आत्मश्लाघाभन्दा पर

आत्मश्लाघाभन्दा पर

जीवन चिनाउने, बुझाउने र डोर्‍याउने रामेश दाइको ‘बालापन जीवनको’ पुस्तक कालजयी पो हुन्छ कि ?

०००

मैले मानिनँ, त्यो अनुरोध। भोलि लोकार्पण कार्यक्रम, आज पढेर त्यहाँ मैले किताबबारे बोल्नुपर्ने रे। फेरि फेरिको निकै ठूलो आग्रहपछि मैले सोधेँ, ‘कसको किताब ? लेखक को ? ’ जवाफ आयो, ‘रामेश दाइले लेख्नुभा’को आफ्नो संस्मरणको किताब।’

मेरो मनले भन्यो— अब रामेश दाइ पनि किन साहित्यतिरको लफडामा लागेको। मज्जाले गीतसंगीततिरबाट राम्रै परिचय बनेको थियो। त्यतैबाट जनताको पक्षमा लागेर काम गरे भा’कै थियो नि।

फेरि अर्काे मनले भन्यो— यति लामो जीवन बिताउनुभएको दाइको जीवनी साँच्चै कस्तो होला त ! जसका गीतहरू गाएर हामी हुक्र्यौं, बढ्यौं।

मलाई उहाँको जीवनी बुझ्न मन लाग्यो।

त्यो कुराकानीको एक घण्टामा किताब आइपुग्यो। कत्ति अबेर नगरी पढ्न बसेँ, ‘बालापन जीवनको’। त्योे दिनभरि, राति अबेरसम्म, भोलिपल्ट बिहान र लोकार्पण कार्यक्रम जाने बेलासम्म पनि म किताब पढी नै रहेकी थिएँ।

पारिवारिक सांगीतिक माहोलको वर्णनबाट पुस्तकको थालनी हुन्छ। अनि घटना काठमाडौं केन्द्रका राणाहरूबाट षड्यन्त्रपूर्वक पाल्पा लखेटिएका कमान्डर–इन–चिफ रुद्रशमशेर जंगबहादुर राणाको दरबारिया सांगीतिक जलसातिर मोडिन्छ। लेखकले साँच्चै नै मलाई पनि दरबारिया गीतसंगीत र नाटकको रमझमभित्र पुर्‍याएको आभास भयो। त्यो बेला केन्द्रका र पाल्पा धपाइएका राणाहरूको सांस्कृतिक होडबाजी कस्तो रहेछ, त्यो बुझ्न किताब निकै उपयोगी छ।

बुवा पाल्पाली राणा सरकारका अत्यन्तै विश्वासपात्र हाकिम। घरमा बालककालदेखि नै सुन्दै आएका राणा दरबारका भित्री कुराहरू रामेश दाइद्वारा बुवा, ठूलो दाइ, दिदीहरूबाट अझ अरू प्रस्ट बुझेर किताबमा राखेको पाइयो। राणाहरूका विलासी, ऐयासी, रवाफिलो जीवनशैली। रैतीमाथि शासन चलाउने काइदा। तिनका व्यवहार, ढोंग, ढर्रा, मनोरञ्जन गर्ने तौरतरिका, परपीडाबाट आनन्द लिने लहडबाजी। एकदमै नौलो र अचम्मलाग्दो लाग्छ।

घरभित्र बुवा राणाजीका प्यारा विश्वासपात्र हाकिम तर ठूलो दाइ मेघबहादुर चाहिँ २००३ सालदेखि नै घनघोर राणाविरोधी। नेपाली कांग्रेसतिर आकर्षित। घरभित्र हुने दुई विचारधाराको द्वन्द्व पनि रोचक लाग्छ।

तीन वर्षको उमेरमै बुवाले गीत गाइरहँदा कसैले नसिकाई आफै आएर तबलामा गीत मिल्दो ताल बजाएर सबलाई छक्क पारेको घटनाबाट रामेशको संगीतयात्रा सुरु भएको पाठकले थाहा पाउँछन्।

पछि रुद्रशमशेरका खाँट्टी मानिस भएको थाहा भएपछि सजायस्वरूप रामेशका बुवालाई सुदूरपश्चिम डोटी सरुवा गरिदिन्छन्, केन्द्रका शक्तिशाली राणाहरूले। रेलको डिब्बाहरू रिजर्भ गरेर घोडासहित डोटी हान्निएका सुब्बा बुवाको सान, मान, रवाफ सम्भ्रान्त वर्गको पाइन्छ।

