सानो कुरा

सानो कुरा

‘एसएलसीले स्वरूप फेरेर एसईई बनोस् या अरू केही, यो हाम्रो नबदलिने संस्कार बनिसकेको छ । फरक केवल यति हो कि पहिले ग्रेड र डिभिजन थिए, अहिले जीपीए बनेका छन् ।’आफ्नो फेसबुक स्टेट्समा लेखेकी रहिछन्, साथी ऋचाले । 

कुरो सही हो, समयसँगै यसमा जतिसुकै परिवर्तन आए पनि विद्यार्थी र तिनका अभिभावकमा त्यो परिवर्तन खासै घुसेको छैन । उहिले आइरन गेट मानिने एसएलसीको महत्व घटेको छैन । यसको सफलतामा मात्तिने र असफलतामा आत्तिने उत्तिकै छन् । (न)बदलिँदो नेपाली समाज ! 

अभिभावकको हर्षोल्लासले छाएको स्टेटस सामाजिक सञ्जालभरि छरपस्ट भएको देखेपछि मनमा उनले कुन ग्रेड ल्याइन् होला भन्ने कौतूहल हुनु मेरा लागि स्वाभाविक थियो । गुरुहरू र विद्यालयले उनीमाथि राखेको आशमा खरो उत्रनुपर्ने थियो । मलाई भने विश्वास थियो- राम्रो गर्नेछिन् । 

जब मैले फोन गरेँ, उनको आवाजमा खासै प्रसन्नता पाइनँ । बरु मलीन थियो स्वर : ‘३.५ आयो म्याम ।’
‘त्यो भनेको राम्रो हो कि ठिकै ? ’ ‘राम्रो हो, सरहरूले आइतबार बोलाउनुहुन्छ होला स्कुलमा ।’‘ल बधाई छ, कलेजबारे चिन्ता नगर्नू । म कुरा गरिरहेकी छु ।’फोन राखेँ । मन भने राखिएन, उडिरह्यो अनेक कुनाकुना । मन अमिलियो । 

दुई हप्ताअघि उनलाई भेट्दा उनले आफ्नो पिताको आर्थिक अवस्था र साइन्स पढेपछि फार्मेसी पढ्ने लक्ष्य हुँदाहुँदै पनि घाँटी हेरेर हाड निल्नुपर्ने कुरा गरेकी थिइन् । त्यति बेला मलाई लागेको थियो- केटी साँच्चिकै ठूली भइछन् । 

राम्रो ग्रेड आएमा साइन्स नै पढ्नुपर्ने भन्ने विश्वास भने समयले काँचुली फेरिसक्दा पनि परिवर्तन नभएको कुरामा एकछिन घोत्लिएँ । पहिलेजस्तो अब्बल दर्जामा उत्तीर्ण हुने विद्यार्थीले साइन्स नै पढ्नुपर्छ भन्ने छैन । प्लस टु सकिएपछि धेरै टेक्निकल विषय छन् पढ्नलाई । तीमध्ये आफूलाई केमा रुचि छ भन्ने बुझ्न जरुरी छ भन्ने कुरा धेरै बेर छलफल गरेथ्यौं हामीले। 

अन्योलमा परेकी उनलाई यत्रो वर्षपछि आएर हरेश खान कदापि दिन्नँ- मैले मनमनै सोचेँ ।सात वर्षजति पहिले जाऊँ। रिडर्स क्लबका साथीहरूसँग नाङ्लेभारे गएकी थिएँ । त्यहाँ धेरै अध्ययनशील युवा रहेको कुरा त्यहीँ घर भएका गणेश दंगाल भाइ (जो रिडर्स क्लबका सदस्य पनि थिए)ले भनेका थिए । हामी चापाबोट माविमा एकछिन कविता वाचन र भलाकुसारी गरेपछि त्यहाँको स्थलगत अध्ययन गर्न निस्केका थियैाँ । त्यहाँ रमेश तिवारीजीसँग पहिलो भेट भएको थियो । उहाँले नै हाम्रो खनपिनको 
बन्दोबस्तको जिम्मा लिनुभएको थियो । 

चौतारीमा रहेको विद्यालय र केही सानातिना पसलबाहेक नाङ्लेभारेमा खासै केही थिएन । चिया पसलबाहिर केही महिला गफिँदै थिए । सँगै गएका साथीहरू कोही कतै, कोही कतै लागे । मैले ती महिलासँग फोटो खिच्न खोज्दा एकजनाले भनिन्, ‘हामीजस्ता सँग पनि के फोटो खिच्नुहुन्छ र ?’
‘किन र ?’

