१६ महिनापछि बस्यो ठूलीभेरी नगरकार्यपालिकाको बैठक
डोल्पा : दुई वर्षदेखि केन्द्र विवादमा रहेको डोल्पाको ठूलीभेरी नगरपालिकाको कार्यपालिकाको बैठक बसेको छ। नगरप्रमुख गणेशबहादुर शाही र उपप्रमुख योगेन्द्रबहादुर शाहीबीच भद्र सहमति भएपछि १६ महिनादेखि अवरुद्ध नगर कार्यपालिकाको बैठक बिहीबार सुलिगार्डमा बसेको हो।
दुनै केन्द्र र जुफाल केन्द्रको बीचमा रहेको वडा नम्बर १० सुलिगार्ड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको सभाहलमा बैठक बसेको नगरप्रमुख गणेशबहादुर शाहीले जानकारी दिए। केन्द्र विवाद हुनुभन्दा अगाडि बसेको कार्यपालिकाको बैठक २०७४ साल माघ २८ गते बसेको थियो। कार्यपालिकाको बैठकले बजेट तयारी गर्ने र तेस्रो नगरसभाको मितिसमेत तय गर्ने उपप्रमुख योगेन्द्रबहादुर शाहीले जानकारी दिए। उनले भने 'भद्र सहमति केन्द्रका बारेमा भएको होइन, जनताको हित, गाउँको विकास र बजेट कार्यान्वयनका लागि मात्रै हो।'
केन्द्र विवादको मुद्दामा पानी बाराबारको अवस्थामा पुगेका प्रमुख र उपप्रमुखबीच सहमति भएपछि नगरसभा सहमतिमै हुने भएको छ। नगरसभाको उद्धघाटन जुफाल केन्द्रमा र समापन दुनै केन्द्रमा गर्ने सहमति गरिएको छ।
'नगरसभा विवादित रुपमा नभएर आन्तरिक सहमतिमै गर्ने निर्णय भएको छ।' नगर प्रमुख शाहीले भने 'सुलिगार्डमा ठूलीभेरी नगरपालिकाको कार्यपालिकाको बैठकले नीति तथा कार्यक्रम तथा बजेटका काम सहमतिमै अगाडि बढ्छ।'
नगर प्रमुख शाहीले केन्द्र विवादले विकास निर्माणमा निकै ठुलो बाधा पुगेको महसुस भएको बताउँदै तेस्रो नगरसभा शान्ति, विकास र समृद्धिको आधारको रुपमा सफल पार्न सबै लागेको दावी गरे। आर्थिक वर्ष ०७४/०७५ पछि गणपूरक नगर कार्यपालिकाको उपस्थितिमा बैठक बस्न नसक्दा बजेटसमेत कार्यान्वयनमा आएको थिएन।