रोपाईंको पैसाले घर खर्च
अछाम : असार महिना रोपाईको चटारो सबैतिर छ। अहिले कृषहरुलाई मानो रोपेर मुरी उब्जाउन भ्याईनभ्याई छ। सिँचाई सुविधा पुगेका खेतमा जेठ महिनामै रोपाई सकिएको छ भने असारे खेतहरु आकासे पानीलाई कुरीरहेका छन्। यति बेला रोपाई गरेर कतिपय महिलाहरुलाई आम्दानी गर्ने स्रोत बनेको छ।
साँफेबगर नगरपालिका–३ की पबि कोलीलाई अहिले रोपाईबाट फुर्सद नै छैन। उनले अरुको खेत रोपे वापत एक दिनको ३ देखि साढे ३ सय सम्म लिने गरेकी छन्। आयआर्जनको कुनै बाटो नभएकाले पबिलाई रोपाईको सिजनबाट कमाई हुने र घर खर्च चलाउन केहि सहज भएको छ। उनले भनिन ‘घरमा कमाउने कोही छैन , श्रीमान्लाई रक्सी खानबाट धान रोप्ने सिजन भएकाले घर खर्च चलाउन सजिलो भएको छ।’ बिहान रोपाई गर्न गए भने ३ सय र दिउँसो साढे ३ सय रुपैयाँ लिने गरेको उनले सुनाइन्।
अर्कि महिला धरु बिकको पनि यति बेला आम्दानीको स्रोत रोपाई बनेको छ। जेठ महिना भित्र उनले ५ हजारसम्म आम्दानी गरेको बताईन्। ‘असारको अन्तिमसम्म पानी खाने फुर्सद नै हुदैन।’ पबि र धरु मात्र होईनन् उनी जस्ता आयस्रोत नभएका धेरै महिलाहरु रोपाई गरेर खर्च जुटाउने गर्दछन्। जिल्लामा असारको मध्य भईसक्दा पनि अछाममा ७५ प्रतिशत खेतमा रोपाई हुन बाँकी रहेको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ।