‘हाउडे माया’लाई फापेन माया

‘हाउडे माया’लाई फापेन माया

गायिका सिर्जना खत्री ‘हाउडे माया’ उपनामले चिनिन्छन्। उनी यही गीतबाट नेपाली संगीतमा प्रवेश गरेकी हुन्। ‘हाउडे माया नाम नै कस्तो युनिक छ’, उनी भन्छिन्, ‘यही नामले चिनिन पाउँदा खुसी लाग्छ।’

उनको आफ्नै शब्द रहेको यो गीतमा प्रेमप्रसंगको विषयवस्तु छ। सिर्जना गीतका शब्द प्रायः आफ्नै साथीभाइबाट प्रभावित भएर बनाउँछिन्। उनी मुस्कुराउँदै भन्छिन्, ‘कतिपय भाव आफ्नो निजी जीवनसँग पनि मेल खान्छ।’

हेर्दा ग्ल्यामरस देखिए पनि आफू निकै संवेदनशील व्यक्ति भएको सिर्जना बताउँछिन्। घरपरिवार, साथीभाइलाई समस्या पर्दा उनी मद्दतका लागि हरदम तम्तयार हुन्छिन्। अभिभावकको भूमिका निर्वाह गर्न अघि सर्छिन्। तर आफू दुःखी हुँदा कसैलाई सुनाएर मन हलुका पार्न सक्दिनन् रे। भन्छिन्, ‘आफूले आफैंलाई सम्झाउँछु। साथीभाइलाई आफ्नो पीडा बताउँदिनँ।’

पहिले सर्लक्क परेको लामो कपाल थियो उनको। अहिले उनले ब्वाइज कट कपाल काटेकी छन्। कपाल काट्नुको पछाडि पनि कथा रहेछ। कुनै समय उनलाई आफू महिला भएकोमा खुब दुःख लाग्थ्यो रे। घरपरिवारको जिम्मेवारी आफू केटी मान्छे भएकैले पूरा गर्न नसकेको जस्तो लाग्थ्यो उनलाई। आफूलाई कमजोर महसुस नहोस् भनेर उनले कपाल काटिन्। छोरा मान्छेजस्तै हुन खोजिन्। भन्छिन्, ‘अहिले गेटअप चेन्ज गरेपछि निकै कन्फिडेन्ट फिल हुन्छ।’

छोटो समयमै माया सिरिजबाट चर्चामा आएकी सिर्जना पप र लोक दुवै थरी गीत गाउँछिन्। तीज नजिकिँदै छ। नेपाली दिदीबहिनीका लागि भन्दै उनी मौलिकता झल्कने तीज गीत बजारमा ल्याउने सुरसार गर्दै छिन्। झट्ट हेर्दा मोडलजस्तो देखिन्छिन् सिर्जना। तर, म्युजिक भिडियोमा अहिलेसम्म अभिनय गरेकी छैनन्। भन्छिन्, ‘मलाई नाच्नै आउँदैन। तीजको गीतमा भने कम्मर मर्काएर नाचिन्छ।’

सिन्धुपाल्चोककी सिर्जना हाल काठमाडौंमा बस्दै आएकी छन्। उनका ६ वटा सोलो गीत सार्वजनिक भएकोमा चार हिट छन्। ‘लाहुरे माया’, ‘नौटंकी माया’ अझ रुचाइएका गीतमा पर्छन्।

सिर्जनाका लागि सफलता सपनाजस्तै थियो। अहिले उनी जुन स्थानमा छिन्, त्यसको कल्पना मात्र गर्थिन् उनी। अहिले सफल भएपछि चाहना अझै बढेको उनी बताउँछिन्। आज फर्केर हेर्दा बितेका संघर्षका पलहरूले आनन्द दिन्छ उनलाई। सफल भइसकेपछि संघर्षका पाटाहरू देखिँदैनन्। तर उनका संघर्षका आफ्नै कथा छन्।

सिर्जनाले फिल्मका लागि पाश्र्व गायनको मौका पाएकी छैनन्। भन्छिन्, ‘आफूलाई सुहाउँदो गीत आयो भने मात्र गाउने मन छ।’ स्वर राम्रो बनाइराख्न नियमित रियाज गर्छिन् उनी। खानेकुरामा विशेष ध्यान दिन्छिन्। बाहिरको खानेकुरा खाने बानी छैन उनको।

स्कुले जीवनमा नै सिर्जना धेरै सांस्कृतिक कार्यक्रममा भाग लिन्थिन्। गीत आफैं लेख्ने, कम्पोज पनि आफैं गर्ने र गाउने गर्थिन्। अहिले उनका जति पनि गीत बजारमा आएका छन्, ती सबै आफंैले लेखेकी हुन्। सिर्जनाका गीतहरू राम्रै चलिरहेका छन्। तर उनलाई अझै मेहनत नपुगेजस्तो लागेको छ।

पहिले टेलिभिजनमा भिजेको काम गर्दै म्युजिक इन्डस्ट्री प्रवेश गरेकी हुन्, सिर्जना। साधारण जीवन बिताउन मन पराउने उनी फुर्सदको समय घरपरिवारमा समय दिन रुचाउँछिन्। उनको बुझाइमा अहिले सेन्टिमेन्टल गीतभन्दा डान्सिङ नम्बरहरू चलेका छन्। छिटो मीठो गीतहरू चलिरहेकाले आफूले पनि त्यही ट्रेन्डलाई समातेर अघि बढेको बताउँछिन् उनी।

त्यसो त सिर्जनाले माया सिरिजमा गीत बजारमा ल्याए पनि वास्तविक जीवनमा भने उनलाई माया फापेन। स्कुल पढ्दाको प्रेम उनलाई याद छ। उनी पहिलो प्रेम पनि त्यही नै मान्छिन्। हाल कुनै रिलेसनसिपमा नभएको बताउँदै उनी आफ्नो टिनेज लाइफ सम्झन्छिन्। भन्छिन्, ‘अञ्जानैमा परेको माया थियो त्यो, सायद त्यो आकर्षण मात्र थियो।’

कक्षा ६ पढ्दा एउटा केटा उनलाई मन परेजस्तो भयो। बोल्न मन लाग्यो। चिठी पठाउने सोच्दै मायालु शब्द कोर्न थालिन् तर बीचैमा त्यो केटाको साथीले उनलाई प्रेम प्रस्ताव राखिदियो। ‘कस्तो धर्मसंकट’, उनी भन्छिन्, ‘तर मैले उसलाई मन नपराउने कुरा प्रस्टै भनिदिएँ।’ त्यसपछि त मन पराएकै मान्छेलाई चिठी कोरेर उनको बहिनीको हातमा थमाइदिइन् तर केटाले स्वीकारेन। भन्छिन्, ‘त्यसपछि त्यो माया त्यहीँ तुहियो।’

अहिले गीतसंगीत क्षेत्र निकै विवादित छ। भाइरल हुन गायकले जस्तो पनि शब्द समेटिएका गीत गाइरहेका छन्। सिर्जनालाई त्यो बाटो मन पर्दैन। भन्छिन्, ‘मलाई छिटो चर्चामा आउन मन छैन। अझ मेहनत गर्छु।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.