रातो टीका अनि रातै घाम

रातो टीका अनि रातै घाम

‘ह्वाट इज सटर स्पिड ? ’ फोटो पत्रकारिता पढाउने सर व्याख्या गर्दै हुनुहुन्थ्यो। क्यामेराअगाडि मुसुक्क हाँस्दै फोटो खिच्न रुचाउने मलाई क्यामेराको प्राविधिक ज्ञान भने खासै थिएन।

त्यसैले पनि अगाडिको बेन्चमा बसेर बडो अनुशासित भई सरले भन्नुभएका कुरा कापीमा लेख्दै थिएँ, ता कि क्यामेरा चलाउनु पनि क्यामेराअघि बसेर मुस्कुराउनुजस्तै सजिलो होस्, रमाइलो होस्।

केही दिन अघिदेखि गर्मीले गर्दा शरीरमा हल्का ज्वरो र घाँटीमा समस्या देखिएको थियो तर उपचार नगरेको होइन। डाक्टरको सल्लाहअनुसार औषधि खान थालेको दुई दिन भएको थियो।

औषधि र घरेलु उपचार विधिले धेरै राहत पनि मिलिरहेको थियो। र त त्यस दिन एकाबिहानै जोसिलो पाराले स्कुटी हुइँक्याउँदै कलेज पुगेकी थिएँ। कलेज पुगेर तीन विषयको कक्षा पनि लिएँ। त्यति बेलासम्म असहजता कत्ति पनि महसुस भएन।

तर सटर स्पिडको परिभाषा पनि लेखिनसक्दै अनायासै मभित्र छटपटी सुरु भयो। मेरो अनुशासन त भंग भयो नै, कापीमा हेर्नै नसक्ने गरी आँखा पनि लोलाउन थाले।

लेख्दालेख्दैको कलमलाई कापीमाथि फ्यात्त फालेँ र कापीमाथि टाउको अड्याएर सुतेँ। तर अहँ, मेरो छटपटी मसँगै सुत्न मान्दै मानेन। म मात्रै सुत्नुको औचित्य पनि थिएन। त्यसैले सकिनसकी टाउको उठाएँ अनि छेउमा बस्नुभएकी केटी साथीलाई भनेँ, ‘मलाई त कस्तो गाह्रो भयो।’

‘त्यही त, मलाई पनि अल्छी लागिरा’छ।’ उहाँको बोलीले मेरो मन झनै गह्रुँगो भयो।

मेरो असहजतालाई सायद अल्छी लागेको ठान्नुभयो क्यार। दोहोर्‍याएर आफ्नो समस्या भन्ने आँट पनि आएन। होइन, भन्नै मन लागेन। फेरि छटपटाउँदै टाउको कापीमाथि सुताएँ, अघिजस्तै। तर छटपटी भने पुरानै ढिपीमा बढ्दो थियो।

वैशाखको महिना भए पनि त्यो दिन उतिसाह्रो गर्मीे थिएन। किनकि त्यति बेला बिहानी फक्रिँदै थियो। तर मेरो शरीरको गर्मी भने फक्रिवरी पसिना बनेर ढकमक्क भइसकेको थियो। निधार छामँे, रनक्क रन्किएको थियो, शरीरचाहिँ पसिनाले भिजेर एकदमै चिसो र शिथिल।

त्यति त सहेकै थिएँ तर जोडसँग दुख्न सुरु गरेको तल्लो पेटको पीडा मेरो मन अनि मस्तिष्क, दुवैले सहन सकेनन्।

दायाँ हातले पेटलाई ढाडस दिँदै, बायाँ हातले निधारभरि उम्रिएका पसिना पुछ्न थालेँ। तर तीव्र गतिमा छुटिरहेको पसिनाको मूललाई मेरो एउटा हातले कसरी थेगोस्, कसरी अनि कतिन्जेल रोकोस्, पुछ्नै छोडिदिएँ।

यसो नजर डुलाएँ, म बसेकै बेन्चमा कुनापट्टि बस्ने केटा साथीतर्फ। सरले पढाउनुभएको कुरामा त उसको ध्यान थिएन, मतिर झन् कसरी हुनु। मस्त थियो, आफ्नो पछिल्तिर बसेको अर्को साथीसँगको गफमा। उसलाई डिस्टर्ब गरेर झन् हल्ला गर्न मन लागेन।

