मर्जपछि पढाइ अनियमित
सुर्खेत : आँगन नजिकै स्कुल थियो। आउजाउ गर्न कुनै समस्या थिएन। पढाइ पनि नियमित नै थियो। तर आँगनमै रहेको त्यही स्कुल अर्को गाउँको स्कुलमा (मर्ज) गाभिएपछि सुर्खेतको गुर्भाकोटस्थित बेतेनीका बालबालिकालाई समयमै स्कुलमा हाजिर हुन मुस्किल परेको छ। घरदेखि एक घण्टाको दुरीमा पैदल हिँड्नुपर्ने भएपछि अधिकांश बालबालिकाको पढाइ पनि अनियमित बनेको हो।
हाल नेपाल राष्ट्रिय प्राथमिक विद्यालय बेतेनी र नेपाल राष्ट्रिय आधारभूत विद्यालय पण्डितकाल्ना आपसमा मर्ज भएका छन्। शिक्षकको अनुपातमा विद्यार्थीको संख्या न्यून भएको भन्दै स्थानीय तहले विद्यार्थी कम र शिक्षक धेरै भएका विद्यालय मर्ज गरे। तर भौगोलिक विकटता र यातायातको सुविधा नभएको कर्णालीका जिल्लामा स्कुलहरु मर्ज हुँदा बालबालिकालाई भने सकस भइरहेको छ। अधिकांश प्रावि तहका विद्यालयहरु मर्ज भएका छन्।
शिक्षकको अनुपात मिलाउन विद्यालय मर्ज भइरहँदा साना बालबालिकालाई भने घण्टौंसम्म पैदल हिँडेर विद्यालय जानुपर्ने बाध्यता छ। सुर्खेतको सिम्ता गाउँपालिकामा रहेका माइभगवती प्रावि र नेरामावि खेल्नेचौरलाई मर्ज गरियो। गाउँमा रहेको प्रावि एक घण्टाको पैदल दुरीमा रहेको अर्को गाउँको माविमा मर्ज भएपछि विद्यार्थी विशाल विक भन्छन्, ‘आँगनको स्कुल अर्को गाउँमा पुग्यो, अहिले जंगलको बाटो भएर जानुपर्छ। समयमै स्कुलमा पुग्न पनि सकिँदैन, बाटोमै थाकेर स्कुलमा पुग्दा पढाएको पनि बुझिदैन।’
मर्ज भएपछि अधिकांश बालबालिकाको लागि विद्यालयको दुरी टाढा बनेको हो। स्कुल मर्ज भएपछि बालबालिकाहरु समयमै विद्यालयमा नपुग्ने, जंगलको बाटोमा त्रास सहनुपर्ने, पैदल हिँड्दा थाक्ने, अभिभावकले पुर्याउन नसकेको दिन विद्यालयमा हाजिर नहुने र बीचमै विद्यालय छाड्ने समस्या देखिएका छन्। विद्यालयमा न्यून विद्यार्थी रहेको र नजिकै अर्को विद्यालय भएकाले खर्च व्यवस्थापन गर्न यस्तो गरिएको स्थानीय तहको तर्क छ। तर शिक्षकको अनुपात मिलाउने र खर्च घटाउने नाममा बालबालिकाहरु पीडित बनिरहेका छन्। टाढा भएपछि बालबालिकाले स्कुल नै छाड्ने अवस्था आएको अभिभावक हर्क नेपालीले सुनाए।
अब दुर्गममा आवासीय स्कुल
विद्यालय टाढा भएकै कारण बालबालिकाको पढाइ छुट्न थालेपछि कर्णालीमा आवासीय स्कुलहरु स्थापना गरिने भएको छ। प्रदेश सरकारले दुर्गम स्थानमा आवासीय स्कुल स्थापना र सञ्चालनका लागि आवश्यक प्रक्रिया थालेको छ। आगामी आर्थिक वर्षको बजेटमा नै आवासीय स्कुल स्थापनाका लागि बजेट विनियोजन गरिएको छ।
‘दुर्गममा आवासीय स्कुल स्थापना गर्दैछौं, यसका लागि आवश्यक बजेट पनि विनियोजन भएको छ’ आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भने,‘अब स्कुल टाढा भएका कारण विद्यालय जान नपाएका दुर्गमका बालबालिकालाई स्कुलमै खाना र बासको व्यवस्था हुन्छ।’ उनले आवासीय विद्यालय र नमूना विद्यालय स्थापनाका लागि एक अर्ब २४ करोड २५ लाख बजेट विनियोजन गरिएको बताए।