लमजुङमा स्मार्ट फिल्म सिटी निर्माण हुँदै
बेसीसहर : बेसीसहर नगरपालिकाका तीन वटा वडामा छरिएका गाउँसहर, नाल्मा, पुरानकोटका पर्यटकीय क्षेत्रहरुलाई समेटेर अत्याधुनिक प्रविधिसहितको ‘स्मार्ट फिल्म सिटी’ निर्माणको तयारी भएको छ ।
फिल्म सिटी निर्माणका लागि नगरपरिषद्ले स्वीकृती दिइसकेको छ । सार्वजनिक जमिन भाडमा लिएर फिल्म सिटी निर्माण गरिने बताइएको छ । जग्गा भाडाका लागि सम्बन्धित वडाहरुले सिफारिस दिइसकेका छन् । ‘पहिला त के हो कसो हो भन्ने लागेको थियो । बुझ्दै जाँदा राम्रो काम लाग्यो । यसले वडाको मात्र हैन जिल्लाकै विकासका लागि ठुलो टेवा पुग्छ’, बेसीसहर–३ का वडा अध्यक्ष सूर्यकुमार श्रेष्ठले भने ।
गाउँसहरका घनबहादुर घिमिरेले अन्तर्राष्ट्रिय स्तरको फिल्म सिटी निर्माणले स्थानीय स्तरमा ठुलो रोजगारी सृजना गर्ने बताए । फिल्म सुटिङ, इडिटिङका लागि विदेशी आउने, स्टार होटल बन्ने, रोजगारी खुल्ने र स्थानीयको आयआर्जन बढ्ने उनको अपेक्षा छ ।
वडा नं. ४ का अध्यक्ष लालवीर गुरुङले पनि फिल्म सिटी बन्ने समाचारले स्थानीय निकै खुसी भएको बताए । ‘स्मार्टफिल्म सिटी’ पाँच हजार रोपनी क्षेत्रफलमा निर्माण गरिने बताइएको छ । सबै जमिन सार्वजनिक प्रयोग गरिने छ । ०४२ सालको नापीमा यी तीन वटा वडामा मात्र १ लाख ८ हजार ५ सय रोपनी भन्दा बढी जमिन छ । यसमा गौचरण, जंगल, सार्वजनिक, मिनाह (खोल्साखोल्सी) जमिन पर्याप्त छ ।
यहाँका सार्वजनिक खर्क, जंगल, मिनाह, गौचरण जमिन भाडामा लिएर संरचना निर्माण गरिनेछ । सबै जमिनमा संरचना बन्दैनन्, धेरैजसो दृश्यावलोकनका लागि प्रयोग हुने निर्माण पक्षले जनाएको छ ।
स्मार्ट फिल्म सिटीका लागि नेपालको स्काइ इन्टरटेनमेन्ट प्राली र इटालियन निर्माण कम्पनी वल्र्ड एरिया होल्डिङ् एसआरएलबीच सम्झौता भएको छ । दुई हजार ६० मिटरदेखि दुई हजार नौ सय मिटरको उचाइमा बन्ने भएकाले यो विश्वकै अग्लो स्थानमा भएको स्मार्ट फिल्म सिटी हुनेछ ।
स्काइ इन्टरटेनमेन्ट प्रालीका अध्यक्ष आकाश अधिकारी र इटालियन कम्पनीका अध्यक्ष फ्रान्सिस्को सिङ्नो रिल्लोबीच बुधबार भएको सम्झौतामा विश्वस्तरको अत्याधुनिक प्रविधिसहित झण्डै १६ वटा फिल्म छायाङ्कन स्थल निर्माण गर्ने लक्ष्य राखिएको छ ।
सात वर्षमा परियोजना सम्पन्न हुने लक्ष्य छ । पहिलो चरणमा १२ वटा छायाङ्कन स्थल निर्माण गरिने छ । परियोजनाभित्र पाँचतारे होटल, चलचित्रको अध्ययन गर्ने कलेज, केबुलकार, अर्गानिक फार्म, विभिन्न खेलकुद स्थल तथा विभिन्न देश र नेपालको मौलिक पहिचान बोकेका भौतिक संरचना नमूनाका रुपमा निर्माण गरिनेछ ।