जे जवाफ सुनेँ, म छक्क परेँ । राजधानीमै हैन, लाजधानीमा छु जस्तो लाग्यो मलाई । 
‘तल्लो जातको’ र आफूहरूले छोएको पानी नचल्ने कुरा सुन्दा मलाई पत्याउनै कस्तो कस्तो सकस भयो । यो कस्तो कुरीति, अन्धविश्वास । राजधानी सहरनजिकै त्यो पनि एक्काइसौं शदीमा । 
पछि उनीहरूबाट नै थाहा पाएँ- चियापसलमा चिया पिएपछि उनीहरूले आफ्नो जुठो गिलास माझेर घोप्टो पार्नुपर्ने रहेछ । यत्तिकैमा मलाई बच्चाहरू असाध्यै मन पर्ने भएकाले केही ससाना केटाकेटी देखेपछि उनीहरू भएतिर लागेँ । मसँग अरू दुईजना साथी पनि थिए । 

त्यहीँ मेरो उनीसँग पहिलो भेट भएको थियो । जो म माथि कुरा गर्दै थिएँ नि । गफको सिलसिलामा मैले सोधेँ, ‘तिमीहरू कहाँ पढ्छौ, के हो नाउँ ?’अरूभन्दा अलि चलाख देखिने उनले अरूलाई पालै नदिई भन्न थालिन्, ‘मेरो नाम रबिना नेपाली, म चापाबोट माविमा कक्षा २ मा पढ्छु । यिनीहरू मेरा दाजुभाइ, यिनीहरूचाहिँ यही बोर्डिङमा पढ्छन् ।’ आफ्नो पछाडिको दुई कोठाको सानो घर देखाउँदै उनले भनिन् । 

‘अनि तिमीचाहिँ किन बोर्डिङमा नपढेको ?’‘खोइ कुन्नि त, बाआमाले पढाउन नसकेर त होला नि । घरको काम पनि सप्पै मै गर्छु, अनि क्लास फस्ट पनि मै आउँछु ।’सुनेर मलाई खुसी लाग्यो, दुःख पनि लाग्यो । 
लुगा सिलाउने काम गर्ने उनका पिताका घरमा अरू साथीहरू पुग्नुभएको रहेछ, पछि थाहा भयो ।
 मलाई भने यो कुराले निकै पोल्यो ।

यति सानो उमेरको बच्चालाई थाहा हुनु नपर्ने हो, छोरा र छोरीबीचको भेदभाव । आखिर छोरीको जात अर्काको घर गरेर खाने, पेट काटीकाटी बोर्डिङमा पढाएर पनि के गर्नु, सायद यस्तै सोचे होलान् उनका बाबुआमाले । 
एकछिन यस्तै कुरा गर्दै स्थानीयवासीको जीवनशैली अवलोकन गरेँ । समय कटेको पत्तै भएन । साँझ पर्न लागिसकेकाले हामी काठमाडौं फर्किनुपर्ने थियो । हामी सबै एकपल्ट फेरि चापाबोट माविमा जम्मा भयौं । 

हल खचाखच थियो । हामी त्यहाँ एक दिनका लागि के गर्न आएका रहेछौं भन्ने चासो थियो सबैको । कोही झ्यालमा झुन्डिएर भित्र चिहाइरहेका थिए । एकछिन नाचगान गरे साथीहरूले । क्लबको नेतृत्व गरेका सुमन घिमिरेले सबैलाई धन्यवाद दिँदै सफल भएको कुरा गरे । त्यहाँ शिक्षाका लागि पठन संस्कृतिको माध्यमबाट के के गर्न सकिन्छ भने । 

यत्तिकैमा मेरो आँखा आमाको धोतीको सप्को समाती उभिएकी रबिनामाथि पर्योप । मनमा एक्कासि के आयो कुन्नि, भनेँ, ‘यी नानीले बोर्डिङमा पढ्ने ठूलो रहर गरेकी रहिछन् । उनलाई कक्षा १० सम्म बोर्डिङमा पढाउने जिम्मा मेरो ।’मेरो कुरा सुन्दा ढुक्क भएर खुइय्य गरेर छाती फुलाएकी रबिनाको खुसीको भाव मैले जिन्दगीमा कहिल्यै बिर्सनेछैन । कोठाबाहिर आउँदा सबै झुम्मिए । 

‘मेरो छोरो नि राम्रो पढ्छ । यति कक्षामा पढ्छ ।’ कति छिट्टै रबिनाको बुवासम्म खबर पुगिसकेछ । उनी दौडेर हामी भएतिर आए र कृतज्ञ भए । रमेशजीले रबिनाको पढाइको चाँजोपाँजो मिलाउने जिम्मा लिएपछि हामी निर्धक्क भएर काठमाडौं फर्कियौं । 
 
त्यसपछि रबिना हिलसाइड एकेडेमी, जहरसिंह पौवामा पढ्न थालिन् । उनी हरेक दिन लगभग आठ किलोमिटर बस चढेर स्कुल जानुपर्थ्यो। आफ्ना छोराछोरी पनि त्यही बोर्डिङमा पढिरहेका र आफू पनि त्यहीँ आबद्ध भएका रमेशजीले रबिनाको बस फी फ्री गरी मलाई अरू धेरै सहयोग गर्नुभयो । उहाँसँग समय समयमा सम्पर्क हुँदा रबिनाको पढाइ सधैं अब्बल रहेको र डबल प्रमोसनसमेत भएको कुरा सुनाउनुहुन्थ्यो । यो सुनेर सधैं मनमा एक किसिमको आशा पलायो । 

