झलनाथ खनालको प्रश्न : गलत लेख्नेलाई पत्रकार भन्ने कि ‘पत्रुकार' ?
काठमाडौं : ‘कुनै एउटा सञ्चार माध्यमले झलनाथ खनाललाई रतन्धो लागेको छ भनेर लेख्यो। समाचारमा म राति हिड्न नसक्ने कुरा उल्लेख थियो। मलाई त्यो रोग लागेको छैन। भाविष्यमा पनि लाग्दैन। त्यस्तोलाई पत्रकार भन्ने कि ‘पत्रुकार’ ?’ संसदको विकास तथा प्रविधि समितिमा नेकपा वरिष्ठ नेता झलनाथ खनाल आफ्नो स्वास्थ्यको विषयमा गलत लेख्ने पत्रकारविरुद्ध कड्किए।
सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रतिपक्षी दलका सांसदले विरोध गरेपछि पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा सांसद खनालले थपे, ‘हुँदै नभएको गलत लेख्छ भने नियन्त्रण गर्ने कि नगर्ने ?’ सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक उपसमितिले पारित गरेपछि बुधबार छलफलका लागि समितिमा पेश भएको थियो।
विधेयकमाथिको छलफलमा बोल्दै खनालले पत्रकारिता क्षेत्रलाई स्वतन्त्रता दिएको तर त्यो परिभाषित नभएको तर्क गरे। ‘‘पत्रकारितालाई स्वतन्त्रता छ। तर, अभिव्यक्ति स्वतन्त्रतालाई कसरी परिभाषित गर्ने ?’, खनालले थप प्रश्न गरे, ‘जे मन लाग्यो त्यही लेख्न पाइन्छ ? मर्यादित ढंगले लेख्नु पर्दैन ?’
उनले अधिकारप्राप्त सञ्चार माध्यममलाई नियन्त्रण भन्दा पनि मर्यादित बनाउनुपर्नेमा जोड दिए। ‘नियन्त्रण भन्दा पनि मर्यादित बनाउनलाई यो विधेयक आएको हो’, खनालले भने, ‘विधेयकमा केही कमिकमजोरी भए विज्ञसँग बसेर छलफलपछि पारित गरौँ।’
प्रतिपक्षी सांसदलाई समेत खनालले आग्रह पूर्वाग्रह नराखी छलफलमा सहभागी हुन अनुरोध गरे। ‘आग्रह र पूर्वाग्रह नराखौँ’, खनालले कांग्रेस सांसदलाई अनुरोध गर्दै भने, ‘छलफल गरेर अगाडि बढौँ, सके सर्वसम्मत गरौँ, नसके बुहमतीय प्रक्रियाबाट विधेयक पारित गरौँ ।’
नेता खनालले सरकारमा सत्तापक्ष र विपक्षी भए पनि संसदीय समितिमा राजनीति नगर्न प्रतिपक्षी दलका नेतालाई आग्रह गरे। ‘शेरबहादुर देउवाले विधेयक ठिक छैन भनेर बोल्नुभयो। त्यो उहाँको प्रतिपक्षी दलको नेताको भूमिका अर्थात् हैसियत हो। तर, समितिमा राजनीति नगरौँ।’