सहरको एउटा रसिक सहचालक

सहरको एउटा रसिक सहचालक

उपत्यकाका स्थानीय रुटमा चल्ने सवारी साधनका भित्ताभित्तामा टाँसिएको ‘जिब्रोको गरिमा मीठो बोलीमा’ भन्ने नारा यसरी नै सार्थक हुँदै जाओस्। सहचालकको साधारण पेसालाई प्रतिष्ठित बनाउन लागिपरेका यस्ता पात्रहरू सबैलाई सादर सलाम !

०००

जेठ १८ गते शनिबार। बेलुकी ६ बजे। झन्डै एक घण्टा अघिदेखि म काठमाडौंको रत्नपार्कमा रत्नजस्तै मूल्यवान् लाग्ने खाली सिटवाला बसको पर्खाइमा थिएँ। थानकोट जान बस कुर्नेको संख्या बीसौं भइसकेको थियो तर एउटै गाडी आइपुगेको थिएन।

कुर्दाकुर्दै गलेका कैयौं जोर खुट्टा घडीको घण्टा सुईजस्तै जडवत् भइरहेका थिए। नाडीमा टल्किएको घडी हेर्दै सबभन्दा अगाडि जाने गाडी चढ्न व्यग्र यात्रुको अनुहार मलीन हुँदै गइरहेको थियो। घण्टौंदेखि बस आउने बाटोतिर मुन्टो बटार्दै उभिएका तमाम प्रतीक्षारतहरू पीरनजिकै उभिएको वीर अस्पतालले मौन साक्षी भएर हेरिरहेझैं लाग्थ्यो।

जब एउटा पहेँलो गाडी थानकोटको नाम भिरेर हुत्तिँदै आइपुग्यो तब त्यसरी वेचैन भएर उभिएका यात्रुहरूले रत्नपार्कलाई एकाएक टुँडिखेल बनाइदिए गाडी चढ्ने दौडको म्याराथनमा भाग लिएर।

दौडको एउटा प्रतियोगी म पनि थिएँ। हामी सबै आउँदै गरेको बससँग जुधौंलाझैं गरी कुद्दै त्यही बसतिर दौडियौं। बाटो छेक्न पर्याप्त त्यो भीडलाई छल्दै बस अघि बढ्यो। पर्खिइरहेका त्यत्रा यात्रुलाई पछि पार्दै बस यसरी हुइँकियो कि मानौं ऊ पनि त्यो ‘जुलुस’लाई जित्ने म्याराथनमा सहभागी भएको थियो र उसलाई यात्रु नै चाहिएको थिएन।

रोकिनुपर्ने ठाउँभन्दा निकै अगाडि बढेर गाडी रोकियो। सिट पाए बस्न र नपाए उभिन ठेलमठेलका साथ दौडेका हामीहरू भीडमा कसैले कसैको पर्वाह नगरी धकेलाधकेल गर्दै बसभित्र छिर्ने यत्नमा लाग्यौं। सकीनसकी दौडिएको मलाई ज्यान सानो भएकै कारण मानिसहरूको बीचबाट सुत्त बसमा छिर्न सजिलो भयो।

धन्न मैले सिट पाएँ, त्यो पनि ढोकासँगैको ! त्यो एउटा सामान्य आसन मात्र थिएन। एक घण्टा अघिदेखि लगाएको रणनीतिको बलमा गाडी चढ्ने दौड जितेर पाएको इज्जतदार अवार्डजस्तै थियो त्यो।

तर एउटा मिनीबस भरिन त्यत्रो भीड चाहिएको थिएन। जति कोच्दा पनि आधा यात्रु मात्रै अटाए। बाँकीलाई आफ्नो भाग्य परीक्षाको अर्को अवसर छोप्ने मौका छाडेर हुइँकिएको बसमा पाइलोसम्म अटाउने ठाउँ बाँकी थिएन। यात्रुहरूबीच परस्पर चेपाचेपको त कुरै गर्नु परेन।

भार बढी भएको बस लर्बराउँदै सहिदगेट कटेर त्रिपुरेश्वर पुग्यो। एउटा पाइलो बसभित्र टेकेर अर्को पाइलो बसबाहिर हावामा हल्लाइरहेका सहचालकले कोचिएर उभिएका यात्रुहरूलाई मिलेर उभिइदिन आग्रह गरे। सार्वजनिक बसको यात्रामा अभ्यस्त कुनै पनि यात्रुलाई उनको आग्रह र आशय बुझ्न कठिन थिएन। यात्रुहरू बसको दायाँ र बायाँ फर्किएर दुई लेनमा उभिइदिए अझै एक दुईजना थपेर ढोका लगाउने ठाउँ पुग्छ भन्ने आशय उनको थियो।

पूर्वभोगाइका आधारमा मलाई ती सहचालकले अब उभिएका सबै यात्रुलाई अभद्र शैलीमा थर्काउँछन् भन्ने लाग्यो। तर आश्चर्य, उनले त एकदम अनौठो शैली पो अपनाए !

