कुपोषण र समृद्धिको साइनो

कुपोषण र समृद्धिको साइनो

केही समय अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रममा सम्बोधन गर्ने क्रममा कोही नेपाली भोकै नभएको र हुनु नपर्ने दाबी गर्नुभएको कुरा छापाहरूमा आएका थिए। कोही पनि नेपालीहरू भोकै बस्नु नपर्ने प्रधानमन्त्रीको अठोटलाई सम्मान गर्दै कोही पनि भोकै नभएको दाबीमा सहमत हुन सकिएन। वास्तवमा भोकै भएको वा नभएको भनेर कुन अवस्थालाई भन्ने ? पेट भरिन्जेल खान पाउनेबित्तिकै भोकै नभएको ठहरिन्छ ? के उसले खाएको खानाले शरीरको आवश्यकता पूरा गरेको छ ? कि भुँडी मात्र भरिएको छ ? यी र यस्ता सवालको जवाफ प्राविधिक आँखाले सूक्ष्म विश्लेषण गरी हेर्नुपर्छ। खाना खानुको अर्थ शरीरका लागि आवश्यक पोषकतत्वको आपूर्ति गर्नु हो, जुन ठीक र सन्तुलित हुनै पर्छ। सामान्यत : हरेक व्यक्तिलाई सधैंभरि (वर्षभरि) स्वस्थ र उत्पादनशील जीवनयापनका लागि आवश्यक स्वच्छ, पोषणयुक्त र पर्याप्त खानामा भौतिक तथा आर्थिक पहुँच भएको अवस्थालाई खाद्य सुरक्षाको अवस्था मानिन्छ। के हामीले खाइरहेको खाना स्वच्छ, पोषणयुक्त र पर्याप्त छ ? यस्तो खाना हरेक नेपालीले वर्षभरि खान पाइरहेका छन् त भन्ने सवालको जवाफले हाम्रो खाद्य सुरक्षाको अवस्थाले दर्शाउँछ। तथ्यांकहरूले हामीकहाँ खाद्य पोषणको अवस्थामा अझै धेरै सुधार गर्नुपर्ने औंल्याइरहेका छन्।

 कुपोषणको अवस्था

संसारभरमा कुपोषणको दर कहाँ बढी होला भन्दा हामी झट्ट अफ्रिकी मुलुक सम्झन्छौं। तर, बालकुपोषण मापन गर्ने विश्वव्यापी सूचकहरूलाई आधार मान्ने हो भने अफ्रिकाभन्दा दक्षिण एसियाली मुलुकहरू बढी कुपोषणको सिकार भइरहेका छन्। पाँच वर्षमुनिका बालबालिकामा ख्याउटेपनाको अवस्था पश्चिमी अफ्रिकी क्षेत्रमा ८.५ प्रतिशत छ भने दक्षिण एसियाली मुलुकमा औसत १५.४ प्रतिशत र नेपालमा करिब १० प्रतिशत छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणअनुसार नेपालमा पाँच वर्षमुनिका बालबालिकामा पुड्कोपना ३६ प्रतिशत र कमतौल २७ प्रतिशत छ। यसको अर्थ अझै पनि हाम्रा करिब एकतिहाइ बालबालिका प्रोटिन र शक्तिको कमीका कारण हुने कुपोषणबाट ग्रसित छन्।

कुपोषण न्यूनीकरणमा राज्यको लगानी बढाउन र भएको लगानीको उचित सदुपयोग गर्न आवश्यक छ।

यो त भयो देखिने भोकमरी। हामीकहाँ नदेखिने भोकमरी अर्थात् सूक्ष्मपोषक तत्वको कमीका कारण हुने कुपोषणको अवस्था झन् भयावह छ। नेपालका पाँच वर्षमुनिका करिब ५३ प्रतिशत बालबालिकाको रगतमा आइरनको मात्रा कमी छ। यसको अर्थ २ जनामध्ये १ जना बच्चामा रक्तअल्पता छ, जसको प्रभाव उसको समग्र शारीरिक तथा मानसिक विकासमा परिरहेको हुन्छ। त्यस्तै प्रजनन उमेरका ४१ प्रतिशत महिला रक्तअल्पता र १७ प्रतिशत प्रोटिन र शक्तिको कमीका कारण हुने कुपोषणबाट ग्रसित छन्। करिब ४३ प्रतिशत किशोरीमा रक्तअल्पताबाट पीडित छन्। भोलि यो मुलुकको बागडोर सम्हाल्ने करिब आधा बालबालिका र किशोरी कुनै न कुनै खालको कुपोषणको सिकार भइरहेका छन्।

