स्तनपान कक्षले महिलालाई सहज
अछाम : साँफेबगर नगरपालिका–६ भागेश्वर स्वास्थ्य चौकीकी अनमी कृष्णा बूढा मगरकी ९ महिने छोरी छिन्। उनी दैनिक छोरी ऐश्वर्यालाई कार्यालयमा साथमै लैजान्छिन्। सेवाग्राहीको भीड लाग्दा छोरीलाई दूध खुवाउन असहज हुन्थ्यो। तर, कार्यालयमै स्तनपान कक्ष निर्माणसँगै राहत महसुस भएको उनले बताइन्।
‘सेवाग्राहीको भिडभाडमा छोरीलाई दूध चुसाउनुपथ्र्याे। पुरुष सहकर्मीका अगाडि लाज लाग्थ्यो’, उनले भनिन्, ‘छोरीले दूध राम्ररी खाइरहेकी छ कि छैन भन्ने थाहा हँुदैनथ्यो। स्तनपान कक्ष भएदेखि सजिलो भएको छ। अब छोरीलाई जति बेला पनि सहज तरिकारले दूध चुसाउन सक्छु।’
नगरपालिका कार्यालय, वडा नम्बर ६ भागेश्वरको कार्यालय, स्वास्थ्य चौकी र वडा नम्बर १ वैद्यनाथको कार्यालयमा स्तनपान कक्ष निर्माण गरिएको छ। बच्चा भएका महिला कर्मचारी र नगरपालिका, वडा कार्यालय र स्वास्थ्य चौकीमा पुग्ने सेवाग्राहीका लागि स्तनपान कक्ष निर्माण गरिएको हो। कक्षमा एकैपटक चार जनासम्मले स्तनपान गराउन सक्ने ठाउँ छ। सुत्केरी बिदापछि काममा फर्किनुपर्दा कार्यालयमा सेवाग्राही र पुरुष कर्मचारीका बीचमा बसेर स्तनपान गराउन समस्या हुन गरेको थियो। त्यसपछि हरेक कार्यालयमा छुट्टै स्तनपान कक्ष नगरपालिकाले बनाउन सुरु गरेको हो।
बालबच्चाका लागि आमाको दूध खाना र पोषण दुवै हो। विश्व स्वास्थ्य संगठनका अनुसार जन्मेको पाँच वर्षभित्र शिशुको ९० प्रतिशत मानसिक विकास हुन्छ । यसका लागि उसलार्ई अनिवार्य रूपमा पूर्ण स्तनपान गराउनुपर्ने साँफेबगर स्वास्थ शाखा प्रमुख सुरतबहादुर खड्काले बताए। ‘नवजात शिशुका लागि स्तनपान पहिलो खोप हो’, उनले भने, ‘उनीहरूका लागि आमाको दूधभन्दा पोसिलो चिज केही छैन ।’ आमाको दूधमा रोगनिरोधक तत्व हुने भएकाले कुपोषणबाट रोक्ने उनले बताए । उचित स्थान नहुँदा स्तनपान गराउने चलन घट्दै गएको छ । स्तनपानको अभ्यासमा सुधार गरे विश्वभर वार्षिक ८ लाख २० हजार बालबालिका बचाउन सकिने उनले बताए ।
साँफेबगरका मेयर कुलबहादुर कुँवरले कर्मचारी र सेवाग्राही दुवैलाई लक्ष्य गरी स्तनपान कक्ष निर्माण गरिएको बताए।