नगरको गाउँ नेटवर्कविहिन
जुम्रिकाँढा : प्यूठान नगरपालिका वडा–५ जुम्रिकाँढा मोबाइलको नेटवर्क विहिन छ। जुम्रिकाँढाको मुख्य बजार ढुंगेठाटीसहित वडाका धेरै गाउँमा मोबाइल नेटवर्क टिप्दैन। प्रभावकारी सञ्चार सेवा नहुँदा स्थानीयको दिनचर्या प्रभावित भएको छ। ढुंगेठाटीमा लामो समयदेखि व्यवसाय सञ्चालन गर्दै आएका रोल्पा सुलिचौरका परमेश्वर गुप्ताले घरपरिवारलाइ फोन सम्पर्क गर्न नपाएको हप्तौं भएको गुनासो गरे। फोन सम्पर्क गर्दा उनी आकाशमा मोबाइल देखाएर नेटवर्क खोजिरहन्छन्। तर, नेटवर्क टिप्दैन।
नेपाल टेलिकमको नेटवर्क नहुँदा यस क्षत्रेका हजारौं नागरिक हैरान छन्। ५ नम्बर वडा सचिव ज्ञानेन्द्र पुनको स्थायी बसोवास नौवहिनी गाउँपालिका–६ लुङ पूर्णागाउँमा छ। उनी विगत १२ वर्षदेखि जुम्रिकाँढामा कार्यरत छन्। साविक गाविस हुँदै उनी हाल वडा कार्यालयमा सचिव पदमा कार्यरत छन्। घरपरिवारलाई टेलिफोन गर्दा उनी सीडीएमए (स्काइ) नम्बर प्रयोग गर्छन्। ‘दिनहुँ घर जान सम्भव हुँदैन्’,उनी भन्छन्,‘कोठा लिएर बसेको छु। नेटवर्क नहुँदा राम्रोसँग टेलिफोन गर्नै समस्या छ।’ सुरुमा ‘हेलो’ कम्पनीले सेवा विस्तार गरे पनि सेवा नभएको उनले बताए। यस क्षेत्रका अधिकांश नागरिकले एडीएसएल नम्बर प्रयोग गर्ने गरेको छन्। त्यसले समेत राम्रोसँग काम नगर्ने स्थानीयको गुनासो छ।
जुम्रिकाँढाको ढाडछाप, ओदार्ने, ठूलोगाउँ, पूर्णागाउँ, ओवाङ, झाक्रीगाउँ, सिम, ढुंगेठाटी, माझकोटको टुनिखर्क, काफलबुटा, बासपानी, पैयापानी, आरुडाँडा, करङे, खल्लेखर्क र विजयनगरको चिसापानी क्षेत्रका स्थानीय टेलिफोन सेवाबाट बञ्चित भएका छन्। यस क्षेत्रमा ईमेल, इन्टरनेट चलाउनु धेरै ‘सपनाजस्तै’ बनेको छ। नगरपालिकाकै बासिन्दा भएर पनि दुर्गमका नागरिकको जस्तो दैनिकी बिताउनुपरेको उनीहरू गुनासो गर्छन्।
गाउँलाई समेट्ने गरी नेपाल टेलिकमको टावर सञ्चालन गर्न पटकपटक माग गरे पनि कुनै सुनुवाइ नभएको वडा अध्यक्ष लछुमन भण्डारीले गुनासो पोखे। ‘जिल्लामा धेरैपटक माग राख्यौं’,उनले भने,‘बेवास्ता भयो। अरु विकास भएपनि फोन नहुँदा सबै अधूरोजस्तै बनेको छ।’ पूर्वाधार विकासको क्षेत्रमा बजेट छुट्टयाए पनि नागरिकको दैनिक जीवनसँग जोडिएको सञ्चारसेवा सहज नहुँदा धेरै स्थानीयको जनजीवन कष्टपूर्ण बनेको उनी अनुभव सनाउँछन्। ‘कहिलेकाही आफन्तलाई खबर पुर्याउन पनि सकस पर्छ’, उनले भने, ‘जनप्रतिनिधिको हिसाबले सबैलाई पहल गरिदिन आग्रह गरेका छौं।’ सवै क्षेत्रका गरी करिब ७ हजार सर्वसाधरण नेपाल टेलिकमको सेवा पाउनबाट बञ्चित हुनुपरेको उनले जानकारी गराए।
विकासका अन्य क्षेत्रलाई कम प्राथमिकतामा राखेर भए पनि टेलिफोन सेवालाई सहज बनाउनतर्फ पहल गर्न स्थानीयले जनप्रतिनिधिलाई आग्रह गरेका छन्। जिल्लाको प्रमुख बजारकेन्द्र बिजुवार, जुम्रिदेखि करिब आधा घण्टाको दूरीमा पुग्न सकिने ढुंगेठाटीमा फोन सम्पर्कभन्दा गाडीकै यात्रामा छिटो पुग्न सकिने स्थानीयले सुनाए।
दाखाक्वाडीको सेपुङमा निर्मार्णाधीन नेपाल टेलिकमको जीएसएम मोबाइल बीटीएस टावरले जुम्रिकाँढा क्षेत्रमा समेत काम गर्ने दूरसञ्चार कार्यालय प्यूठानका प्रमुख कृष्णकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सहज मोबाइल नेटवर्कको पहुँच नभएका जिल्लाका चुँजास्थित सिदुरे, नारीकोट, सरंगकोट, उदयपुरकोटको धोवाघाट, स्र्वद्वारीको खोलाखर्कमा टावर निर्मार्णाधीन अवस्थामा छन्। सम्भवतः चालु आर्थिक वर्षभित्र काम पूरा हुने उनको भनाइ छ।