मानविकीको महासागर

मानविकीको महासागर

काठमाडौं : एसईई उत्तीर्ण करिअरका हिसाबले महत्वपूर्ण खुड्किलो हो। भविष्यमा के बन्ने ? भन्ने प्रारम्भ एसईईपछिको अध्ययनले निक्र्योल गर्छ। एकसे एक शिक्षालयले एसईई उत्तीर्ण विद्यार्थीलाई लक्षित गरी सञ्चारमाध्यमबाट आकर्षक सूचना र विज्ञापन गरिरहेका छन्।

करिअरको सुरुआत आफूमा निहित प्रतिभाअनुसार गर्नु लाभदायी हुन्छ। आफूमा भएको प्रतिभासँगै समयानुकूल शिक्षा र अवसरसँग पनि जोडिन सके अझ प्रभावकारी हुन्छ। विद्यार्थी मात्रै होइन अभिभावकको पनि चिन्ता सुरुदेखि नै देखिन्छ कि, कुन विषय अध्ययन गराउँदा वा कस्तो कलेज पढाउँदा आफ्नो सन्ततिले भविश्यमा प्रगति गर्लान् ?      

केही विद्यार्थीले भने भविष्यमा कुन विषय पढ्ने भन्ने सामान्य योजना एसईई दिनबेलादेखि नै बनाइसकेका हुन्छन्। उनीहरूका लागि विषय छनोट खासै समस्याको विषय बन्दैन। तर, केही विद्यार्थी अलमलमा हुन्छन्। उनीहरूका लागि उचित काउन्सिलिङ वा परामर्श जरुरी छ।

मानविकी (कला विज्ञान) समाजको प्रतिष्ठासँग जोडिएको विषय भनेर चिनिन्छ। विद्यार्थीको लागि पछिल्लो समय यो पनि रुचिकर विषय समूहको रूपमा स्थापित भएको छ। यो समूहभित्र विभिन्न विधा छन्। जहाँ विद्यार्थीलाई धेरै विषय रोज्ने सुविधा हुन्छ। पत्रकारिता, समाजशास्त्र, मानवशास्त्र, राजनीतिशास्त्र, साहित्यलगायतका विषय मानविकी समूहअन्तर्गत पर्छन्। यो संकायमा अध्ययन गरेका विद्यार्थी समाजसँग बढी नजिक हुन्छन्। जुनसुकै विषय अध्ययन गरे पनि समाजसँग प्रत्यक्ष सरोकार रहन्छ। भर्खरै एसईई उत्तीर्ण गरेर करिअर छनोटको चरणमा रहेका विद्यार्थीका लागि मानविकी उपयुक्त विषय बन्न सक्छ।

हुन त राम्रो गर्ने हो भने हरेक विषयमा अवसर छन्। हरेक विषयको महत्त्व र अवसर फरकफरक हुन्छन्। हरेक व्यक्तिको सोच र चाहना पनि फरक हुन सक्छ। कसैले मानविकीमा अवसर देख्ला, कसैले नदेख्ला। व्यवस्थापनमा पनि अवसर नै छैन भन्नेहरू पनि भेटिएलान्। कलंकीस्थित सिद्धार्थ मल्टिपल कलेजका प्राचार्य मोहनकुमार केसी विद्यार्थीका लागि मानविकी वास्तवमै ठूलो महासागरजस्तै रहेको बताउँछन्। यो विषय समूहमा भर्ना हुन चाहने विद्यार्थीका लागि थुपै्र अवसरहरू रहेको केसीको भनाइ छ।

दुई दशकदेखि ११ र १२ को पढाइ सञ्चालन गरिरहेको यो कलेज कलंकी तथा वरपरका क्षेत्रका विद्यार्थीका लागि निकै लोकप्रिय छ। प्रशासनदेखि अन्य क्षेत्रमा मानविकी विषय पढेका विद्यार्थीको भविष्य सुनिश्चित रहने केसीको भनाइ छ। समाजको परिकल्पनादेखि समाज विकाससम्मको हरेक पक्षमा मानविकीको संलग्न छ। ‘मानविकीबाटै सरकारी निकायमा प्रवेशलगायत अन्य क्षेत्रमा प्रवेश गर्ने चौतर्फी बाटो खुला हुन्छ’, कलंकीकै एडमार्क एकेडेमीका प्राचार्य शिव अधिकारी भन्छन्, ‘मुलुक हाँक्ने भनेकै मानविकी विषय समूहबाट पढेका विद्यार्थीले हो।’ ठूलो सोच राख्ने र गर्न सक्छु भन्ने भावनाको विकास गर्ने हो भने मानविकी अवसरको खानी हो, उनी भन्छन्।

