इरानले चाहे जति युरेनियम उत्पादन गर्ने
तेहरान : इरानका राष्ट्रपति हसन रुहानीले आफूले चाहे जति युरेनियम उत्पादन गर्ने बताएका छन् । अमेरिकालाई चेतावनी दिँदै युरेनियम उत्पादन आइतवारदेखि शुरु गर्ने पनि स्पष्ट पारेका छन् । रुहानीको यो भनाइले परमाणु सम्झौतामा सहभागी अमेरिका लगायतका देशलाई दबाव बढेको छ ।
इरानले आणविक हतियार उत्पादन गर्ने प्रयास गरेको आरोप लगाउँदै अमेरिकाले तेहरानमाथि प्रतिबन्ध लगाउँदै आएको छ । यसबाट सम्झौताका पक्षधर मुलुकले मध्यमार्गी बाटो खोज्नुपर्ने भएको छ ।
बाराक ओबामाका अमेरिकी राष्ट्रपति हुँदा सन् २०१५ मा इरान र अमेरिकाबीच सम्झौता भएको थियो । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उक्त सम्झौताबाट फिर्ता हुने एकतर्फी घोषणा गरेका थिए । हाल इरानले युरेनियम उत्पादन गर्न शुरु गरे एक वर्षभित्रै परमाणु हतियार बनाउन सक्नेछ । यद्यपि इरानले आफूले कहिले पनि परमाणु हतियार बनाउन नचाहेको बताउँदै आएको छ । आफूलाई कसैसँग युद्ध लड्नु नभएकाले त्यस्ता हतियार आवश्यक नभएको दाबी गर्दै आएको छ।
परमाणु सम्झौताबाट हटेपछि ट्रम्पले इरानमाथि आर्थिक प्रतिबन्ध लगाउने, ऊसँग तेल खरिद गर्ने देशमाथि प्रतिबन्ध लगाएपछि र इरानी सीमामा ड्रोन पठाएपछि तनाव बढेको छ । यसैबीच रुहानीको चेतावनीपछि ट्रम्पले ट्विट गरे, ‘इरान सतर्क हुनु जरुरी छ । यसको परिणाम निकै गम्भीर हुनेछ । यति गम्भीर कि यसअघि कहिल्यै पनि थिएन ।’
परमाणु सम्झौताअनुसार इरानले ३.६७ प्रतिशत यूरेनियम उत्पादन गर्न सक्छ । विद्युत्का लागि यो पर्याप्त छ । आणविक हतियार बनाउन ९० प्रतिशत युरेनियम आवश्यक हुन्छ । इरानले ३ सय किलोग्रामभन्दा बढी युरेनियम भण्डारण गर्न पाउँदैन।