भर्खर किशोरावस्था काट्दै गरेका ती सहचालकले सबैभन्दा पहिले बसको ढोकानजिकै उभिएकी एक महिलालाई सोधे, ‘तपाईं काँऽऽ जाने आन्टी ? ’

महिलाले उत्तिकै मिजासिलो जवाफ फर्काइन्, ‘म थानकोट हो बाबु।’

हल्का हाँसो मिसाउँदै थप नम्र भएर सहचालकले फेरि भने, ‘थानकोट जाने भए, थानकोटतिरै फर्किएर उभिनुस् न आन्टी, काँऽऽ दक्षिणकालीतिर फर्किनु भा’त !’

सबै यात्रु गलल्ल हाँसे। सकसमा पनि यात्रु रिझाउने उनको मिजासिलो शैली साँच्चै नमुना थियो। पसिना, धुलो, धुवाँ अनि परस्परको ठेलमठेललाई चटक्कै बिर्सेर हामी सबैजना मज्जाले हाँस्यौं।

आफ्नो व्यवहारले सबै यात्रु खुसी भएको देखेपछि ती सहचालक अझ उत्साही भए। लगत्तै आडैमा उभिएका अर्का एक यात्रुलाई सोधे, ‘दाइ तपाईं काँऽऽ पुग्ने ? ’

ती यात्रुले आफू कालीमाटी ओर्लने बताए। बसका सिर्जनशील सहचालकबाट अब कस्तो जवाफ आउला भनेर हामी जिज्ञासु भइरहेका बेला उनले ती यात्रुलाई पनि कालीमाटी कता छ सम्झेर त्यतैतिर फर्कन आग्रह गरे। बसमा हाँसो त्यस बेला अझ चर्कोसँग गुञ्जियो जब ती यात्रुले सहचालकको आग्रहअनुसार कालीमाटीतिरै अनुहार पर्ने गरी फर्किएर ठाउँ व्यवस्थित गर्न सघाए।

त्यसपछि उनले अर्की महिलालाई सोधे, ‘दिदी तपाईं चैं काँऽऽ जाने ? ’ उनले मुसुमुसु हाँस्दै कलंकी हो भनिन्। सहचालकले उनलाई चाहिँ अलि कडा शैलीमा तर हाँस्न नबिर्सीकन भने, ‘कलंकी हो भने कलंकीतिरै फर्कनुस् न। कलंकी ओर्लने मान्छे यसरी स्वयम्भूतिर फर्किन पाइन्छ ? कि कलंकी फर्कनुस् कि स्वयम्भू।’

यात्रुलाई मनोरञ्जन दिएर आफ्नो उद्देश्य पूरा गर्ने उनको शैली साँच्चै लोभलाग्दो थियो। त्यही शैलीका कारण काठमाडांै उपत्यकाका अधिकांश सार्वजनिक सवारीमा अप्रिय बोली र कर्कस आवाजका पर्यायको छाप बनाइरहेका सहचालकहरूभन्दा भिन्न साबित ती किशोर एकैछिनमा सबैका प्रिय भए।

त्यसपछि एकएक गर्दै यात्रुले नै उनलाई आफू कता फर्कने भनेर सोध्न थाले। तिनैमध्येका एक यात्रु यसरी प्रस्तुत भए, ‘ए भाइ, म सतुंगल जाने हो, भन कता फर्किम् ? ’ कोहीले सोधे, ‘म फर्किएको भ’को छ त भाइ ? ’ सोधाइसँगै उनीहरू ती सहचालकको आशयअनुसार फर्केको दिशा पनि बदलिरहेका थिए जसले कसिलो वातावरणलाई केही खुकुलो बनाउन सघाइरहेको थियो।

हाँसोले गुञ्जायमान बस अघि बढिरह्यो। उभिने यात्रुले सास्ती बिर्सिए। सडकमा उडेको धुलो र धुवाँको प्रदूषणबाट परेको मर्का पनि कसैले सम्झिएनन्। हावा गुम्सिएको बसभित्र एकअर्काको शरीरबाट चलिरहेको पसिनाको गन्धलाई समेत सबैले बिर्सिए। कलंकी–थानकोट खण्डको खाल्डाखुल्डी पार गर्दै त्यो बसले कति बेला मलाई गन्तव्यमा पुर्‍याएछ, पत्तै भएन।

बसमा बस्ने र उभिने विभिन्न उमेर, पेसा र पृष्ठभूमिका सबै यात्रु एक जना सामान्य देखिने सहचालकको ‘फ्यान’ भएको दृश्य मैले जीवनमा पहिलोपटक देखेँ। कुनै पनि कर्मको मूल्य माथि उठाउने त त्यसका कर्ताको व्यवहारले पो रहेछ !

उपत्यकाका स्थानीय रुटमा चल्ने सवारी साधनका भित्ताभित्तामा टाँसिएको ‘जिब्रोको गरिमा मीठो बोलीमा’ भन्ने नारा यसरी नै सार्थक हुँदै जाओस्। सहचालकको साधारण पेसालाई प्रतिष्ठित बनाउन लागिपरेका यस्ता पात्रहरू सबैलाई सादर सलाम ! @Devkota_Sabina
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.