‘बोर्ड फस्ट भएको थाहा पाएपछि झल्यास्स भएँ’
डा. विश्वबन्धु बगाले
२०५३ सालका एसएलसी बोर्ड प्रथम
अहिलेको सेकेन्डरी एजुकेसन एक्जामिनेसन (एसईई) लाई मेरो पालामा स्कुल लिभिङ सर्टिफिकेट (एसएलसी) भनिन्थ्यो। मुलुकको शैक्षिक जगत्मा एसएलसी एउटा ब्रान्ड थियो। कतिपयले फलामे ढोकाको रूपमा चित्रण गर्थे। एसएलसीको परीक्षा बोर्डमा टप टेनभित्र पर्नेको छुट्टै इज्जत हुन्थ्यो।
मैले काठमाडौंको सिद्धार्थ वनस्थलीबाट एसएलसी परीक्षा दिएँ। २०५३ सालमा म पनि बोर्ड टप भएँ। अहिले जस्तो पत्रपत्रिका, टेलिभिजन, रेडियोको त्यति व्यापकता थिएन। गोरखापत्र पढ्ने र रेडियो नेपाल सुनेर एसएलसीको नतिजा थाहा पाइन्थ्यो। एसएलसीपछि बिहान मस्तसँग सुत्ने बानी परेको थियो। भोलि रिजल्ट आउँदै छ रे भन्ने हल्ला अघिल्लो दिन नै सुनेको थिएँ। जहाँ म डेरा लिएको थिएँ। त्यहाँ नजिकै घरमा एक जना दाइ बस्नुहुन्थ्यो। रिजल्ट आएको दिन दाइ पत्रिका लिएर डेरामा आउनु भयो। म सुतिरहेको थिएँ। झटपट आँखा मिच्दै उठेँ। अघिल्लो पेजमा समाचार रहेछ। सबै मिलेर मेरो परीक्षाको सिम्बोल नम्बर हेरियो। मैले गोरखापत्रबाट नै नतिजा थाहा पाएँ। ल बधाई छ भनेर सबैले स्याबासी दिँदा खुशी भइयो।
मलाई स्कुलमा पनि धेरैले चिन्नु हुन्थेन। स्कुलका शिक्षकले मात्र चिन्नु हुन्थ्यो। एक्सपोज हुने बानी थिए। साथीभाइ पनि सीमित थिए। धेरैसँग बोल्ने, गफ गर्न असहज लाग्थ्यो। अन्य व्यक्तिसँग झवाट्ट घुलमिल हुने बानी थिएन। अहिलेजस्तो धेरै मिडिया थिएनने। धेरै ठाउँ अन्तवार्ता दिन परेन। युवामञ्चमा मेरो तस्बिरसहित छापियो।
मेरो पढ्ने बानी अचम्मको छ। दबाब रहेर पढने बानी त्यतिबेला पनि थिएन। अहिले पनि छैन। जुन कक्षामा पनि पढ्ने तरिका उस्तैउस्तै थियो। पाँच कक्षादेखि सिद्धार्थ वनस्थलीमा पढ्न थालेको हुँ। क्षेत्रपाटीमा रहेको डेराबाट स्कुल जान २० मिनेट जति लाग्थ्यो। वर्षायामको बेला हिलोमा लड्दै पड्दै गइन्थ्यो। हिँडेर स्कुल जाने हाम्रो ग्याङ थियो। सामान्यतया हरेक कक्षामा मेरो नतिजा उस्तैउस्तै खालको हुन्थ्यो। नम्बरमा घटबढ भइरहन्थ्यो। कक्षामा सधैं प्रथम भइरहने खालको विद्यार्थी होइन। कमजोर पनि थिइनँ। पर्फरमेन्स कन्सटेन्ट खालको थियो।
