अँधेरी गाउँको कथा
हाम्रो नेपाली समाजमा शोषित र दमित जीवन बाँचिरहेका मानिसको कथालाई भूपिनले कलात्मक ढंगले चित्रण गरेका छन् आफ्नो पहिलो उपन्यास मैदारोमा। उनले चित्रकलालाई यो उपन्यासमा अग्रस्थान दिएका छन्। यसलाई जनजीवनको वास्तविकतासँग जोड्ने प्रयास गरेका छन्।
उल्टो पेन्टिङको बयान जीवनको प्रतिकूल यथार्थको उदाहरण हो। सामाजिक कुप्रथाको विरोध र प्रतिरोध गर्न यो चित्रकारिता बलियो खम्बाका रूपमा उभिएको छ। धूमिल दिनलाई मन पराउने यी कवि उपन्यासकार भन्छन्, ‘यस्तो दिन एकान्तमा बसेर स्मृतिका न्याना प्रदेशहरूमा विचरण गर्न मन लाग्छ।’ क्यानभासमा जिन्दगीको रङ पोतेर उनी अक्षरयात्रा गरिरहेका छन् यो पुस्तकभित्र।
लेखाइमा जादु छ। पढ्न थालेपछि पूरा नगरी छोड्न मन लाग्दैन्। कुनै पनि समाजको संस्कारले त्यहाँका मानिसको जीवनमा पार्ने प्रभावप्रति लेखक गम्भीर छन्। उनको उपन्यासभित्रका पात्रहरू जीवनको अँध्यारो र उज्यालो पक्षमा लुकामारी खेलिरहेका छन्। यार्लिङ लगाएकी केटी र मोनालिसाको सुन्दरताको व्याख्या अभुतपूर्व छ।
युवतीको सुन्दरतालाई उनले चित्रकलासँग यसरी तुलना गरेका छन्, ‘यो केटी ग्यालरीमा नसजाइएकी लाइभ पेन्टिङ हो। म त्यही लाइभ पेन्टिङको अनुहारमा फ्रिज भएँ।’
चित्रकारिताको रङमा उनले जीवनको विसंगतिवादलाई जादुमय तरिकाले घोलेका छन्। लियोनार्दो दा भिन्सी र पाब्लो पिकासो पनि यो उपन्यासका अमर पात्र बनेका छन्। यस कृतिका चित्रकार नदीन दार्शनिकता र निस्सारताका परिचायक हून्।
नदीनलगायत जीवनप्रति सम्मोहनरहित भएका पात्रले पाटेभीरमा गएर आत्महत्याको बाटो रोजेका छन्। उनले आत्महत्या स्थल र यसलाई कलात्मक तरिकाले बयान गरेका छन्। आत्महत्या गर्ने बेलामा नदीन सार्कीले जिन्दगीलाई मार्मिक तरिकाले सम्बोधन गरेका छन्, ‘ए जिन्दगी ! मलाई माफ गर। मैले आत्महत्याको बाटो रोजँे।’
लेखकले आत्महत्याको माध्यममार्फत मृत्युको गहिराइलाई उत्खनन गर्ने प्रयास गरेका छन्।
ब्राह्मण युवतीले अछूतसँग प्रेम गरेका कारण अछूतहरूका लागि यो गाउँ— अँधेरी। अछूत युवकले प्रेमकै कारण आत्महत्या गर्नु परेकाले अछूतहरूका लागि यो गाउँ— अँधेरी।
भोक र प्यासलाई लेखकले निक्कै मीठो तरिकाले परिभाषामा ढालेका छन्, ‘भोक र प्यास शरीरका पाहुना हुन्। जसलाई जति नै कंगाल भए पनि हरेक मानिसले खातिरदारी गरिरहनुपर्छ।’ उनले आञ्चलिक भाषालाई पनि टपक्क टिपेर उपन्यासमा सजाएका छन्, ‘करङका नसानसा दुखिच्चन् बूढी आज। रौैसी नखाए त सुत्न सउतिनँ।’
