नेकपा विशाल नदी हो, बाबुराम पनि अट्नु हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विशाल नदी भएकाले बाबुराम भट्टराई पनि अट्ने बताएका छन्। विभिन्न पार्टी परित्याग गरेर शुक्रबार नेकपा प्रवेश गरेकालाई पार्टी केन्द्रीय कार्यलय धुम्बाराहीमा स्वागत गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।
पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले दुई तिहाइ अटेको कम्युनिस्ट पार्टीमा बाबुराम पनि अट्ने प्रष्ट पारे। ‘नेकपामा सिंगो समाजवादी पार्टी अट्न सक्छ, बाबुरामजी नअट्ने कुरै भएन’, उनले भने, ‘देश बनाउने बेलामा डिलमा बसेर मतभेद गर्ने होइन। आउनुहोस सबै मिलौं देश बनाऔं।’
नेकपा विशाल नदी भएको उनको भनाइ छ। ‘कहिले ढिस्काले बाटो छेकेर भंगाला यताउति लाग्छन्, कहिले बाटो भूलेर’, प्रधानमन्त्री ओलीले भने, ‘पुल मुनी भंगालै भंगालामा छरिएको नारायणी नदी तल पुगेपछि मुल बहावमै मिसिन्छन्। त्यस्तै कम्युनिस्ट पार्टीबाट बेला बेलामा छुटिएर गएका साथी फेरि अहिले मुलधारमै आउनु भएको छ। यहाँहरुलाई स्वागत छ।’
नेपालमा पहिले राजनीतिका मात्र कुरा हुने गरेकोमा अहिले विकासका कुराले प्रधानता पाउन थालेको उनको भनाइ छ। ‘जनताका समस्या भन्दा सरकार टाढा छैन। जनताका आवश्यकतालाई मनन गरेर हामी काम गर्छौं’, प्रधानमन्त्री ओलीले भने, ‘हामीमा कुनै मतभेद छैन। व्यक्तिगत स्वार्थलाई गौण र राष्ट्रिय स्वार्थलाई प्राथमिकतामा राखेर विकसित देश बनाउन हामी लागि परेका छौं।’
कार्यक्रममा नेपाल समाजवादी पार्टीका नेता कल्पना धमला, देवेन्द्र पराजुली, गुणखर भूसाल, मनु हुमागाईंलगायत नेकपामा प्रवेश गरेका छन्। सबैलाई प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे।