फ्याट्टै जाने मान्छेका नाममा
म कसरी यादव थपलियामाथि स्मृति लेख्न सक्छु ?
मेरा निम्ति यादव दाइ कुनै दिवंगत मान्छे होइनन् ।
यादव दाइसँग पहिलो भेट कहाँ भयो ? कहिलेदेखि उनीसँग आत्मीय हुन थालेँ ? त्यसको तिथिमितिको हेक्का छैन मलाई । कुनै बेला एउटै प्रकाशन संस्थामा काम गथ्र्याैं हामी । दिनहुँ भेट हुन्थ्यो । अफिसको हालखबर, बोर्ड मिटिङमा भएका कुरा, पत्रिकाहरूका ‘हेडलाइन’देखि ‘न्युज कन्टेन्ट’का बारेमा गफ हुन्थे । यादव दाइ नागरिक दैनिकको नाइट डेस्क चिफ र म ‘शुक्रवार’ साप्ताहिकको सम्पादक थिएँ ।
‘सम्पादकसँग कहाँ चिया मात्रै खाएर पुग्छ ? कफी नै खानुपर्छ ।’ उनी यसो भन्थे र मलाई कफी सप लिएर जान्थे । उनी कफीप्रेमी मात्र थिएनन्, कफी–ज्ञाता पनि थिए । कफीसम्बन्धी काम गर्ने थुप्रै साथीहरूको संगतले उनलाई कफीको विज्ञता दिलाएको थियो । कुन कफी मीठो (मतलब तीतोको मिठास), कसको बिन्स राम्रो, कफीको स्वाद कसरी पहिचान गर्ने जस्ता विषयमा उनले मलाई ज्ञान दान गर्थे । उनीसँग कफी खाँदाखाँदै सानोतिनो कफीविज्ञ त म पनि भइसकेको थिएँ ।
यादव दाइ जिस्किन्थे । जिस्किन रुचाउँथे । तर, हाँसीहाँसी गम्भीर कुरा गर्थे । दुवै हातले निधारबाट माथितिर कपाल मिलाउने र दुवै हातका बूढीऔँलालाई अरू चारवटा औँलाले लुकाउने उनको शैली म खूब ध्यान दिएर नियाल्थेँ । उनी बूढीऔँला किन यसरी लुकाउँथे, कहिल्यै सोधिएन । हातले कपाल मिलाउँदै परैबाट मुस्कान छोड्दै आउने उनीसँग भेट्दा एक खालको मज्जा आउँथ्यो । परिभाषा गर्न नसकिने मज्जा !
हामीबीच देश र दुनियाँका कुरा त हुन्थे नै, व्यक्तिगत समस्या र परिवारका कुरा पनि हुन्थे । हामी हरहमेसा आर्थिक संकटमा हुने गथ्र्यौं (म अझै पनि संकटमा छु, तर यसलाई संकट मान्न छोडिसकेको छु) । यादव दाइ हाँसेर भन्थे– ‘पत्रकारिता रोजेपछि पैसा रोज्न पाइँदैन, पैसा रोजेपछि पत्रकारिता रोज्न पाइँदैन ।’ यो रमाइलो कुरा मात्र थिएन, गम्भीर कुरो पनि थियो ।
कहिलेकाहीँ हामी भविष्यको चिन्ता गथ्र्याैं । ‘फ्याट्टै गइयो’ भने परिवारको के हालत हुन्छ ? यसमा हामी घोरिन्थ्यौँ । ‘फ्याट्टै जाने’ प्रसंग गफगाफमा प्रवेश गरेपछि केही बेर हामी निःशब्द हुन्थ्यौँ । मृत्य अन्तिम सत्य हो । मृत्यु हामीसँगै हिँडिरहको हुन्छ । जन्मेपछि मर्नुपर्छ । यो थाहा भएकै कुरा हो । तर, ‘फ्याट्टै जाने’ विषयले हामीलाई भावुक बनाउँथ्यो । भोकनिन्द्रा, दिनरात, गाह्रोसाह्रो केही नभनी एकोहोरो काममा खटिने हामी स्वास्थ्यको चिन्ता गथ्र्याैं । स्वास्थ्यको चिन्ता गर्नु र स्वास्थ्यको ख्याल गर्नु फरक–फरक कुरा हुन् । मध्यरात एक÷दुई बजेसम्म पत्रिका फाइनल गर्ने र कोठामा पुगेर सुत्ने ‘सेड्युल’मा भने परिवर्तन भएन ।
