मलेसियाली विश्वविद्यालयको आधार विदेशी विद्यार्थी

मलेसियाली विश्वविद्यालयको आधार विदेशी विद्यार्थी

क्वालालम्पुर : मलेसियाका विश्वविद्यालय टिकाउने मुख्य आधार विदेशी विद्यार्थी हुने गरेका छन्। त्यहाँका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीको तथ्यांकले यस्तो देखाएको हो।

क्वालालम्पुरस्थित एसिया प्यासिफिक विश्वविद्यालय (एपीयू) मा १२ हजार विद्यार्थी अध्ययनरत छन्। यो विश्वविद्यालयमा अहिले विदेशी विद्यार्थी ६ हजार छन्। विश्वविद्यालयका अन्तर्राष्ट्रिय विकास व्यवस्थापक जहिन हमिदका अनुसार यो विश्वविद्यालयमा विश्वका एक सय २५ मुलुकका विद्यार्थी पढिरहेका छन्।

हमिदले भने, ‘विदेशी विद्यार्थीलाई लक्ष्य गरेर विश्वविद्यालयले सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रम, समय सुहाउँदो पाठ्यक्रम र पढाइ सकिनेबित्तिकै रोजगारीमा जान सकिने विषयमा यहाँ पढाइ हुने भएका कारण विदेशी विद्यार्थीको आकर्षण बढेको हो।’

१८ हजार विद्यार्थीले पढिरहेको क्वालालम्पुरकै सनवे सिटीस्थित सनवे विश्वविद्यालयमा पनि दुई हजार विदेशी विद्यार्थी छन्। हरेक वर्ष विदेशी विद्यार्थी बढिरहेको विश्वविद्यालयको भनाइ छ। एउटै विषयमा सन वेमा भर्ना भएर केही समय पढेपछि थप अध्ययनका लागि अमेरिकालगायत मुलुकमा क्रेडिट ट्रान्सफरको व्यवस्था हुनु, विद्यार्थीलाई सीपमूलक शिक्षा दिनु तथा बजारमा जनशक्ति माग भइरहेको विषयलाई केन्द्रित गरेर पाठ्यक्रम बनाउनुले विदेशी विद्यार्थी आकिर्षत गराएको विश्वविद्यालयको अनुभव छ।

सोही विश्वविद्यालयमा ब्याचलर अफ सफ्टवेयर इन्जिनियरिङ पढिरहेका धादिङका आयुस नेपालले विद्यार्थीले पुस्तकमा पढेको कुरालाई तत्काल फिल्डमा अभ्यास गरेर कार्यान्वयन गर्न सिकाउने शैली उक्त विश्वविद्यालयमा विद्यार्थी आकर्षण बढ्नुको मुख्य कारण रहेको बताए। उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थी मात्र दुई दर्जनभन्दा बढी छन्। विश्व बजारमा जनशक्तिको माग भइरहेको विषयलाई यहाँका विश्वविद्यालयले पाठ्यक्रममा समावेश गरेका छन्। युरोप, अमेरिका तथा अस्टे«लियन मुलुककै स्तरको शिक्षा सस्तो शुल्कमा पाउनुले पनि यहाँका विश्वविद्यालयमा विदेशी विद्यार्थी आकर्षण बढिरहेको मलेसियाको शिक्षा मन्त्रालयअन्तर्गत एजुकेसन मलेसिया ग्लोबल सर्भिसका प्रमुख कार्यकारी अधिकृत सहिनउद्दिन सारिफले बताए।

उनका अनुसार विदेशी विद्यार्थीको आकर्षण बढाउन छिट्टै मलेसियाका विश्वविद्यालयमा पढिरहेका विद्यार्थीलाई निश्चित समय काम गर्न पाउने व्यवस्था गर्ने तयारी भइरहेको छ। विशेष मलेसियान विश्वविद्यालयमा अहिले इन्जिनियरिङ, कुलिनरी आर्टस्, व्यवस्थापन, सूचना प्रविधि, मनोविज्ञान, तथ्यांक शास्त्रलगायत विषय अध्ययनमा विदेशी विद्यार्थीको आकर्षण बढिरहेको सेगी युनिभर्सिटी एन्ड कलेजका वरिष्ठ व्यवस्थापक सेर्यान खोरले बताइन्। मलेसियामा निजी तथा सार्वजनिकसमेत गरेर ४० भन्दा बढी विश्वविद्यालय सञ्चालित छन्। विदेशी विद्यार्थीको आकर्षण बढेकै कारण नयाँ कलेज तथा विश्वविद्यालय खुल्ने क्रम बढिरहेको छ। मलेसियाली कानुनअनुसार विश्वविद्यालय स्थापना गर्न चाहनेले सुरुमा कलेज मात्र सञ्चालन गर्न पाउँछ।

दुई हजार पाँच सय विद्यार्थी भर्ना गराएपछि उक्त कलेजलाई युनिभर्सिटी कलेजको मान्यता दिइन्छ। युनिभर्सिटी कलेजमा ५ हजार विद्यार्थी भर्ना गराएपछि विश्वविद्यालयको मान्यता दिइन्छ। डेढ दशकदेखि मलेसिया अध्ययन गर्न जाने नेपाली विद्यार्थीलाई परामर्श दिइरहेको स्टडी प्लसका प्रबन्ध निर्देशक उमेश अधिकारी बताउँछन्। उनका अनुसार सस्तो शुल्कमा स्तरीय शिक्षा पाइने हुनाले मलेसियामा विद्यार्थी संख्या बढिरहेको छ।

‘विद्यार्थीलाई जुन विषय अध्ययन गर्न गएको हो। त्यो विषयको अध्ययन गरिसकेपछि रोजगारीमा जानयोग्य बनाएर मात्र मलेसियाका विश्वविद्यालयले घर पठाउँछन्’, अधिकारीले भने। मलेसियामा विशेष गरी नेपाल, सिंगापुर, इन्डोनेसिया,श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश, भुटान, अमेरिका, चीनलगायत मुलुकका विद्यार्थी अध्ययन गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.