीमरी हाँस्दै उनले त्यो चिठी शौचालयमै फ्यालिन् । स्कुलकै अर्को केटा साथीले आफ्नो फोटो पछाडि कविता लेखेर दिएका थिए । उनी कविता लेख्न माहिर थिए । त्यो गजबको कविता निशालाई भने मनै परेन । दिदीलाई रुँदै लभ लेटर आएको कुरा सुनाइन् । केटाले सताइरहेको कुरा दिदीलाई भनिन् । पछि भाइले त्यो कविता पढेपछि केटाले रामधुलाई भेट्यो । पछि त्यही केटा बदला लिन साइकल चढेर निशालाई कुट्न आएको प्रसंग सम्झँदा उनी खित्का जोडेर हाँस्छिन् । ‘साँच्चै कस्तो रमाइलो बचपना थियो’, उनी भन्छिन् ।
वयस्क उमेरमा आफ्नो मुर्खता सम्झँदा पनि उनलाई निकै हाँसो उठ्छ । लभ लेटरको जवाफ नो भन्न पनि उनी हडबडाउँदै कापी र पेन खोज्न थाल्थिन् । भन्छिन्, ‘म कस्तो मूर्ख थिएँ भने मुखैले नो भनेको भए पनि हुन्थ्यो नि ।’ पछि सुनीलको जेन्टल र क्रियटिभ नेचर देखेर उनी प्रेममा परिन् ।
सुनील बिल्कुल नबोल्ने तर निशालाई बोलिरहनु पर्ने । तर पनि भगवान्ले जोडी जुराइदिए । आज पनि खासै फोनमा एकअर्काबीच कुरा हुँदैन । फोन नै गर्नु परे पति सुनीलले नै गर्छन् । निशा खासै फोनमा कुरा गर्ने मान्छे होइनन् । आफैंमा रमाउने स्वभाव भएकी निशा काम नपरेसम्म फोन नगर्ने आफ्नो नराम्रो बानी रहेको बताउँछिन् ।
नाटकलाई नजिकबाट नियालेकी निशा आजकलको नाटक बढी प्रयोगात्मक भएको बताउँछिन् । ‘केही नाटकमा एक्सपेरिमेन्ट सुहाउँछ तर सबैमा होइन’, उनी भन्छिन् ।
बीचमा नाटकको माहोल निकै बिग्रिए पनि अहिले सुधारिँदै आएको उनको अनुभव छ । गाउँघरका लोक नाटक अझै सहरसम्म आउन नसकेकोमा भने उनको चिन्ता छ ।
हाल नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद् सदस्य रहेकी निशा नाटक क्षेत्रमा पनि थुप्रै कमी, कमजोरी भएको र त्यो सुधार हुनुपर्ने बताउँछिन् । फिल्ममा थिएटर आर्टिस्टको काम चलचित्रको कथा सुहाउँदो नभएको विषयमा पनि उनी जानकार छिन् ।