मलाई रबिनाले गर्नुपर्ने त केही थिएन तर जीवनमा केही बन्न सके सायद उनले पनि आफूजस्तै पढ्न वञ्चित कसैलाई भविष्यमा सहयोग गर्नेछिन् । 

आफू सधैं नाङ्लेभारे गइरहन नपाए पनि रमेशजीले सहयोग गर्न कहिल्यै हिच्किचाउनुभएन । समयमा पैसा नपुगेर उनको पढाइमा कहिल्यै अवरोध भएन । धेरै अर्थमा म उहाँलाई रबिनाको अभिभावक सम्झन्छु । उहाँको सहयोग र कठिन परिस्थितिमा हौसला नहुँदो हो त रबिनाले आज यो दिन देख्न गाह्रो हुन्थ्यो होला । बीचबीचमा समय मिल्दा कहिले नाङ्लेभारे त कहिले जहरसिङ पौवासम्म गएर रबिनाको पढाइबारे बुझिरहेकी हुन्थेँ । 

२०७२ सालको भूकम्पले सबैतिर ल्याएको विनाशबाट रबिनाको परिवार प्रभावित भयो । रमेशजीले पनि आफ्नो सन्तान गुमाउनुभयो । भूकम्पलगत्तै रबिनाले आफ्ना बज्यै अनि आमा गुमाइन् । 

अब उनलाई स्कुलको मात्र नभई घरव्यवहारको पनि जिम्मा या भनौं भार थपिएको थियो । धन्न हिलसाइड बोर्डिङ स्कुलले उनका बाबुलाई भने सम्पूर्ण विद्यार्थीको लुगा सिलाउने काम दिएको थियो । भूकम्पपछि स्वास्थ्य र पारिवारिक कारणले मानसिक तनावमा थिइन् उनी । यिनै कारण महिनौंसम्म स्कुल जान नपाउँदा पनि सधैं अब्बल दर्जामा आउँथिन् उनी । यसमा उनको मेहनत त छँदै थियो, त्यसको श्रेय उनको स्कुल र त्यहाँका गुरुहरूलाई पनि जान्छ । 

भूकम्पपछि धेरैको मनोबल टुटेको थियो । त्यही कुरालाई सामान्यीकरण गर्न फेसबुकमा रहेको अनौपचारिक समूह बुकाहोलिक्स समूहले हिलसाइड एकेडेमीको पुस्तकालयमा सहयोग गरेको थियो । हामीले लेखकद्वय नयनराज पाण्डे र विपुल सिजापतीसहित कथा भनी विद्यार्थीहरूसँग रमाइलो गरेका थियौं । 

पुनम राणाको नेतृत्वमा शिक्षामूलक पपेट सो पनि गरेका थियौं । यसमा हामीलाई केही लेखक, प्रकाशक र पाठक साथीहरूले सहयोग गर्नुभएको थियो । केही समयअघि यही सबै देखेर एक जना साथीले त्यहाँ भएका अरू कोही विद्यार्थीलाई सहयोग गर्न पाए गर्थें भन्नुभयो । तर हालसालै रबिनाले भनेपछि थाहा पाएँ, उहाँले आफ्नै समुदायकोलाई मात्र सहयोग गर्ने भन्नुभएछ । दुःख लाग्यो । त्यसपछि हामी पढेलेखेका कहलिने मूर्ख अझै यस्ता कुरामा अल्झिँदा रहेछौं भन्ठानेँ । 

दस वर्षको मेरो शिक्षण अनुभवमा अनेकौं किसिमका विद्यार्थी भेटिए । धेरैको आर्थिक अवस्था कमजोर थियो । तीमध्ये एउटी विद्यार्थी कस्ती थिइन भने उनले सेमेस्टर फी डबल लिएर घरकालाई स्कुल नआउन थर्काएर राखेकी थिइन् । अहिलेको समयमा पढाइका लागि धेरै विकल्प छन् । तर कुनै ठोस निर्णय गर्न सानै उमेर, आफूले इच्छाएको र अभिभावकले चाहेको कुराबीच सामञ्जस्य नमिल्दा धेरै विद्यार्थी मानसिक तनावमा छन् । यहाँ सोच्नै नपर्नेदेखि लिएर घाँटी हेरेर हाड निल्नुपर्ने बाध्यता भएका असंख्य छन् । यस्ताका हुलमा ती होनहार तर असमर्थताका कारण पढाइ रोक्नुपर्नेहरू पनि धेरै छन् । जातभात, समुदाय, लिंगबाट माथि उठेर रबिना नेपालीजस्ता विद्यार्थीलाई अलिकति सहयोग गर्न चाहने कोही हुनुहुन्छ भने अगाडि बढ्नुहोस् । रबिनाको पढाइ रोकिनेछैन ।

लेखक अध्यापक तथा पुस्तक पढ्नेहरूको अनौपचारिक समूह बुकाहोलिक्सकी संस्थापक हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.