ठगीको आरोपमा चारजना पक्राउ
अछाम : तालिमको नाममा ठगी गरेको आरोपमा अछाममा चारजना पक्राउ परेका छन् ।
गण्डकी मल्टिपल ईन्स्टिच्युट प्रालि अछामको नाममा विज्ञापन खोली छोटो अवधिको ट्रेनिङ संचालन गर्ने भन्दै १५ जनाबाट प्रति व्यक्तिबाट ७० हजार लिइ भागेका चारजनालाई जिल्ला प्रहरी कार्यालय अछामले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा डडेल्धुरा जिल्ला नवदुर्गा गाउँपालिका–५ बस्ने संस्थापक तथा संचालक नरेन्द्रबहादुर साउद, निमित्त निर्देशक करन साउद, प्रशिक्षक लालबहादुर साउद र एकेन्द्र थापा छन् ।
दिपक विष्ट भनिने नरेन्द्र साउदलाई काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । विद्यार्थीहरुले संयुक्त रुपमा दिएको उजुरीको आधारमा पक्राउ गरी उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख डिएसपी जनक शाहीले जानकारी दिए ।
एक वर्ष कक्षा संचालन गरी गत वर्ष फागुन महिनामा विद्यार्थीलाई ३ महिनाका लागि ओजेटीका लागि पठाएपछि फेरि कक्षा सञ्चालन नगरी सम्पर्क विहीन भएपछि प्रहरीमा विद्यार्थीहरुले उजुरी गरेका हुन् ।