पर्यटकीय क्षेत्र चिनाउन डोल्पामा साइकल यात्रा
दुनै डोल्पा : प्रचुर पर्यटनको सम्भावना रहेको डोल्पा जिल्ला पर्यटकले अझै चिन्न नसकेको भन्दै साइकल यात्रा गर्न थालिएको छ। डोल्पा जिल्लाकै स्थानीय भाष्कर बस्नेतले पहिलो पटक डोल्पामा साइकल यात्रा गरिरहेका छन् ।डोल्पा सबै हिसाबले पर्यटकीय सम्भावना रहेको जिल्ला हो भन्दै डोल्पालाई पर्यटकीय क्षेत्रका रुपमा चिनाउन साइकल यात्राको थालनी गरेका हुन् ।
नेपालकै गहिरो ताल फोक्सुण्डोसम्म र फोक्सुण्डो तालको बाटोमा एड्भान्चर साइकल यात्रा गरेर डोल्पालाई चिनाउने आफनो सपना रहेको बताउँदै साइकल यात्रा थालेको भाष्कर बस्नेत बताउँछन्। रुकुमको द्धारी भञ्जयाङबाट डोल्पाको रुपपाटनहुँदै उनी नयाँ साइकल यात्राको पदमार्ग खोजी गर्दै डोल्पा पुगेका थिए।
द्धारी भञ्जयाङहुँदै आउनुको मुख्य उद्देश्य भनेको साइकिलिङ, ट्रेकिङ र म्याराथुनको सम्भावनाबारे अध्ययन गर्न आफू हिँडेको र क्याराभान फिल्मका नायक थिल्ने लुन्डुप लामाको देहान्त भएको क्षेत्रको समेत अध्ययन गरेर प्रचारप्रसार गर्ने लक्ष्य रहेको साइकल यात्री भाष्कर बस्नेतले बताए।
करिब ४६ सय ४४ मिटरको उचाइमा रुकुम र डोल्पाको बीचमा रहेको द्धारी भञ्जयाङ साइकलमा नै यात्रा गरेर दुईजना डोल्पा पुगेको बताए। पर्यटकका लागि बाटो राम्रो छ। साइकल यात्रीका लागि त झनै राम्रो भर्जिन मार्ग भएपनि प्रचारप्रसारको अभाव रहेको पोखराका साइकल यात्री ओम अधिकारीले बताए।
द्धारी भञ्जयाङ निकै मनोरम रहेको र यसलाई यार्सा ट्रेलका रुपमा जोड्न सके झनै प्रभावकारी हुने र आफ्नो ट्रेकिङ तथा साइकल यात्राको दोडानमा डोल्पा जति सुन्दर कहि नदेखेको उनले खुसी व्यक्त गरे। राष्ट्रिय राजमार्गले डोल्पा जोडिएसँगै आन्तरिक पर्यटक हरेक वर्ष बढिरहेका छन्। फोक्सुण्डो घुम्न आउने र साइकलमा यात्रा गर्न चाहनेहरुको संख्या बढ्दो छ।
जुफालहुँदै फोक्सुण्डो,जुम्ला कागमारा फोक्सुण्डो, रुकुम द्धारी भञ्जायङहुँदै फोक्सुण्डो र दुनै धो भएर माथिल्लो डोल्पाबाट फोक्सुण्डो आउन साइकल यात्रीका लागि निकै लामो र महत्वपूर्ण पदमार्ग हुने भाष्कर बस्नेतले बताए।उनले भने २०२० लाई लक्षित गरी डोल्पामा हाइअल्टीच्यूट म्याराथुन र साइकल प्रतियोगिता गराउने लक्ष्य रहेको बताए।