एलएलसीको परीक्षा नजिकिए पनि पढाइमा घोटिने बानी थिएन। पढेको पढ्यै गर्ने किताबी किरो (बुक वर्म) थिइनँ। विषयवस्तुअनुसार यति भए पुग्छ भन्ने महसुस भएपछि पुग्थ्यो। धेरै पढिराख्न पहिले पनि सक्दिनथेँ। अहिले पनि त्यस्तै हो। एउटा उद्देश्य बनाएर सोही अनुरूप पढ्थेँ। जसरी भए पनि टप गर्नुपर्छ। माथि पुग्नै पर्छ भन्ने महसुस भएन। राम्रो नतिजा ल्याउने भन्ने महसुस गरे पनि सबैलाई जित्नै पर्छ, पछार्नै पर्छ भन्ने सोच थिएन। यस्तो सोच पहिला पनि आएन। अहिलेसम्म पनि छैन। औसतभन्दा माथि हुनुपर्छ। शैक्षिकरूपमा पनि बलियो हुनुपर्छ भन्ने लाग्थ्यो। विषयवस्तु थाहा हुनुपर्छ। ज्ञानमा निपुण हुनुपर्छ भन्ने भावना आउँथ्यो। वास्तवमा एकेडेमेकल्ली स्ट्रङ भए पुग्छ। त्यो भएपछि आफूलाई सजिलो पनि हुन्छ।
मध्यमवर्गीय परिवारको व्यक्ति हुँ। त्यतिबेला पनि घरपरिवार एवं समाजमा पनि एक खालको दबाब थियो। पढ्नै पर्छ भन्ने खालको दबाब हुनु त स्वाभाविक नै थियो। उच्च शिक्षा पढ्नका लागि अहिले जस्तो धेरै विकल्प पनि थिएन। अहिले पढ्नका लागि धेरै विकल्पहरू छन्।
अहिले पारिवारिक एवं सामाजिक दबाब धेरै हुने गरेको छ। सबैलाई उछिनेर प्रथम हुनै पर्छ भन्ने खालको दबाब दिँदा त्यसले उल्टो असर पार्न सक्छ। प्रथम हुन नसक्दा तनाव हुन्छ। अभिभावक एवं शिक्षकले सहजीकरण गरिदिने हो। दबाब दिने होइन। अहिले पनि हामीले श्रेणी वा जीपीएलाई महत्व दिने गर्छौं। तर, व्यक्तित्व विकासमा जीपीए नै सबथोक होइन।
जुन व्यक्तिलाई जे विषयमा रुचि र क्षमता छ त्यहीँ गर्दा नतिजा पनि राम्रो हुन्छ। यो विषय पढ्नुपर्छ भनेर अभिभावकले दबाब दिनु उचित होइन। सन्तानले आत्महत्या गर्ने वा घरै छोडेर हिँड्ने खालका समस्याहरू आउन सक्छ। पारिवारिक दबाब वा अरूका छोराछोरीले यो पढिरहेको छ भन्ने खालको देखासिकी गर्नु हुँदैन। अभिभावकले चाहना राख्नु एउटा पक्ष हो। अभिभावकले सन्तानको चाहना पनि बुझनु पर्छ। आफ्नो चाहना एकातिर हुन्छ। तर अभिभावकको दबाबमा अर्को विषय पढ्दा मनोबल घट्न सक्छ। अभिभावकमा पनि अनावश्यक तनाव सिर्जना हुन्छ। विगतमा डाक्टरको संख्या थोरै थियो। सामाजिक प्रतिष्ठा इज्जत हुन्थ्यो। तर, अब सबै पेसा समान जस्तो भयो। कुन क्षेत्रमा जाने हो विद्यार्थी स्वयम्लाई छनोट गर्न दिनुपर्छ। अभिभावकहरूलाई अनुरोध छ भने सन्तानले जेमा रुचि राखेका छन् त्यसमा सहजीकरण गरिदिऊँ। तिमी यस्तो बन्नुपर्छ भनेर सन्तानलाई दबाब नदिऊँ।
(२०५३ सालका एसएलसी बोर्ड प्रथम बगालेसँग अन्नपूर्णकर्मी दिनेश गौतमले गरेको कुराकानी)