वर्षौंदेखि ‘नाइट डेस्क’मा काम गरिरहेका यादव दाइ कहिलेकाहीँ थाकेको कुरा गर्थे । ‘अब राति यसरी खट्न सकिँदैन होला,’ उनी भन्थे, ‘अलि सजिलो काम गर्नुपर्ला ।’ तर, उनीसँग भएको कपी सम्पादनको सीप पत्रिकाहरूले बढीभन्दा बढी प्रयोग गरे । त्यसको प्रत्यक्ष मारमा पर्थे यादव दाइ । बिदाको दिन पनि डेस्कमा काम गर्ने अरू कोही नभएपछि सम्पादकले उनलाई बोलाउँथे । ‘आज बिदा हो, कोठामै थिएँ, सम्पादकले बोलाए,’ भन्दै हस्याङफस्याङ गर्दै उनी अफिस आइरहेका भेटिन्थे ।
नियमित शारीरिक व्यायाम गर्ने, योग गर्ने, खानपानमा ध्यान दिने विषयमा यादव दाइ मलाई टिप्स दिन्थे । बिहान उनलाई भेट्न कमलपोखरीस्थिति डेराअगाडि पुगेर फोन गर्दा उनी ‘योग सकिनै लाग्यो, पाँच मिनेटमा तल झर्छु’ भन्थे । नियमित योगाभ्यास गर्ने उनी हृष्टपुष्ट देखिन्थे । ग्यास्ट्रिकले सताइरहेको छ भन्दै खानपिनमा ध्यान दिन थालेको बताउँथे । साथीहरूलाई स्वास्थ्यप्रति सजग रहन सल्लाह दिने उनै यादव दाइ फ्याट्टै गए । उनी फ्याट्टै गएको एक वर्ष बितिसकेको छ । यो सत्य हो । तर, यो सत्यलाई झुट ठान्न मैले मेरो मन–मस्तिष्कलाई मानौँ, प्रशिक्षित पारेको छु ।
उनी थलिएका थिएनन् । अस्पतालको बेडबाट पनि सहकर्मीसँग च्याट गरेका थिए । अघिल्लो रात च्याट गर्दै गरेका दाइ भोलिपल्ट हामीमाझ थिएनन् । उनी अस्पताल भर्ना हुनु दुई दिनअघि मात्र हाम्रो भेट भएको थियो ।
जब रित्तो गोजीले मलाई पोल्न थाल्थ्यो, समस्याको चाङले थिच्न थाल्थ्यो, यादव दाइ अन्तिम विकल्प र भरोसा थिए । सय–पचास, पाँच सय–हजार सरसापटी लिने साथी ‘सर्कल’ सबैसँग सापटी लिइसकेको ‘सामान्य’ अवस्थामा र पाँच हजारभन्दा माथिको गर्जो टार्नुपर्ने ‘असामान्य’ अवस्थामा मेरो उद्धारमा सदा हाजिर हुन्थे यादव दाइ । उनलाई भनेपछि वचन खेर जाँदैनथ्यो ।
कतै जोर नचलेपछि र पैसाले फिटफिट पारेपछि (जस्तो कि, छोराको फी नतिरे उसको जाँचै अड्किने अवस्था, घरबेटीको ‘आज जसरी पनि भाडा चाहिन्छ’ भन्ने उर्दीजन्य संकेत आदि–आदि) म सामाखुशीबाट हुत्तिँदै यादव दाइको डेरामा पुग्थेँ । जेका लागि चाहिएको हो, त्यो बताउँथे । त्यसपछि यादव दाइ हाँस्दै भन्थे, ‘सम्पादकलाई ऋण दिन पाउनु पनि ठूलै कुरा हो । सम्पादकज्यू, यो ऋण लिएको विषय ‘यस्ता पनि सम्पादक’ शीर्षकमा किताबमा आउँछ है ।’ त्यसपछि उनको हाँसोको अन्तराल लामो हुन्थ्यो । उनी हस्पिटल जानुभन्दा दुई दिनअघि पनि मैले उनीसँग लिएको पाँच हजार सापटी तिरेको थिएँ । यही भेट नै उनीसँगको अन्तिम भेट थियो ।
यादव दाइ ‘नागरिक’ छोडेर ‘कान्तिपुर’ गए । उनले ‘नागरिक’ छोडेको केही समयपछि मैले पनि ‘शुक्रबार’ छोडेँ । त्यसपछि हाम्रो घनिष्टता अझै बढ्यो । ‘नागरिक’ हुँदा उनी मलाई ‘शुक्रवार’मा छापिएका समाचारका कमीकमजोरी, भाषा, शीर्षक आदिका बारेमा आलोचनात्मक सुझाव दिन्थे । म उनका सुझावलाई सकेसम्म समेट्ने कोसिस गर्थें । म पनि उनलाई उनको पत्रिकामा छापिएका चिजबिजमा ‘आज यो राम्रो लाग्यो, यो चाहिँ मन परेन’ सीधासीधा भन्ने गर्थें । हामी एकअर्काका शुभचिन्तक थियौँ, समीक्षक थियौँ । कुनै दिन चाहिँ यादव दाइ ‘आज चाहिँ पत्रिका, समाचार र हेडलाइनका बारेमा गफ नगर्ने है’ भन्थे ।