सरलाई भनेर कक्षाभरिकै ध्यान आकर्षित गर्न पनि मन आफैंले मानेन। सरलाई नै भनेको भए पनि कक्षा बाहिरसम्म जाने अनुमति पाउँथे तर मलाई म सँगसँगै बाहिरसम्म गइदिने साथी पनि चाहिएको थियो। एक्लै जाँदा झन् असहज हुन्छ भनेर शरीरले जनाउ घन्टी लगाइसकेको थियो।

आफ्नो बायाँपट्टि मुन्टो फर्काएँ, पल्लोपट्टिको दोस्रो बेन्चमा बस्ने साथीतर्फ। कलेजका अक्सर साथीमध्ये ऊसँग अलिक नजिक थिएँ, त्यसैले पनि विश्वस्त थिएँ, उसले सहयोग गर्नेमा। मेरो निन्याउरो अनुहारमा उसका आँखा ठोक्किए। त्यही मौका छोपेर गाह्रो भएको इशारा गरेँ। बोलेर भन्न सक्ने तागत थिएन, अझ भन्दा मेरो आवाज ऊसम्म पनि पुग्न नसक्ने गरी दबिइसकेको थियो। उसले इशाराकै भरमा बाहिर निस्किम् भनेर सोधी, मैले पनि इशारामै जवाफ दिएँ, हुन्छ।

जसरी रातो टीकाले हाम्रो निधार रंग्याउँछ नि, त्यसैगरी महिनावारीमा बग्ने रातो रगतले सारा सृष्टि रंग्याउँछ। जसरी मोहनी लगाउँछ नि उदाउन अनि अस्ताउन लागेको रातो घामले, त्यसैगरी मोहनी लगाउँछ महिनावारी हुन पाउँदाको खुसीले पनि।

ऊ त सरको अनुमति पनि नलिई बाहिर पुगिसकिछे। सरको अनुमति लिएर एउटा हातले पेट र अर्को हातले निधार समाउँदै म पनि कक्षा बाहिरसम्म गएँ।

छात्राका लागि छुट्याइएको शौचालय पुग्न दुई तला तर ओर्लेर लगभग सय÷डेढ सय मिटर हिँड्नुपथ्र्यो। भर्‍याङ ओर्लिन सक्ने अवस्था त टाढाको कुरा, सोच्नसम्म सक्ने अवस्थामा थिएनन् तन र मन दुइटै।

त्यो सबैको विकल्प थियो, स्टाफ शौचालय। साथीले समाउँदै लगी। उसै त शरीरको पीडा, त्यसमाथि ट्वाइलेटको अस्वाभाविक गन्ध। तर परिस्थितिले गन्धलाई खासै मतलब गरेन, र त मेरो शरीर कत्ति अबेर नगरी ट्वाइलेटभित्र कैद भयो। तर कैद पनि कसरी भन्नु, केही अप्ठेरो परिहाल्छ कि भनेर ट्वाइलेटको चुक्कुल नलगाएपछि। बरु सँगै गएकी साथीलाई ट्वाइलेटको ढोकाबाहिर उभिएर चौकीदारी गर्न लगाएँ।

ट्वाइलेटभित्र पुगेकी मात्रै के थिएँ, एक्कासि पेट हुँडलिएर आयो, पेटभित्र रहेका खानेकुरा विकार बनेर मुखबाट निस्किए। तर, सँगै जोडले दुखिरहेको तल्लो पेटलाई भने त्यसको कुनै पर्वाहै थिएन। बस् व्यस्त थियो त, दुःखाइको गतिलाई अझै तीव्र बनाएर महिनावारी क्रियालाई स्वागत गर्न।

शरीरको त्यो पीडाले गर्दा आँखाअघिका सबै चीज धमिलो देखिन थालिसकेको थियो नै, एक्कासि मन पनि अमिलो भयो, जब ट्वाइलेटको धारामा पानी आएन।

सकीनसकी बाहिर बसेकी साथीलाई पानी नभएको जानकारी गराएँ। तर जानकारी गराएर पनि के गर्नु, पानी नै नभएपछि, धारा नै सुकेपछि। तैपनि उसले पानी खोजेर ल्याउने आश्वासन दिलाई र एकछिनलाई ट्वाइलेटको ढोका बन्द गरेर बस्न लगाई। आफूभित्र ढोका बन्द गर्न जान सक्ने तागतसमेत रत्तिभर थिएन। तैपनि एउटा हातले पेट अनि अर्को हातले ट्वाइलेटको भित्ता समाउँदै बिजोग अवस्थामा उठेँ र ढोकाको चुकुल लगाएँ।