डोटीकै श्रीपञ्चमीमा सावाँ अक्षर पढ्न थालेका बालक रामेश चाँडै किताब पढ्न सक्ने भएर दन्त्य कथाभित्र रमाउन थाल्छन्। अति उत्सुक र जिज्ञासु हुन्छन्, उनी। मनमा उठ्ने अनेकन् प्रश्नका जवाफ खोज्न थाल्छन्। तर ठूलाहरूबाट आहत र उपहास मात्र पाउँछन्। बरु आमाबाट सान्त्वना, स्नेह र उहाँकै चेतनास्तर अनुसारको जानकारी पाउँछन्। तर देवीदेउताहरूप्रतिको रामेशको उत्सुकतालाई आमाले पनि उचित जवाफ दिन सक्नुहुन्न। पुरोहित पण्डिततिर पन्छाउनुहुन्छ।

त्यो समयको बिफर, हैजा, प्लेग आदि महामारीको वर्णन, अन्नपात स्वाहा सखापै पार्ने आकाशको घामै छेकेर आउने सलहका हूल अहिलेका पुस्तालाई अनौठो लाग्न सक्छ। डोटी सिलगढी बजार भारतको प्रान्तजस्तो हुन्छ। भारतीय रुपैयाँबाट कारोबार हुने, भारतबाटै शिक्षकहरू आउने, स्कुलमा भारतीय पाठयक्रम, बालक रामेशले उहिल्यै डोटीको शैलेश्वरी स्कुलमा ‘जन मन गण हे भारत भाग्यविधाता’ भारतको राष्ट्रगान गाए। देउकी, झुमा, ‘पातर्नी’हरूको वर्णन, छाउपडीका नारकीय जीवन, व्यथापीडा किताबमा धेरै कुरा उतारेका छन् रामेशले।

जहिल्यै गीत गाइरहने, सुसेलीमा लय बजाइरहने छ्याके दाइलाई बालक रामेश अति मन पराउँछन्। आफूलाई जति सताए पनि गीत सुन्न उनकै पछि लाग्छन्। पुस्तक पढिसकेपछि छ्याके दाइको मुहार मनभरि छाउँछ। तर रामेश दाइलाई सोध्न मन लाग्छ, छ्याके दाइको अनुहार कस्तो थियो ?

डोटीका उनका अनेक बालक साथीहरूको वर्णन र व्यवहारहरू उस्तै घतलाग्दा लाग्छन्। गोरख दाइसँगको आत्मीयता उस्तै रमाइलो लाग्छ। ‘शिवजीको बाबुको नाम भन्न सकिस् भने लाल समुद्रको धनदौलत दिन्छु’ भन्छन् गोरख दाइ रामेशलाई। तर अहँ आजसम्म पनि भगवान् शिवजीको बाबुको नाम कसैले भन्न सकेनन् रामेश दाइलाई। पढ्दा पढ्दै कहिले हँसाउँछन्, कहिले आँखा रसाएर आउँछ, ‘भदइ हजाम’ र ‘दरबार पसेको जोगी’को कथा कति स्वादिलो। फेरि फेरि पढिरहन मन लाग्ने।

रामेशको बुवाको संगीत महफिल पाल्पाजस्तै डोटीमा पनि जम्न थाल्छ। सितार, हार्मोनियम र तबलाहरू गुन्जिन थाल्छन्। राग अलाप्न थाल्छन्, तबला बजाउने चैं त्यै सानो रामेश। कुनै कुनै बेला घुस्याहाहरूको बैठक पनि बस्छ त्यो ठाउँमा।

‘देउता, भगवान्, भगवतीहरू पनि दक्षिणा र प्रसादको घुस खाएर पापीहरूलाई जोगाउँछन् हैन र हजुर ? ’ घुस्याहाहरूका तर्कहरू रोचक र हाँसउठ्दो लाग्छ। पढ्दै जाँदा कतै ‘गुनकेशरी राग’ गाउने झुटा ओस्ताज भेटिन्छन्। कतै ज्योतिषी र पुरोहितहरूका कर्मकाण्डी जालमा परेका सुब्बा बुवाको लाचार जीवन। सरकारी जागिर खाएपछि मान्छेले आफ्नो विवेकको स्वतन्त्र जीवन जिउन पाउँदैन। सरकारका टाउकेहरूले आफूले किनेका कारिन्दालाई जेजस्तो पाप अपराध पनि गर्न लगाउन सक्छ। सामान्य मानिसलाई पनि यो कुरा बुझाइएको छ किताबमा। साथै कैयौं प्रवृत्ति र चरित्र भएका पात्रहरूका कारण किताब अति रुचिकर बनेको छ।

