पूर्वआईजीपी रमेश चन्द ठकुरीले गरे सर्वोच्चमा आत्मसमर्पण
काठमाडौं : सुडानको डार्फर मिसनमा भ्रष्टाचार भएको प्रकरणमा जेल सजाय सुनाइएका पूर्वआईजीपी रमेश चन्द ठकुरीले सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन्। सर्वोच्च अदालत सम्बद्ध ट्रेड युनियनका सचिव हरि भट्टराईका अनुसार चन्दले बिहीबार दिउँसो सर्वोच्चमा पुगेर आत्मसमर्पण गरेका हुन्। भट्टराईका अनुसार अहिले उनलाई जेल पठाउने तयारी भइरहेको छ।
२०७४ वैशाख १६ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको इजलासले सुडानको डार्फर मिसनमा भएको भ्रष्टाचार प्रकरणमा तीन पूर्वआईजीपीसहित नौजनालाई जेल सजायको फैसला सुनाएको थियो। फैसलाले सुडानको डार्फरमा सुरक्षाकर्मीका लागि आम्र्ड पर्सनल केरियर (एपीसी) लगायत बन्दोबस्तीका सामग्रीमा घोटाला भएको ठहर गरेको थियो। फैसलामा ठकुरीसहित पूर्वआईजीपी हेमबहादुर गुरुङ र ओमविक्रम राणालगायतलाई जेल सजाय सुनाएको थियो।
ठकुरीबाहेकका राणा, गुरुङ र तत्कालीन एआईजी दीपकसिंह थाङदेन, डीआईजी दीपक श्रेष्ठहाल डिल्लीबजार सदरखोर थुनामा छन् । ठकुरीलाई सर्वोच्चले एक वर्ष कैद र ४० हजार जरिवाना गरेको थियो ।
सुरक्षाकर्मीका लागि गुणस्तरहीन सामग्री खरिद गर्न २८ करोड ८१ लाख ६१ हजार ६ सय २९ रुपैयाँ ३० पैसा भुक्तानी दिलाएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन पूर्वआईजीपी र ठेकेदारसहित ३६ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विशेषले भ्रष्टाचार प्रकरणमा गरेको फैसला चित्त नबुझेपछि अख्तियारले सर्वोच्चमा पुनरावेदन गरेको थियो।