सूचना प्रविधि विधेयकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच बाझियो मत

सूचना प्रविधि विधेयकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच बाझियो मत

काठमाडौं : सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई लिएर संसदीय समितिमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच मत बाझिएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिमा भइरहेको छलफलका क्रममा सत्तापक्षका सांसद र प्रतिपक्षका सांसदबीच जुहारी चलेको हो । विधेयकमा सहमति जुटाउन बनेको उपसमितिमा लामो छलफल पछि प्रतिवेदनसहित पूर्ण समितिमा आएको विधेयकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले आपत्ति जनाए । उपसमितिको प्रतिवेदनमा पनि ४ बुँदे असहमतिपत्र लेखेका कांग्रेस सांसदले पूर्ण समितिको बैठकमा विधेयकले मौलिक हक हनन् गर्ने भन्दै आपत्ति जनाए ।

सत्तापक्षका सांसदले समितिले बुधबारको बैठकबाटै उक्त विधेयक पारित गर्ने तयारी गरेका थिए । तर कांग्रेस सांसदहरूले आपत्ति जनाएपछि थप छलफल गर्ने भन्दै बैठक स्थगित भयो । ‘सांसद नै विभाजित भएर यसलाई पारित गर्न हुँदैन’, कांग्रेस सांसद रामबहादुर विष्टले भने, ‘यसलाई आफ्ना पार्टीका शीर्ष नेतासँग पनि छलफल गर्नुपर्छ र विज्ञसँग मसिनो गरी छलफल गर्नुपर्छ ।’

उपसमिति बैठकमा फरक मत राखेका कांग्रेस सांसद बहादुरसिंह लामाले विधेयकको दफा ९१ देखि ९४ सम्म खारेज गर्नुपर्ने धारणा राखे । ‘यो विधेयकले मैलिक हक हनन् गर्छ । प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्छ’, उनले भने, ‘सामाजिक सञ्जालमा आलोचना हुन्छ भनेर यसलाई नै बन्द गर्न खोजियो । संविधान प्रतिकूल हुने सबै प्रावधान खारेज गर्नुपर्छ ।’

तर समिति सभापति कल्याणीकुमारी खड्काले विधेयकमा भएका धारा खारेज गर्न नहुने बताइन् । ‘यो विधेयकको एकअर्कामा अन्तरसम्बन्धित भएर आएको छ । यसलाई परिमार्जन गरेर जान सकिन्छ तर  खारेजचाहिँ गर्न सकिँदैन’, उनले भनिन् ।

सत्तारुढ दल नेकपा सांसद तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने सामाजिक सञ्जाल र मिडियालाई नियन्त्रण गर्न विधेयक आवश्यक रहेको बताए । ‘पत्रकारले पनि अभिव्यक्ति स्वतन्त्रतालाई कसरी व्याख्या गर्ने’, उनले भने, ‘जे मन लाग्छ त्यही लेख्ने ? सामाजिक सञ्जाल र प्रेसलाई पनि मर्यादित बनाउन आवश्यक छ ।’ उनले यो विधेयका दलगत आग्रह र पूर्वाग्रह त्याग्नुपर्ने खनालको धारणा थियो ।

नेकपा सांसद लीलानाथ श्रेष्ठ, गणेश पहाडीलगायतले यो विधेयक पारित गरेर जानुपर्ने बताएका थिए । तर कांग्रेस सांसद रंगमती शाहीले गोपनीयताको हकलाई विधेयकले ‘धुजाधुजा’ पार्ने भन्दै विधेयकप्रति असहमति जनाइन् । ‘यो विधेयक निकै खतरनाक छ । यो विधेयकमा जसलाई जहाँ पनि खतरा देखिन्छ ’, उनले भनिन्, ‘यो विधेयक यतिकै पारित हुने भए मेरो गम्भीर असहमति छ ।’

प्रतिपक्षी दलका सांसदहरूले सामाजिक सञ्जालको कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयको प्रस्तावित प्रवधानप्रति पनि आपत्ति जनाए । ‘सामाजिक सञ्जालको कार्यालय दर्ता भएन भने के हुन्छ ?’, कांग्रेस सांसद जीपछिरिङ लामाले भने, ‘नेपालको कर्मचारी समयन्त्र यति झन्झटिलो छ कि उनीहरूले दर्ता नै गर्न सक्दैनन् ।’ तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले प्रेसलाई नियन्त्रित गर्न यो विधेयक नल्याएको दाबी गरे । ‘प्रेसलाई नियन्त्रित गर्ने हुनै सक्दैन । तर गलत क्रियापकलापलाई रोक्न यो विधेयक ल्याइएको हो’, उनले भने, ‘ सामाजिक सञ्जालबाट धेरै अपराध भइरहेको छ यसलाई नियन्त्रित गर्ने विधेयकको उद्देश्य हो ।’ सामाजिक सञ्जाल दर्ता नहुँदा यसबाट हुने आम्दानी नेपालम नआएकाले दर्ता गर्नुपरेको गुरुङले स्पष्ट पारे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.