मानविकीभित्र स्नातक तहमा अध्ययन गरिने विषयले समग्र मानव जातिको विकासदेखि समाजका विविध आयाम हुँदै राष्ट्रका महत्वपूर्ण एजेन्डा समेतमा विद्यार्थीले आफूलाई घुलमिल गराउन सक्छन्। यी विषयमा पकड जमाउने विद्यार्थीले भोलिका दिनमा सरकारी वा गैरसरकारी क्षेत्रमा रहेर योजना बनाउने, कार्यान्वयन गराउने र सामाजिक काममा नेतृत्व गर्नेसम्मको हैसियत राख्ने भएकाले यसको क्षेत्र फराकिलो देखिन्छ र प्रतिष्ठित पनि। मानव समाज अनि त्यही समाजको सामाजिक जीवनयापनलाई सम्बोधन गर्ने विषय भए पनि समाजबाटै बहिष्कृत हुँदै गएको छ।

यस विषयमा विद्यार्थीको आकर्षण कम हुँदै गएको हो कि भन्ने भान हुन्छ। यो संकायमा अध्ययन गरेका विद्यार्थी समाजसँग बढी नजिक हुन्छन्। जुनसुकै विषय अध्ययन गरे पनि समाजसँग प्रत्यक्ष सरोकार रहन्छ।

तर बृहत् कार्यक्षेत्र समेटिएको मानविकी संकायमा अवसरको खाँचो नभएको नेपालय कलेजका प्राचार्य मनोज थापामगर बताउँछन्। मानविकीमा व्यवस्थापन, शिक्षा, विज्ञान, कानुनको भन्दा धेरै अवसर रहेको थापाको भनाइ छ। ‘पछिल्लो समय विद्यार्थीको रोजाइमा यो विषय पर्ने गरेको छ’, थापा भन्छन्, ‘तर मानविकीको आवश्यकता र महत्व फरक छ।’ ग्ल्यामर विषयको प्रवेशसँग यस विषयमा अध्ययन गर्नेको कमी भएको थापाको भनाइ छ।

पत्रकारिता, राजनीति, भाषाशास्त्र, समाजशास्त्र, वातावरण, अर्थशास्त्र, संगीत, मनोविज्ञान, नीतिशास्त्र साहित्यलगायतका क्षेत्रमा लाग्न चाहनेका लागि यो संकाय अध्ययन अनिवार्य जस्तै छ। राजनीति विज्ञान, गृहविज्ञान, अर्थशास्त्र, सामाजिक शास्त्र, जनसंख्या, पत्रकारिता, फिलोसोफी, इतिहास, संस्कृति, म्युजिक, नृत्य, मनोविज्ञान, ग्रामीण विकास, इन्भारोमेन्ट एजुकेसन, ज्योतिष, साहित्य, नीतिशास्त्रलगायतका विषय मानविकी संकाय भित्र पर्दछ। यसैले यो संकायमा अवसर र दायरा फराकिलो छ। मानविकीको महत्व र आवश्यकतालाई विद्यार्थीलाई बुझाउन नसक्नुले पनि विद्यार्थीको आर्कषक कम हुँदै गएको सिद्धार्थका प्राचार्य केसी बताउँछन्। संगीत, कलाकारिता, फेसनलगायतका विषय पनि मानविकी भित्रनै पर्ने उनको भनाइ छ।

मानविकी संकाय दर्शन, भाषा अनि पृथक् ज्ञानको भण्डार हो। देश हाँक्ने नेता, प्रशासन क्षेत्र, सुरक्षा क्षेत्र, सानादेखि ठूल्ठूला प्रोजेक्ट नेतृत्व गर्न सक्ने व्यक्तित्व मानविकीले उत्पादन गरेको छ। मुलुकको बृहत् क्षेत्रमा मानविकी संकाय अध्ययन गर्नेको प्रडक्ट छन्। मानविकी संकायमा सैद्धान्तिक रूपमा मात्र विद्यार्थीलाई अध्यापन नगरी प्रयोगात्मक शिक्षामा पनि बढी जोड दिन्छ। प्लस टु तहमा सिकेको जानकारीलाई विश्वविद्यालयमा गएर अझ विस्तृत रूपमा अध्ययन गर्नुपर्ने हुन्छ। यस अर्थमा पनि प्लस टुमा अध्ययन गरिने विषय भविष्यको जग हो।

मानविकी समूहका आकर्षक विषयहरू

पत्रकारिता | समाजशास्त्र | राजनीतिशास्त्र | ग्रामीण विकास | गणित | अंग्रेजी | मनोविज्ञान | नेपाली | जनसंख्या | संस्कृति


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.