संस्कारी शिक्षा

संस्कारी शिक्षा

काठमाडौं : हरेक अभिभावकको चाहना हुन्छ, ‘नानीबाबु पढाइसँगै चरित्रवान् पनि होऊन्।’ शिक्षालयबाट दिइने शिक्षा सैद्धान्तिक र व्यावहारिक होस्, विद्यार्थीले कितावी ज्ञानसँगै संस्कार पनि सिकून् र सामाजिक तथा सांस्कृतिक ज्ञान पनि विद्यालयबाटै पाऊन् भन्ने चाहना अभिभावकको हुन्छ।

नानीबाबुले सिक्ने शिक्षा कस्तो हुनुपर्ला भन्ने विषयमा केही समयअघि केही स्कुलका प्राचार्य र अभिभावकसँग छलफल गर्ने मौका मिलेको थियो। छलफल छोराछोरीले धेरै पढे पनि संस्कार नजानेको विषयमै केन्द्रित रह्यो। अभिभावकको चिन्ता थियो, ‘छोराछोरीले परीक्षामा ल्याएको नतिजामा चित्त दुखाउने ठाउँ छैन। तर संस्कार पटक्कै जानेनन्। घरमा कोही पाहुना आउनुभयो भने छोराछोरीलाई नसिकाइ नमस्कार गर्न जान्दैनन्। बल्लतल्ल एक पटक सिकाएर नमस्कार गर्न लगायो, त्यसपछि फेरि घोसेमुन्टो लगाएर मोबाइलमै झुन्डिन्छन्। मोबाइल नभए टेलिभिजनमै टाँस्सिन खोज्छन्।’

अभिभावकको चिन्ता अर्कोतर्फ पनि थियो, ‘खाना खाएपछि जुठोभाँडो आफैं माझ्नुपर्छ भन्ने शिक्षा विद्यार्थीलाई विद्यालयमै दिनुपर्‍यो। स्कुलबाट दगुर्दै घर गएपछि कपडा, जुत्ता र झोला एकापट्टि फालेर अरू नै काममा झुत्तिने प्रवृत्ति हटाउने शिक्षा विद्यार्थीलाई चाहियो। सानालाई माया गर्ने र ठूलालाई सत्कार गर्ने हाम्रो परम्परा उनीहरूले विद्यालयबाटै सिक्नुपर्‍यो। यस्ता विषयमा चासो दिने कसले ?       ’

ती अभिभावकको गुनासो विद्यालय सञ्चालकप्रति पनि थियो। ‘विद्यालयले जसरी पनि नतिजा मात्र राम्रो ल्याउने बहानामा घोक्न सिकाउँछ। चरित्र निर्माण र संस्कार सिकाउने विषय विद्यालयको प्राथमिकतामा परेन।’ आम अभिभावकले भनेजस्तै अहिलेको शिक्षा चरित्रमुखी भएन भनेर आवाज उठेको लामो समय बितिसकेको छ।

धेरैले अनुभव गरेको विषय पनि यही हो कि, ‘शिक्षा (विद्यालयको होस् कि क्याम्पसको) आदर्श, संस्कार, मानवीय मूल्य र मान्यताबाट टाढिरहेको छ।’ कतिसम्म भने सडकमा सँगै हिँडिरहेको कुनै अपरिचित मानिस लड्यो भने उठाउनुको सट्टा गलल्ल हाँस्दे अघि बढ्ने प्रवृत्ति विद्यार्थीमा झाँगिरहेको छ।

शिक्षालयमा विद्यार्थीलाई व्यावहारिकभन्दा सैद्धान्तिक ज्ञान थोपरिएको हुन्छ। एक आपसमा प्रतिस्पर्धा गरेर अब्बल हुन मात्र सिकाइएको हुन्छ। उनीहरूलाई जसरी हुन्छ सफल मान्छे बन्न प्रेरित गरिन्छ। जहाँ व्यक्तिको सफलतालाई भौतिक पक्ष र आर्थिक सम्पन्नतासँग दाँजेर परिभाषित गरिन्छ। अहिलेको सामाजिक मान्यता पनि सबैभन्दा धेरै पढेको, राम्रो अंक ल्याएको र प्रख्यात व्यक्ति बनाउनेमै अडेको छ। हरेक व्यक्तिलाई सच्चा नागरिक बनाउन चाहिने असल र इमानदार कसरी बन्ने भन्नेमा कमैले चासो दिएको पाइन्छ।

ललितपुरस्थित लिटिल एन्जल्स स्कुलका प्राचार्य मुकुन्द शर्मा भने पछिल्लो समय धेरै विद्यार्थीलाई ज्ञान र संस्कारको विकास गर्नेतर्फ पनि केन्द्रित गराएको दाबी गर्छन्। तर विद्यार्थीमा साँच्चै संस्कारको विकास गराउने हो भने विद्यालयदेखि उच्च तहसम्मको शिक्षामा अहिले भएको पाठ्यक्रममा थुपै्र परिमार्जन गर्नुपर्ने शर्माको सुझाव छ।

‘विद्यालयको काम राज्यले बनाएको पाठ्यक्रम फलो गर्ने हो। तर त्यो पाठ्यक्रम फलो गर्ने हो भने संस्कारको कुरा फिटिक्कै पर्दैन’ शर्मा भन्छन्, ‘पछिल्लो समय यस्ता पक्षमा विस्तारै आवाज उठ्न थालेको छ। केही समयपछि सबैको होस खुल्नेछ।’

