विद्यार्थीबाट उठाइएको करिब ६३ लाख प्यूठान नगरपालिकाले फिर्ता गर्ने
प्यूठान : प्यूठान नगरपालिकाले चालु शैक्षिक शत्रमा भर्ना हुँदा शुल्क बुझाएका विद्यार्थीको रकम फिर्ता दिने भएको छ। बिहीबार सम्पन्न नगरको पाँचौ सभाले यससम्बन्धी नीतिगत निर्णय गरेको हो।
कक्षा १ देखि १० सम्म अध्ययनरत नगरपालिकाका सबै बालवालिका भर्ना हुँदा विभिन्न बाहानामा विद्यालयले उठाएको रकम फिर्ता गर्ने निर्णय भएको नगरप्रमुख अर्जुनकुमार कक्षपतीले जानकारी दिए।
रकम फिर्ता भएपछि नगरक्षेत्रका करिव १५ हजार विद्यार्थी लाभान्वित हुनेछन्। नगरक्षेत्रमा सामुदायिक ५२ र संस्थागत १२ गरी कूल ६४ वटा शैक्षिक संस्था रहेको शिक्षा शाखा अधिकृत नरेन्द्र सुवेदीले जानकारी दिए। उनका अनुसार भर्ना हुँदा अभिभावकबाट उठाइएको करिब ६३ लाख रुपैयाँ शुल्क फिर्ता हुने अनुमान छ।
तत्काल नीतिगत निर्णय भएको जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले विस्तृत कार्ययोजना बनाएर अघि बढ्ने योजना सुनाए। नगर क्षेत्रका सवै विद्यालयबाट उठाइएको अनुमानित रकमको तथ्यांक संकलन भइसकेको उनको भनाइ छ।
निजी अनुदान कोटामा शिक्षक व्यवस्थापन गरेर रिक्त शिक्षकको संख्या पूरा गर्ने समेत उनले बताए।
विद्यालयले विद्यार्थीबाट विभिन्न बाहानामा उठाएको शुल्कले निजी शिक्षकको पारिश्रमिक, शैक्षिक सामग्री र फर्निचर खरिद गर्ने गरेको जनाएका छन्। ‘कार्यक्रम निरन्तर संचालन भएमा स्वागतयोग्य छ’, मुक्ति मावि रातामाटाका प्रधानाध्यापक योगेन्द्र जिसीले भने, ‘तर, सस्तो लोकप्रियताका लागि मात्र हुनुहुँदैन।’
निजी स्रोतबाट राखिएका शिक्षकको व्यवस्थापनमा नगरपालिकाले चासो देखाउनुपर्ने उनको सुझाव छ। विद्यालयमा कार्यरत ४१ जना शिक्षकमध्ये २० जना निजीबाट राख्नुपर्ने बाध्यता रहेको उनले सुनाए।