बर्खा लाग्यो, मुस्ताङ घुम्न जाने होइन? (फोटो फिचर)
इतिहासले ठग्यो भनु भने, सहिदको गाथा छ।
भुगोलले ठग्यो भनु भने, सर्वोच्च सगरमाथा छ।
मुस्ताङ : यी कविताका हरफले नेपालको विविधता, सम्भावना र गौरवमय इतिहासलाई प्रतिबिम्बित गर्दछ। भौगोलिक दुरता र विकटताले कहिलेकाहीँ ठगिएजस्तो महुशुस गर्ने हामीले यहाँको अथाह सम्भावनालाई बोध गर्न नसकेको प्रतित हुन्छ।
नपत्याए हिमाल पारिको जिल्ला मुस्ताङ पुग्नुस्। जहाँ प्रकृतिको अनुपम छटाले भरिपूर्ण छ। स्वर्गको एक टुक्राजस्तो आभाष हुने यो जिल्लाका हर ठाउँमा पछिल्ला दुई तीन वर्षयता विकास र परिवर्तनमा उल्लेख्य परिवर्तन आएको देखिन्छ।
मुस्ताङ कहिले घुम्ने ? सामान्यतयाः धेरैको जवाफ हुन्छ, असोज या कात्तिकमा।तर मुस्ताङ घुम्ने सबैभन्दा उपर्युक्त मौसम भने असार मानिन्छ। यतिबेला तराई पहाडमा गर्मीले आकुल व्याकुल बनाइरहेको अवस्थामा यहाँ भने त्यसको कुनै आभाष हुँदैन।
'न शरीर काप्ने जाडो, न असिनपसिन हुने गर्मी, सबैभन्दा उपर्युक्त मौसम असार साउनमै हो,' लामो समयदेखि जोमसोममा व्यवसाय गर्दै आएका टेकबहादुर विक भन्छन्, 'घुम्नका लागि असोज कात्तिकमै बढी पर्यटक आउँछन्, तर अहिले मुस्ताङ घुम्नका लागि उपर्युक्त मौसम हो भन्ने धेरैलाई जानकारी नै छैन।' बर्खाको समयमा आउँदाजाँदा बाटामा केही सकस भएपनि यहाँ ठूलो पानी नपर्ने भएकाले यो मौसमले ठूलै समस्या ननिम्त्याउने उनको भनाई छ।
मुस्ताङमा हिन्दु र बौद्धमार्गीको अनुपम तीर्थस्थल मुक्तिनाथ मन्दिरदेखि उपल्लो मुस्ताङको लोमान्थाङ दरबार र माटाले बनेका घर गाउँहरु निकै आकर्षक र लोभ लाग्दा देखिन्छन्।हिमाल पारीको जिल्ला मुस्ताङको जोमसोम, ठिनी गाउँ, धुम्बा ताल, मुक्तिनाथ सेरोफेरोमा लिइएका सुन्दर तस्बिर।