धमाधम बाउ
राजेश हमालझैँ ‘वाग्मती’ले डुबाउनेमा शिव श्रेष्ठको पनि नाम थियो। यो फिल्मको रिलिजअघि शिवले पनि ‘वाग्मती’ले नेपाली सिनेमाको कोर्स नै परिवर्तन गर्ने ध्वाँस दिएका थिए। फिल्म रिलिज भएपछि दुई वरिष्ठ कलाकारको फिल्मको बुझाइमा धेरैले थकथक माने।
तर, यो फिल्ममा काम गरेका अभिनेता शिवलाई एउटा फाइदा भयो, फिल्मका निर्मातासँग उनी नजिक भए। उनीहरूसँगै मिलेर उनले ‘एउटा अनौठो प्रेम कहानी’ सुरु गरे। आफ्नै छोरा र करिश्मा मानन्धरकी पुत्री कवितासम्मलाई फिल्ममा लिए। तर, खेल्न जस्तो सजिलो फिल्म बनाउन कहाँ हुन्थ्यो ? निर्माण सुरु भएको दुई वर्ष हुन लाग्यो, फिल्म बाहिर आउने छाँटकाँट छैन।
बाध्य भएर शिव अभिनयमा फर्किएका छन्। गत हप्ता राजेश हमालले छाडेको भूमिका सकार्दै ‘प्रेमगीत ३’मा प्रदीप खड्काको बाउ बन्न राजी भए भने यो हप्ता उनले ‘लप्पन छप्पन २’ साइन गरे। यसमा भने उनी सौगात मल्लको बाउ बन्नेछन्। आफ्नो जीवन नै साई बाबाले बनाएको बताउने शिवले आफ्नै छोराको डेब्यू फिल्म पार लाउन सकेनन् तर उता भकाभक अरूका फिल्ममा बाउ बनिरहेका छन्।