चुकुल लगाएर बल्लतल्ल बसेपछि मनमा झनै छटपटी बढ्न थाल्यो। अनेक तर्कना खेल्न थाले। केही भई पो हाल्छ कि, यहीँभित्र केही भयो भने कसरी बाहिर निकाल्लान्। साथी पानी लिएर आउँदा ढोका खोल्न उठ्न सक्छु कि सक्दिनँ, आदि इत्यादि। किनकि शरीरमा शिथिलताको गति क्रमशः बढ्दै गइरहेको थियो।

केही बेरमा साथी आई, अघिको भन्दा झन् बेसी पीडा सहँदै ढोकाको चुकुल खोलेँ। उसको हातमा किनेर ल्याएको एक बोतल खानेपानी थियो। पानीको अगाडि पनि आफूलाई निरीहजस्तै महसुस भयो। तर के गर्नु, हालत नै त्यस्तै भएपछि निरीहपनलाई पनि कहिलेकाहीँ स्वीकार गर्नुपर्ने रहेछ। मैले पनि स्वीकार गरेँ अनि अघिकै जस्तो गरी साथीलाई चौकीदारी गर्न लगाएर आफ्नो सरसफाइ गरेँ। तर तल्लो पेटको दुःखाइले दिएको पीडा पखाल्न त, पानीकै मुहानले पनि सक्दैनथ्यो।

भलै महिनावारीमा हुने शारीरिक पीडा दबाउन बजारमा औषधि उपलब्ध छन्। तर त्यस्ता कतिपय औषधिको साइड इफेक्ट अर्को दीर्घकालीन पीडाको प्रवेशद्वार हो। फेरि औषधि खाएर पेटको दुःखाइ पखाल्न सकिने अवस्था भइहाले पनि सन्तोषको सास फेर्न पाउने भए पो !

जुनसुकै अवस्था अनि स्थानमा हुनसक्ने महिनावारी, महिनावारीसँगै जोडिने दुःखाइ अनि दुःखाइसँगै बग्ने रातो रगतमा सदियौंदेखि जेलिएर बसेका कुरीति, अन्धविश्वास अनि छुवाछूतले जन्माएका दुःखको पहाड त झन् तल्लो पेटको दुःखाइभन्दा पनि कहालीलाग्दा अनि टिठलाग्दा छन्।

११ वर्षे कलिलो उमेरदेखि नै भोग्दै आएको यो दुःखाइले आजसम्म पनि मलाई बारम्बार गिजोलिरहन्छ। महिनावारी भनेकै के हो भनेर बुझ्ने उमेर नहुँदै आमा, हजुरआमा, काकी, भाउजू, ठूलीआमा, सानिमाहरूले महिनावारीलाई पाप, लाज अनि अलच्छिनसँग जोडेर गरेको व्याख्याले अझै पनि मन तर्साइरहन्छ। खोइ कुन्नि महिनावारीबारे बाबा, हजुरबा, दाइ, काकाहरूको कस्तो धारणा थियो। उहाँहरूलाई यसबारे सोध्न सक्नु त टाढाको कुरा, सोध्छु भनेर सोच्नुसम्म पनि अभिशाप थियो। साँच्चै सोधिहालेको भए, कस्तो धारणा व्यक्त गर्नुहुन्थ्यो होला ?

उमेर बढ्दै गयो, सँगै बढ्यो ज्ञान अनि सही–गलत छुट्ट्याउन सक्ने चेत पनि। अनि पो बल्ल थाहा पाएँ— महिनावारीबारे आमाहरूले भनेका, होइन सिकाएका ती कुराहरू झुटा हुन् भन्ने। सँगै थाहा पाएँ— महिनावारी प्राकृतिक प्रक्रिया हो, अनि महिलाको प्रजजन क्षमता विकास हुने प्रक्रिया हो भनेर। अनि त्यति बेलै बल्ल थाहा पाएँ— महिनावारी भएको छु भनेर कसैलाई भन्दा लाज मान्नु नपर्ने रहेछ भनेर। त्यही पछिल्लो सिकाइ अनुसरण गरिरहेकी छु। अनि महिनावारीको समयमा हुने शारीरिक दुःखाइ सहे पनि योसँग जेलिएका कुरीति अनि अन्धविश्वासको दुःखाइ सहँदिनँ भनेर आफ्नो ठाउँबाट प्रयास पनि गरिरहेकी छु (ती प्रयासका सफलता अनि असफलता अर्को छलफलको विषय बन्छ )।