शुक्रवार छोडेपछि फुर्सदको समयमा हाम्रो भेटघाट अझै बाक्लो भयो । ‘कान्तिपुर’मा भर्खरै गएका यादव दाइ आफ्ना नयाँ अनुभव सुनाउँथे । म भने उपलब्ध अवसरमध्ये केमा काम गर्दा राम्रो होला भनेर सुझाव लिन्थेँ । शुक्रवार छोडेपछि एक महिना बेरोजगार हुँदा मैले उनलाई पटक–पटक भेटेँ । सम्पादक भएर ‘शुक्रवार’ साप्ताहिक र ‘परिवार’ मासिक चलाइसकेकाले ‘लगानीकर्ता खोजेर नयाँ पत्रिका प्रकाशन गर्नुस्’ भन्ने उनको सल्लाह हुन्थ्यो । तर, त्यसबारे मैले सोचेको थिइनँ । यसैबीच अन्नपूर्ण मिडिया नेटवर्कबाट साप्ताहिक पत्रिका प्रकाशन गर्ने प्रस्ताव आयो । यो ‘अफर’ सुनाउन म यादव दाइको डेरामा पुगेको थिएँ । पत्रिकाको नामदेखि स्तम्भका बारेमा यादव दाइले निरन्तर सुझाव दिए । ‘हाम्रो हेयर डिजाइनर’ स्तम्भमा कपाल काट्नेहरूसँग कुराकानी गर्ने सुझाव उनैले दिएका थिए । उनका यस्ता अनगिन्ती सुझावले मलाई रचनात्मक बनाउन सघाउ पुर्याउँथे ।
‘सम्पूर्ण’ को प्रकाशन सुरु भएपछि यादव दाइले पत्रिकाको ‘कन्टेन्ट एनालाइसिस’ गरेर मलाई महŒवपूर्ण सहयोग गरे । पत्रिकाको ‘लेआउट’देखि हरेक समाचार र लेख ‘लाइन बाई लाइन’ पढेर सुझाव दिने काम कुनै शुभचिन्तकबाट यसरी पाउनु मेरा लागि ठूलो कुरा थियो । म हरेक हप्ता पत्रिका निस्केको दिन झोलामा ‘सम्पूर्ण’ बोकेर उनलाई भेट्न पुग्थेँ । उनी अनुहारमा चिरपरिचित हाँसो ल्याएर भन्थे, ‘झोलामा पत्रिका बोकेर कोठैसम्म आएर सुझाव लिने र छलफल गर्ने सम्पादक पाउँदा म दंग छु ।’ कुनै अंकमा उनी भन्थे– ‘मज्जा आयो ।’ अनि, कुनैमा भन्थे, ‘मज्जा आएन, सम्पादकज्यू !’
यादव दाइ दर्शन रौनियारको बायोग्राफीमा काम गरिरहेका थिए । त्यो सकिएपछि आफूले काम गरेका सम्पादकहरूमाथि किताब लेख्ने उनको योजना थियो । ‘मैले भोगेका सम्पादक’ शीर्षकमा किताब लेख्ने हो भन्दै उनी आफ्नो योजना सुनाउँथे । त्यही किताबमा ‘यस्ता पनि सम्पादक’ भनेर मेरो बारेमा छुट्टै अध्याय लेख्ने कुरा बारम्बार गर्थे उनी । यो कुरा उनले धेरैसँग भनेका थिए । मेरा मित्र विनोदविक्रम केसी मलाई भन्ने गर्थे, ‘यादव दाइले तपाईंलाई इतिहासमा अमर बनाएर छोड्ने भए ।’
पुतलीसडकमा रहेको स्टार मलअगाडि पुगेपछि म यादव दाइलाई फोन लगाउँथेँ । उनी चोकसम्म आउने कि म डेरासम्म जाने भनेर तय भएपछि त्यसैअनुसार हाम्रो भेटघाट हुन्थ्यो । कहिलेकाहीँ भाउजू गंगा खतिवडाको कस्मेटिक पसलमा बसेर पनि हामी गफिन्थ्यौँ ।
पुतलीसडक पुगेपछि अहिले पनि यादव दाइ उसै गरी दुवै हातले कपाल मिलाउँदै र हाँस्दै आउँछन् कि जस्तो लागिरहन्छ ! मोबाइलबाट मलाई उनको नाम र नम्बर हटाउने आँट अझै आएको छैन । अहिले नै, भरे नै, ‘के छ सम्पादकज्यू’ भन्दै आउँछन् कि जस्तो लागिरहन्छ ।
म कल्पना लोकमा विचरण गर्छु । यस्तो हुनेछ कि यादव दाइले मेरो यो लेखोट पढ्नेछन्, अनि फोन गरेर भन्नेछन्, ‘सम्पादकज्यू, गतिलो लेख्नुभएन यार, मज्जा आएन !’
क्या मज्जा हुन्थ्यो, एउटा यही व्यहोराको कल आए–‘सम्पादकज्यू मज्जा आएन, यार !’