ज्ञानी हरिवंश
एक समय थियो, हरिवंश आचार्य आफ्नो आलोचना सुन्नै नसक्ने ! ‘तँ त साह्रै बिग्रिस् नि बद्री’ रिलिज भएको बेला पत्रकारले समीक्षा लेखेपछि हरिवंश दिनभर पत्रकारको खोजी गरेर बसेका थिए, भेटे गोद्ने मनसायले। त्यसयता वाग्मतीमा धेरै पानी बगिसकेको छ। हरिवंश साधु बनिसकेका छन्।
त्यसैले त उनले ‘दालभात तरकारी’को समीक्षामा चित्त दुखाएनन्, बरु उल्टै ‘गल्ती औँल्याइदिएकोमा धन्यवाद !’ भने। ‘शत्रु गते’बाट दमदार कमब्याक गरेको मह सञ्चारले बनाएको ‘दालभात तरकारी’ सोचे जस्तो राम्रो बनेन। तर, हलमा राम्रै चल्यो।
केही फिल्मकर्मी दर्शक र समीक्षकले गाली गर्दागर्दै पनि हलमा फिल्म चल्यो भने अरूलाई नै पाठ पढाउन थाल्छन्। तर, हरिवंशले त्यसो गरेनन्। उनले फिल्म सोचेजस्तो नबनेको मात्र स्विकारेनन्, भएको गल्तीको जिम्मेवारी आफैँले पनि लिए।
फिल्म रिलिजलगत्तै दोष आफू लिन तयार भएको बताएका उनले ५१ दिने सेलब्रेसनमा पनि ‘लेखकको नाताले सम्पूर्ण गल्तीको दोष म लिन्छु’ भन्दै आफ्नो कमजोरी स्विकारे। फिल्मकर्मीले गल्ती स्विकार्नु भनेको बुद्धत्व प्राप्त गरेबराबर हो। कतिञ्जेललाई हो थाहा छैन, तर हरिवंश पनि ज्ञानी भएछन्।