भुटानमा कमल थापाको जित
काठमाडौं : भुटानको थिम्पुमा बिहीबारदेखि सुरु भएको पाँचौं भारत-भुटान मैत्री टेनिस प्रतियोगितामा नेपालका कमल थापाले विजयी सुरुआत गरेका छन् । ४५ वर्ष उमेरसमूहको भेट्रान्सअन्तर्गत पुरुष एकलमा थापाले भुटानका टासी दोर्जेलाई ७-५, ७-६ ले हराए ।
पुरुष एकलतर्फ नेपालका एवन लिसानेविचले भुटानका जिग्मे नोर्बुलाई ६-०, ६-२ ले हराए । महिला एकलमा नेपालकी अश्लेसा लिसानेविचले भुटानकी चेन्चो डेमलाई ६-०, ६-० को सेटमा हराइन् । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र भुटानका ७२ खेलाडीको सहभागिता रहेको छ । जसमा पुरुष/महिला एकल र ४५ समूहको भेट्रान्स विधा समावेश गरिएको छ । नेपालबाट चाम्बा धोण्डुप र प्रताप मोक्तानले पनि भाग लिएका छन् ।