मालपोतको अनलाइन सेवा सुस्त
जाजरकोट : सेवाग्राहीको काम छिटोछरितो गर्न मालपोत कार्यालय जाजरकोटले अनलाइन पद्धतिबाट लालपुर्जा दिन थालेको छ। असार ३ गतेदेखि अनलाइन सिस्टमबाट लालपुर्जा दिन सुरु गरिए पनि सेवा सुस्त गतिमा सञ्चालन भएपछि सेवाग्राहीले पहिलेभन्दा झन् सास्ती भोग्नुपरेको छ।
हरेक दिन ४० भन्दा बढी हस्तलिखित लालपुर्जा बन्ने गर्थे। तर, अनलाइन पद्धतिबाट प्रतिदिन पाँच वटा मात्रै लालपुर्जा तयार हुँदा सेवा लिन सास्ती भएको नलगाड–६ थाप्लाका गणेशवहादुर रावलले बताए। ‘एउटा जग्गाको नामसारी गर्न ६ दिन लाग्यो’, उनले भने, ‘अनलाइनबाट काम छिटो हुन्छ भन्थे तर झन् ढिलो हुने रहेछ।’
बरु मालपोत कार्यालयका कर्मचारीले हातले लेखेर लालपुर्जा दिँदा छिटो हुने गरेको स्थानीय तेबहादुर खत्रीको अनुभव छ। मालपोतमा जग्गा दर्ता, नामसारी तथा कित्ताकाट गर्न ढिलाइ हुने गरेको उनले सुनाए। दुर्गम गाउँबाट आएका नागरिकको काम ढिलो हुँदा सदरमुकाममै बास बस्न बाध्य भएको खरिदार होमप्रकाश मल्लले बताए।
उनले भने, ‘पहिले हातले एकै दिनमा ४० वटा लालपुर्जा लेखिन्थ्यो, अहिले काममा ढिलाइ हुँदा सेवाग्राहीको गाली खानुपरेको छ।’ नियमित बिजुली अभाव, इन्टरनेटको समस्या र अन्य प्राविधिक कारणले मालपोत कार्यालयमा सेवाग्राहीको काम ढिलो हुने गरेको उनले बताए। काठमाडौंको सुपिस–यु नामक संस्थाले जडान गरेको इन्टरनेट निकै ढिलो चल्ने भएकाले सेवा प्रवाहमा समस्या आएको मालपोतका कर्मचारी बताउँछन्। अनलाइनबाट मालपोतको सेवा प्रदान गर्ने व्यवस्था मिलाउन कर्मचारीलाई सात दिनको तालिम दिइएको थियो। कार्यालयमा चार वटा कम्प्युटरबाट सेवा दिने व्यवस्था मिलाएको छ।
मालपोत कार्यालयका निमित्त प्रमुख अभिबहादुर गिरीले विद्युत् र इटरनेटको समस्याका कारण सेवाग्राहीले चाहेअनुसार सेवा दिन नसकेको स्विकारे। उनका अनुसार कार्यालयमा सोलार, ब्याकअपको पनि व्यवस्था छैन। अनलाइन सेवा प्रभावकारी बनाइने उनको भनाइ छ।