पछिल्लो समय अधिकांश विद्यालयलाई विद्यार्थीलाई अतिरिक्त ज्ञान दिने नाममा पाठ्यक्रमभन्दा बाहिरका थुपै्र पुस्तक पढाउने गरेका छन्। तर दैनिक जीवनसँग सम्बन्धित विषय उनीहरूको प्राथमिकतामा पर्दैन। विद्यार्थीलाई अब्बल बनाउने र धेरै ज्ञान दिने नाममा फ्रेन्च, चाइनिज, जर्मनलगायतका भाषा पढाउन उनीहरू तयार हुन्छन्, तर एउटा असल नागरिकमा हुनुपर्ने गुणहरू के के हुन् ?        समाजमा हरेक नागरिकको दायित्व कस्तो हुन्छ भन्ने विषयमा थप ज्ञान दिनुपर्छ भन्ने विषय उनीहरूको प्राथमिकतामा पर्दैन। शिक्षा मन्त्रालयले तयार पारेको पाठ्यक्रमले पनि विद्यार्थीलाई आवश्यक पर्ने यस्तो विषय समेट्न सकेको छैन। पाठ्यक्रम विकास केन्द्र यिनै विषय सम्बोधन गर्ने गरी नयाँ पाठ्यक्रम निर्माणमा जुटे पनि कार्यान्वयनमा सकेको छैन।

संस्कार कि सीप ?

एसईई परीक्षाको नतिजा सार्वजनिक भएसँगै थप अध्ययनका लागि विद्यार्थी तथा अभिभावकहरू परामर्शमा जुटिसकेका छन्। तर कुन विषय पढ्ने ? कस्ता विद्यालय छान्ने भन्नेमा भने उनीहरू अझै पनि अलमलमै छन्। साथै, संस्कार कि सीप पहिला भन्ने विषयले पनि उनीहरूलाई थप समस्यामा पारेको छ।

राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकअनुसार एसईई परीक्षा पछि कक्षा ११ मा भर्ना भएकामध्ये सबैभन्दा धेरैले शिक्षा विषय रोज्छन्। तर यो प्रदेशअनुसार फरकफरक छ। कुनै प्रदेशमा शिक्षा विषय पढ्ने धेरै छन् भने कुनैमा व्यवस्थापन। समग्रमा दोस्रो रोजाइमा व्यवस्थापन विषय समूह पर्ने गरेको छ। तेस्रोमा विज्ञान समूह तथा चौथोमा मानविकी समूह विद्यार्थी रोजाइमा पर्ने गरेको छ। प्राविधिक शिक्षाप्रति भने नगण्य मात्रामा मात्र विद्यार्थी भर्ना हुने गरेका छन्।

बाँकी विद्यार्थी ए लेभल, भारतीय बोर्डको सीबीएसई तथा प्राविधिक शिक्षा तथा व्यावासयिक तालिम परिषदन्तर्गत रहेका प्राविधिक शिक्षालयतर्फ जाने गरेका छन्। राष्ट्रिय परीक्षा बोर्ड ३ नम्बर प्रदेशकी प्रमुख जयन्ती सत्यालका अनुसार ३ नम्बर प्रदेशमा भने सबैभन्दा बढी विद्यार्थी आकर्षण व्यवस्थापनमा रहने गरेको छ। बोर्डको २०७४ सालको तथ्यांकअनुसार व्यवस्थापनमा ५० हजार २७ जना विद्यार्थी कक्षा ११ मा भर्ना भएका थिए। विज्ञानमा २६ हजार तीन सय ३५ तथा शिक्षामा २३ हजार तीन सय ८४ जना विद्यार्थी भर्ना भएका थिए। मानविकीमा ११ हजार दुई सय ४५ जना यो प्रदेशमा भर्ना भएका थिए।

कुन विषय किन ? 

विद्यार्थीको पहिलो रोजाइ राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत रहेको सामान्य धारका कक्षा ११ रहेको छ भने दोस्रो रोजाइ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गतका प्राविधिक शिक्षालयतर्फ रहेको छ। एसईई उत्तीर्ण विद्यार्थीलाई लक्षित गरेर सीटीईभीटीले स्वास्थ्य तथा इन्जिनियरिङमा तीनवर्षे डिप्लोमा सहित १८ महिने टीएसएलसीको पनि व्यवस्था गरेको छ।

यस्ता कोर्सले विद्यार्थीलाई पढाइको साथै सीपमूलक ज्ञान पनि प्रदान गर्ने परिषद्को निर्देशक रमेश बखतीको भनाइ छ। सीटीईभीटीका अनुसार यस्ता शिक्षालयमा विद्यार्थी भर्ना क्षमता २५ हजारको हाराहारीमा छ।

विदेशी डिग्री लिनेलाई ए लेभल

बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँगको सम्बन्धनमा सञ्चालित ए लेभल नेपालमै बसेर विदेशी पाठ्यक्रमअनुसार पढ्छु भन्ने विद्यार्थीका लागि उपयुक्त विकल्प बनेको छ। नेपालमा यस विषयको पढाइ बूढानीलकण्ठ स्कुलले सन् १९८६ बाट सुरु गरेको थियो। दस जोड दुई सरहको यो तहको पढाइलाई विश्वका एक सय ७० मुलुकमा मान्यता दिइन्छ।

विश्वव्यापी मान्यता प्राप्त शिक्षा भएकाले वर्षैपिच्छे यसको लोकप्रियता बढिरहेको कलेज सञ्चालक बताउँछन्। ए लेभलको पढाइ सञ्चालन गरिरहेको शैक्षिक संस्थाहरूका अनुसार नेपालमा अहिले नेपालका दर्जनभन्दा बढी शैक्षिक संस्थाले सञ्चालन गरिरहेका छन्। वार्षिक एक हजार पाँच सय हाराहारीमा विद्यार्थी ए लेभलमा भर्ना हुन्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.