राजा वीरेन्द्र र रानी ऐश्वर्य गाउँमा आउँदा जनताको मनमा छाएको खुसीको चित्रण सजीव छ तर त्यहाँ पनि जातीयताको भावनाले त्यो खुसीको रौनकलाई धमिल्याएको छ। दलितले राजारानीलाई फूल दिँदा पनि छोइने अवधारणाले त्यो समयको र अझ पनि यो समयको जातीयताप्रतिको संकुचित मानसिकतालाई लेखकले प्रस्ट पार्न खोजेका छन्।
यस किताबभित्रको मुख्य पृष्ठभूमि अँधेरी गाउँलाई लेखकले मर्मस्पर्शी शैलीमा परिभाषित गरेका छन्। ‘जनावरहरू पो पेटको खाना उग्राएर बाँच्छन्, मनमस्तिष्कले चल्ने मानिस र मानिसहरूले बनेको गाउँ असल खराब स्मृति, सोच, विचार र अनुभवका कथैकथा उग्राएर बाँच्छ। थाहा छैन, कति समयदेखि यस्ता कैयन कथा उग्राएर बाँचिरहेथ्यो अँधेरी गाउँ।’ यसको नामकरण कसरी अँधेरी रह्यो ? लेखक एक ज्येष्ठ नागरिकमार्फत यो यथार्थलाई प्रस्ट पार्छन्, ‘ब्राह्मण युवतीले अछूतसँग प्रेम गरेको कारण अछूतहरूका लागि यो गाउँ— अँधेरी। अछूत युवकले प्रेमकै कारण आत्महत्या गर्नु परेकाले अछूतहरूका लागि यो गाउँ— अँधेरी।’
दलित युवा र ब्राह्मण युवतीबीचको प्रेमकथाले ‘प्रेम कुनै बन्धनमा बाँधिन सक्दैन, सिमानामा सीमान्तीकृत हुन सक्दैन। यो कुनै पनि मापदण्डभन्दा माथिको भावना हो’ भन्ने विचारलाई प्रस्ट्याउन खोजेको छ। प्रेम सम्बन्धले उत्कर्ष रूप लिएपछि कथित अन्तर्जातीय जोडीले यौनसम्बन्ध राख्दा पुरुषको लिंगसम्म काटिएको उदाहरण लेखकले प्रस्तुत गरेका छन्।
विद्यमान सामाजिक प्रथाविरुद्ध आवाज उठाउँदा क्रान्तिकारी पात्रलाई जेल चलान गरिन्छ। प्रधानपञ्च हिक्मतसिंह खलपात्रका रूपमा उपस्थित छन्। उनी थानेदरलाई भन्छन्, ‘व्यवस्थाविरुद्ध नाराबाजी गर्ने यी मच्छडहरूले ? थानेदार साप, यिनीहरूलाई गतिलो सबक सिकाउनुस्। म गएँ।’
कल्पना गरेजस्तो सुन्दर चित्रलाई यथार्थमा उतार्न गाह्रो हुन्छ यी शब्द चित्रकार भूपिनको विचारमा। यसै सिलसिलामा उनी भन्छन्, ‘कल्पना गरेजस्तो सुन्दर पेन्टिङ बनाउन त धेरै मुश्किल। वास्तवमै यथार्थभन्दा कल्पना धेरै सुन्दर छ। हरेक सिर्जना कल्पनाको निकट पुग्ने प्रयत्न मात्र हो।’ उनको यो विचार उपन्यासका घटनाक्रमसँग सिलसिलाबद्ध ढंगले मेल खाएझैं लाग्छ।
‘मैदारो’को शाब्दिक अर्थ रोपाइँ सक्नु हो। यो उपन्यासमा शीर्षकको सार्थकता हाम्रो समाजको रूढिवादी सोच र व्यवहारको अन्त्य अर्थात् ‘मैदारो’ गर्र्नु हो। घटनालाई बयान गर्ने लेखकको शैली चामत्कारिक छ। भावनाको कलाले सिँगारेर उनले यो कृतिलाई निकै सुन्दर बनाएका छन्।
विभिन्न किसिमका चित्रसँग उनले जीवनको हरेक आयामलाई जोड्ने प्रयास गरेका छन्। मैन पेन्टिङ, एक्सपेरिमेन्टल पेन्टिङ, एब्स्ट्र्याक्ट पेन्टिङ, उल्टो पेन्टिङ आदि।
समग्रमा कृति पठनीय छ, सलल बगेको छ। जीवन, कला, प्रेम, समाज र आञ्चलिकताको कथा हो— मैदारो। हामीले पनि यसलाई पढेर हाम्रो समाजको कुसंस्कारको मैदारो गर्नैपर्छ।