अर्कोतिर अधिक तौल र मोटोपना र यसका कारण निम्तिइरहेका मधुमेह, क्यान्सर, उच्च रक्तचाप, मुटुरोगजस्ता प्राणघातक स्वास्थ्य समस्या भोगिरहेको जनसंख्या पनि ठूलो र बढ्दो छ। अस्वस्थ खानपान र भद्दा जीवनशैलीले नयाँनयाँ नसर्ने रोगहरू निम्त्याइरहेको छ। जसका कारण स्वास्थ्य अवस्था खराब हुन गई काम गर्ने क्षमतामा कमी र उत्पादनशील क्षेत्रमा खर्च गर्न सकिने धनराशि उपचारमा सक्नुपर्ने बाध्यता छ। त्यसैले त उत्पादनशील उद्योगहरू कमजोर बनिरहेका बेला पनि अस्पताल र क्लिनिकहरू टोलटोलमा खुलिरहेका छन्। यसले अर्थतन्त्रमा नराम्ररी प्रभाव पारिरहेको छ।

कुपोषण र समृद्धि

विश्व स्वास्थ्य संगठनका अनुसार बालबालिकाको मृत्यु हुने कारणमध्ये करिब ४५ प्रतिशत हिस्सा कुपोषणले ओगट््छ। अध्ययनहरूले नेपालजस्ता मुलुकहरूमा ५३ प्रतिशत बालमृत्युको कारक कुपोषण हो भनेका छन्। पुड्कोपन, ख्याउटेपन तथा रक्तअल्पताजस्ता सूक्ष्म पोषकतत्वको कमी भई हुने समस्याले महिला तथा बालबालिकाको प्रतिरक्षा प्रणाली कमजोर मात्र बनाउँदैन अन्तरपुस्तासम्म असर रहने गरी शारीरिक तथा मानसिक विकासमा समेत धक्का पुर्‍याउँछ। कुपोषित बालबालिका वयस्क भएपछि उच्च रक्तचाप, मधुमेह, मुटुसम्बन्धी रोग र मोटोपनबाट ग्रसित हुने सम्भावना बढी हुन्छ। होचा आमाबाट जन्मिने बच्चामा मृत्यु हुने जोखिम ४० प्रतिशतले बढी हुने अनुमान गरिएको छ। त्यसैगरी न्यून पोषित आमाहरूबाट कमतौलको बच्चा जन्मिने सम्भावना बढी हुन्छ।

यसले गरिबी र अस्वस्थताको चक्रलाई अन्तरपुस्तासम्म चलाइरहन्छ। जन्मतौल कम भएका बालबालिका अन्य बालबालिकाको तुलनामा वयस्क भएपछि पनि होचो हुने सम्भावना रहन्छ। होचो हुनु भनेको यसो हेर्दा पुड्को देखिनु मात्र हैन, यसको सम्बन्ध दिमागको विकाससँग गाँसिएको हुन्छ। औसत उचाइभन्दा कम उचाइ भएका बालबालिकाको दिमागको विकास पनि मन्द र प्रभावित भइरहेको हुन्छ। यसले बच्चाको समग्र सिकाइ र भविष्यको उत्पादनशीलतामा ह्रास ल्याउँछ। मानिसको संवेगात्मक विकास, दिमागको विश्लेषण गर्ने क्षमता निर्धारण गर्ने तथा तीक्ष्णता बढाउन मद्दत गर्ने दिमागको खैरो भागहरूको विकास कुपोषित दिमागमा कम तथा न्युरोनहरूको सञ्जाल कमजोर हुन्छ। यसरी कुपोषित र सुपोषित बालबालिकाको दिमागको तीक्ष्णतामा समेत फरक हुने हुन्छ, जसको प्रत्यक्ष प्रभाव बच्चामा मात्र हैन परिवार र राष्ट्रलाई नै पर्छ।

