करिश्मा रातारात जान्ने विद्यार्थी
एसईईमा यो पालि दुई जना चम्किए। सांसद् शान्ता चौधरी र हाम्री हिरोइन करिश्मा मानन्धर। नाति उमेरका भाइबहिनीसँगै स्कुल गएर पढ्न ठूलै हिम्मत चाहिन्छ। शान्ता र करिश्माले त्यो हिम्मत गरेर देखाए, जसको जति प्रशंसा गरे पनि कम हुन्छ। तर, बिचरा, करिश्मा दिदी बोल्दा चाहिँ फिटिक्कै मेसो नपाउने ! एसइई पास गरेपछि धेरैले उनलाई के पढ्ने भनेर सोधे। उनले जवाफ दिइन्, ‘म राम्रो विद्यार्थी होइन, त्यसैले मानविकी पढ्छु।’
मानविकीलाई कमजोर विद्यार्थीले मात्र पढ्ने उनको आशयले धेरैको चित्त दुखायो। टप सेलिब्रिटी, त्यो पनि लेट फोर्टीमा पढाइलाई त्यतिबिघ्न महत्त्व दिएको भनेर उनको प्रशंसा गरेकाहरू खिस्रिक्क परे। तर, करिश्माको पढाइको दुविधा यहीँ रोकिएन।
भोलिपल्ट देखिका उनका अन्तर्वार्तामा उनले मानविकी नभई व्यवस्थापन पढ्छु भन्न थालिन्। फेरि त उनका कुरा नबुझेर धेरैको टाउको सड्क्यो। हिजोसम्म कमजोर विद्यार्थी भन्दै मानविकी पढ्छु भन्ने करिश्मामा रातारात ज्ञान कहाँबाट आयो र उनले व्यवस्थापन पढ्ने निर्णय गरिन् ? कलाकारको यही बानी नहुनी, बोल्न हतार गरिहाल्ने !