तर बाल्यावस्थामै मनमा गडेका ती झुटा सिकाइले मलाई अझै पनि महिनावारीको समयमा भान्सामा खाना पकाउँदा होस् वा मन्दिर अनि भगवान् पुज्दा होस्, भाइसँगको झगडामा छोइँदा होस् वा बाबासँगै खाना खाँदा होस्, श्रीमान्सँगै बस्दा होस् वा चोखो भनिएका केही चिजमा शरीरका कुनै अंगले स्पर्श गर्दा होस्, पाप लागिहाल्छ कि, केही नराम्रो पो भइहाल्छ कि भनेर कताकता मनमा बिझाइरहन्छ, तर्साइरहन्छ। अनि झ्वाट्ट झ्वाट्ट याद आइरहन्छ— भर्खर भर्खर महिनावारी हुँदा छुन नहुने भनिएका चिज अनि मान्छेलाई नजानेरै छोइँदा पनि आमाहरूले हजुरआमाहरूले पाप, लाज अनि अलच्छिनपनसँग जोडेर गर्ने नमीठा अनि घिनलाग्दा गालीहरू।

सायद मलाई जस्तै अधिकांश छोरीलाई अनि स्वयं तिनै आमा, हजुरआमा, सानिमा, ठूलीआमा, काकी र भाउजूहरूलाई पनि त महिनावारीसँग जोडिएका यस्ता भ्रम, कुरीति, कुसंस्कार र गलत सिकाइहरूले मन अनि शरीर दुःखाएको हुँदो हो, बिझाएको हुँदो हो।

तर पनि किन हामी त्यही भ्रमलाई आँखा चिम्म गरेर अंकमाल गर्छौं अनि किन त्यही कुरीति अनि कुसंस्कारलाई काखी च्याप्न सिकाउँछौं भर्खर महिनावारी भएका र हुने उमेर पुगेका नानीहरूलाई ? किन संकोच र लाज मान्न सिकाउछौं महिनावारीका बारेमा बाबालाई, हजुरबालाई, दाइभाइलाई भन्न ? अनि किन महिनावारीमा बग्ने रातो रगत देखिने गरी लुगामा लाग्दा अभिशापको संज्ञा दिन्छौं ?

कहिल्यै सोच्नुभएको छ, तपाईंले दिनुभएको त्यस्ता सिकाइले हुर्किंदै गरेका अबोध नानीहरूको, छोरीहरूको मनमा पछिसम्म पनि कति र कस्तो असर पुर्‍याउँछ भनेर ? त्यसैले बस् एकपटक एक्सपेरिमेन्ट गरेर हेरौं न, हामीले सालौंदेखि विश्वास गर्दै आएका महिनावारीका भ्रमलाई अविश्वास गरेर, महिनावारीसँग जोडिएका कुरीतिलाई पालना नगरेर। त्यसपछि थाहा हुन्छ हामीलाई, जसरी रातो टीकाले हाम्रो निधार रंग्याउँछ नि, त्यसैगरी महिनावारीमा बग्ने रातो रगतले सारा सृष्टि रंग्याउँछ भनेर।

अनि जसरी मोहनी लगाउँछ नि उदाउन अनि अस्ताउन लागेको रातो घामले, त्यसैगरी मोहनी लगाउँछ महिनावारी हुन पाउँदाको खुसीले पनि।

साँच्चै, उमेरसँगै आफ्नो प्रजनन क्षमतालाई प्राकृतिक तरिकाले विकास गराउँदै सृष्टि सिर्जना गर्न पाउनु। अनि महिनावारी भएकै कारण आफैंलाई पनि आमाको रूपमा जन्म दिन पाउनु। सोच्नुस् त कति गर्वकोे कुरा हो, हामी छोरीहरूका लागि।

तैपनि किन हामीले महिनावारीलाई भ्रमसँग जोडेर, कुरीतिसँग गाँसेर अन्धविश्वासहरूलाई प्र श्रय दिइरहने ?

किन पुर्खाले सिकाएका हुन् नि भनेर गलत कुरालाई आँखा अनि दिमाग चिम्म गरेर अंकमाल गरिरहने ?

सोच र व्यवहार बदलेर हेरौं न, महिनावारीसँग जोडिएको भ्रमले दुःखाउन छोड्छ, कुरीतिले गिज्याउन छोड्छ, अनि अन्धविश्वासले पछ्याउन छोड्छ; मात्रै दुखाउँछ त महिनावारी हुँदाको शारीरिक पीडाले।

लेखक ‘साथीसँग मनका कुरा’ रेडियो कार्यक्रमकी प्रस्तोता हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.