दसैंमा घरको माहोल। भगवतीसँग साक्षात्कार हुन बुवाले गर्न खोजेका तान्त्रिक विधिविधान। शिव भगवान्ले पठाको चामलको बोरा। साथी जुठुसँग मिलेर गरेको कोठाको खानतलासी। ढुकुर ढुकुर्नीका कथा। कामीदाइका दाँत फुकाल्न गाको। कति छन् कति छोटा, मीठा, साना तर घतलाग्दा घटनाहरू।

२००७ सालमा डोटी कब्जा गर्छन्, कांग्रेसका जनमुक्ति सेना। तीन साँचा आफ्नो हात पारेर सारा ढुकुटी लुट्छन् अनि हाकिमहरूलाई ढुकुटी लुटेको आरोप लाउँदै टुँडिखेलमा मार्न लस्करै राख्छन्। त्यत्रो जनसमूहमाझ गोली हान्न लाग्दा रामेशकी आमा आफ्ना श्रीमान्को शरीरअघि छाती थापेर ‘उहाँले ढुकुटीको एक पैसा चलाउनुभएको छैन, निर्दाेषीलाई त्यसै मार्न पाइँदैन। दोष अरू कसैको छ। खोज्नोस्। यदि सुब्बासापलाई मार्नुहुन्छ भने पहिला मलाई मार्नोस्।’ भन्दै गर्जिन्छन्। अपराधीहरू हच्कन्छन्। मारिनबाट जोगिन्छन् हाकिमहरू। तर ढुकुटीका त्यत्रा धन कता पुगे ? कसैलाई थाहा हुँदैन।

कांग्रेसले सत्ता हात पारेपछि बुवाआमालाई भेट्न डोटी पुग्दा क्रान्तिको बेलीविस्तार लाउँछन् ठूलो दाइ। तर हाकिम बुवाले कांग्रेस टिक्ने कुरा पत्याउँदैनन्। राणाले कांग्रेस खुइल्याउने मन्त्रपानी छर्किसकेको कुरा गर्छन्। नभन्दै हुन पनि त्यस्तै हुन्छ। कांग्रेसी नेताहरू पैसा, रक्सी, तरुनीहरू, मोजमज्जा, ऐशविलासमा डुबेर पतन हुँदै जान्छन्। व्यक्तिगत स्वार्थमा चुर्लुम्मै डुबेर जिउँदै मरेसरह हुन्छन्। अनि कहाँको प्रजातन्त्र, क्रान्तिको सपना ! आज कम्युनिस्टहरू पनि त्यही बाटो समातेर पतनको नर्कतिर पस्दैछन्। खै के भन्नु !

संसारमा सबभन्दा प्यारी आमाको निधनपछि बालक रामेशको मन असह्य पीडामा डुब्छ। आमा नहुँदाको जीवन पढ्दा मन थाम्न सकिँदैन।

आत्मप्रशंसा, आत्मश्लाघा किताबमा कतै पाइँदैन।

आजभन्दा करिब सत्तरी वर्षअघिको गीतसंगीतको रूपरंग, राणाकालीन शासनको परिचय, त्यस बेलाको सामाजिक परिवेश अनि आफ्ना बालजीवनका अनुभूतिहरू इमानदारीपूर्वक प्रस्तुत गरिएका छन्। अरू किताबहरूसँग तुलना गर्दा कस्तो कस्तो होला... हावामा उडिरहेका प्वाँखलाई सबैले देख्छन्, कोठाको कुनामा रहेको चामलको बोरामा कसैको आँखा पर्दैन। जुन चामलले जीवनहरू जोगाउँछ, बचाउँछ। जीवन चिनाउने, बुझाउने र डोर्‍याउने रामेश दाइको ‘बालापन जीवनको’ पुस्तक कालजयी पो हुन्छ कि ? दोस्रो, तेस्रो भागको आशा गरौं। ती सबै पढ्न मन चञ्चल र उत्सुक छ।

भेटवालको पछिल्लो पुस्तक ‘कल्ली’ हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.