दुई यार्सा संकलकको लडेर मृत्यु
दार्चुला : अपी हिमाल गाउँपालिकामा भीरबाट लडेर दुईजना यार्सागुम्बा संकलकको मृत्यु भएको छ। भीरबाट लडेर नौगाड गाउँपालिका २ पन्खायाका अन्दाजी ३७ वर्षीय शेरसिंह ठगुन्ना र सोही गाउँपालिका ३ का ४३ वर्षीय दमनसिंह कार्कीको बुधबार मृत्यु भएको हो।
स्थानीय गोविन्दसिंह ठगुन्नाका अनुसार उनीहरु दुवैजनाको यार्सा संकलनको क्रममा भिरबाट लडेर मृत्यु भएको हो। मृतक ठगुन्नाको अपीहिमाल गाउँपालिका ३ क्षत्तिको धरमघर लेकमा र दमनसिंहको सोही गाउँपालिका १ को सिमार लेकमा यार्सा संकलनका क्रममा लडेर मृत्यु भएको स्थानीय शोभानसिंह लोथ्यालले जानकारी दिए।