लिवियामा मारिएका सन्तोषको परिवार अन्योलमै : थाहा छैन, कसरी ल्याउने शव ?
बेसीसहर : लिवियामा विद्रोही समूह द लिबियन नेशनल आर्मी (एलएनए)ले त्रिपोली नजिकैको ताजोउरा शरणार्थी तथा आप्रवासी हिरासत केन्द्रमा बुधबार हवाइ आक्रमण गर्दा ४४ जना मारिए भने १४३ जना घाइते भए ।
बुधबार दिउँसो लिवियामा बमवर्षा भएको समाचार सुने पनि लमजुङको बेसीसहर नगरपालिका–११ चितीका सोमप्रसाद श्रेष्ठ र सुन्तली श्रेष्ठले खासै चासो दिएनन् । छोरा सन्तोष लिवियाबाट इटाली पुगिसकेको उनीहरुलाई लागेको थियो ।
तर, उनीहरुले सोचेजस्तो भएन । साँझ समाचार सुन्नुअघि नै फोन आयो–विद्रोहीको आक्रमणमा छोराको ज्यान गयो । २७ वर्षीय सन्तोष केही महिनाअघि दलाललाई पैसा बुझाएर लिबिया गएका थिए । त्यहाँ भनेजस्तो कमाइ नभएपछि दलालमार्फत युरोप जाने तयारी गरे । एक महिनाअघि इटालीको दलाललाई दिन भनेर ६ लाख रूपैयाँ परिवारले पठाइदियो । सन्तोषले घर फोन गरेर माल्टा पुगेपछि प्रहरीले तीन महिना थुन्न सक्ने भन्दै सम्पर्क नहुने खबर छोडेका थिए ।
परिवारलाई उनी माल्टा वा इटाली पुगेको लागेको थियो । तर, सन्तोष माल्टामा होइन, लिवियामै थुनिन पुगे । युरोप छिर्न खोज्ने उनी जस्ता थुप्रैलाई लिविया प्रहरीले समातेर हिरासतमै राखेको थियो । सोही स्थानमा विद्रोहीले बमवर्षा गर्दा सन्तोषको ज्यान गएको हो ।
धन कमाउने सपना बोकेर विदेसिएका सन्तोष उतै मारिएपछि परिवार मात्रै नभएर गाउँ नै शोकमा डुबेको छ । छोरो जिउँदै आउने सपना तुहिए पनि शव कसरी ल्याउने भन्ने चिन्ता परिवारलाई छ । वैदेशिक रोजगारीको शिलशिलामा ३ वर्ष मलेसिया र १८ महिना कतार बसेका सन्तोष ४ महिनाअघि मात्र लिविया पुगेका थिए ।
सन्तोष जस्ता धेरै नेपाली अहिले पनि लिवियामा फसेका छन् । कायरो दूतावासका अनुसार गत दुई महिनामा २६ नेपालीलाई लिवियाबाट उद्दार गरेर नेपाल पठाइएको छ । तीमध्ये धेरैजसो मानव तस्करीको जालोमा परेर लिविया पुगेका थिए ।
पछिल्लो समय हिंसा भड्किन थालेपछि कायरोस्थित नेपाली राजदूतावासले लिवियामा रहेका नेपालीलाई फिर्ता पठाउन थालेको थियो । सन्तोषलाई पनि नेपाल ल्याउन दूतावासले अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)लाई ट्राभल डकुमेन्ट पठाइसकेको थियो । तर सन्तोष नेपाल फर्किन पाएनन् । हवाइ आक्रमणमा परी घाइते भएका उनको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको बताइएको छ ।