जीवनको पहिलो दुई वर्षको उमेरमा हुने पुड्कोपनलाई संसारभर सम्रगमा मानव विकासको मापकको रूपमा लिइन्छ। अध्ययनहरूले एक प्रतिशत उचाइ वृद्धिलाई २.४ प्रतिशत ज्यालाको वृद्धिसँग सम्बन्धित रहेको देखाएका छन्। विश्व बैंक र अन्य अन्तर्राष्ट्रिय संस्थाका विभिन्न अध्ययनलाई आधार मानेर भन्दा बालअवस्थामा हुने कुपोषणले एउटा व्यक्तिको जीवनकालको कमाइलाई कम्तीमा १० प्रतिशतले घटाउन सक्छ। पर्याप्त पोषण नपुगेमा यसले बालबालिकाको शारीरिक तथा मानसिक विकासमा असर गर्छ। बुझाइमा असर गर्नुका साथै आयआर्जनको सम्भावना पनि घटाउँछ। त्यसैले त राम्रो पोषण प्राप्त गरेमा व्यक्तिगत आर्जनमा धेरै गुणाले वृद्धि हुने अनुसन्धानहरूले देखाएका छन्। अधिक पोषणका कारण निम्तिइरहेका मधुमेह, क्यान्सर, उच्च रक्तचाप, मुटुरोग जस्ता प्राणघातक स्वास्थ्य समस्याका कारण अर्थतन्त्रमा परेको प्रभाव त छँदै छ। यसरी हेर्दा कुपोषणले व्यक्तिलाई मात्र नभई समग्र परिवार, समुदाय र देशकै आर्थिक विकासमा असर पार्छ। हामीले देखेको समृद्धिको सपनालाई असर पार्छ। समृद्ध नेपाल सुखी नेपालीको नारालाई यथार्थमा ढाल्ने सवालमा असर पार्छ।

बालपोषणमा सुधार गर्दा शैक्षिक तथा स्वास्थ्य गतिविधिमा सुधार आई र आर्थिक विकासमा टेवा पुग्छ। पोषणमा सुधार ल्याएमा ११ प्रतिशतसम्म कूल गार्हस्थ उत्पादनमा टेवा पुर्‍याउने विभिन्न दृष्टान्तले देखाएका छन्। पोषण सुधारका लागि हरेक एक अमेरिकी डलर लगानी गर्दा त्यसले कम्तीमा १६ अमेरिकी डलर प्रतिफलका रूपमा राष्ट्रिय अर्थतन्त्रलाई टेवा दिने विश्व बैंकको दाबी छ। तर पोषणमा गरेको लगानी सदुपयोग भने हुनुपर्छ। पोषणका नाममा बजेट छु्याउने र स्वास्थ्यकर्मी वा अरू कसैको भ्रमण वा तालिमका नाममा भत्तामै सक्ने हो भने त्यसको अर्थ छैन। हुन त कुपोषणका लागि भएको लगानीले दिनुपर्ने जति प्रतिफल नदिइरहेको, कुपोषणमा काम गर्नेहरू अधिक पोषण भई आपैंm कुपोषित भइरहँदा वास्तविक कुपोषण पीडितले केही नपाएको गुनासा पनि हामीमाझ छन्। पोषण सुधार कुनै एउटा व्यक्ति वा क्षेत्रको बलले मात्र पक्कै हुँदैन। यसका लागि सर्वपक्षीय प्रतिबद्धता र बहुक्षेत्रीय संलग्नता आवश्यक छ।

खानपान र जीवनशैलीसँग सम्बन्धित व्यवहारमा दिगो परिवर्तनका लागि सुआहाराजस्ता कार्यक्रमको प्रभावकारी मोडालिटीबाट दृष्टान्तहरू लिई कार्यक्रम तय तथा कार्यन्वयन गर्न सकिन्छ। नीतिनिर्माताले पोषण सुधारलाई विकासको एजेन्डाका रूपमा मूल प्रवाहीकरण गर्ने, स्थानीय रूपमै पाइने पोसिला खानेकुराहरूको प्रवद्र्धन र जीवनशैली, सरसफाइका व्यवहारमा उचित परिवर्तन गराउन जरुरी छ। बाटो र पुलपुलेसा बनाउने मात्र हैन, स्वस्थ नागरिक उत्पादन गर्ने एजेन्डा पनि विकासको एजेन्डा हो भनी जनप्रतिनिधिहरूले मनन गर्न आवश्यक छ। स्वास्थ्य, पोषणकर्मीहरूले कुनै खर्च गर्नुअगाडि, कुनै काम तय गर्नुअगाडि त्यसले आफूलाई हैन कि कुपोषणग्रसित जनमानसलाई के फाइदा पुग्छ भनी घोत्लिन जरुरी छ। समग्रमा कुपोषण न्यूनीकरणमा राज्यको लगानी बढाउन र भएको लगानीको उचित सदुपयोग गर्न आवश्यक छ। अनि मात्र कुपोषण कम भई अर्थतन्त्र मजबुत बनाउन टेवा पुर्‍याउनेछ। स्वस्थ भई सुखी नेपाली हुनेछन्, समृद्धिको अभियानमा सहयोग पुग्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.