गुठीको वास्तविक अर्थ नबुझ्दा...

गुठीको वास्तविक अर्थ नबुझ्दा...

जनशक्तिको अघिल्तिर जति नै तिहाइ भए पनि त्यो निरीह हुन्छ भन्ने विश्वकै निमित्त एउटा नमिठो उदाहरण बन्न पुग्यो गुठी विधेयक


गुठीको अर्थ जग्गामात्र भन्ने सम्झिएर त्यसभित्र अन्तर्निहित संस्कृतिका अनेक पहलुहरू संस्कार, रीतिरिवाज, यात्रा, चाड–पर्व, पूजा–आजा तथा गुठीसँग सम्बन्धित गुठियार, रैरकमी आदि पक्षलाई सर्वात्मना बिर्सेर ‘गुठीको विकास, सञ्चालन र व्यवस्थापनका लागि राष्ट्रिय गुठी प्राधिकरण स्थापना गर्न गुठीसम्बन्धी प्रचलित कानुन संशोधन र एकीकरण गर्न वाञ्छनीय भएकोले’ भन्दै गुठी विधेयक ल्याइयो।

सरोकारवालाका साथै जानिफकार, गुठीविज्ञ संस्कृतिविद् एवं सम्पदाविद्हरूसँग मिहिन एवं घनिभूत छलफल नगरी हतारमा ल्याइएको विधेयक राष्ट्रिय सभामा हठात् प्रस्तुत गरिँदा त्यसको विरोधमा उत्रेको जनआक्रोशको राप र तापले सरकार गुठी विधेयक फिर्ता लिन वाध्य भयो। संसदीय इतिहासमा दुईतिहाइ बहुमतप्राप्त सरकारले विधेयक यसरी फिर्ता लिएको विश्वकै लागि नौलो घटना हुन सक्छ। जनशक्तिको अघिल्तिर जति नै तिहाइ भए पनि त्यो निरीह हुन्छ भन्ने विश्वकै निमित्त एउटा नमिठो उदाहरण बन्न पुग्यो।

गुठीको इतिहास केलाउँदा नेपालको प्रामाणिक इतिहासको सुरुवात काल अर्थात् लिच्छवीकालदेखि नै गुठीको माध्यमबाट बाटो बढार्ने, बाजा बजाउने, औषधोपचार गर्ने, मठ–मन्दिरमा पूजा–आजा गर्ने, रथ–खट यात्रामा विभिन्न थरी गुठीहरू संलग्न भई काम गर्ने गरेको पाइन्छ। लिच्छवीकाल, मध्यकाल, मल्लकाल, शाहकाल हुँदै गणतन्त्रकालसम्म पनि गुठी व्यवस्थाअन्तर्गत संस्कृतिसम्बद्ध अनेक काम त्यसैको माध्यमबाट हुने गरेको इतिहास साक्षी छ।

नेपालमा समाजसेवाको थालनीमा समेत गुठी व्यवस्थाको ठूलो योगदान छ। नेपालका विभिन्न जातजातिहरूको संस्कृतिको उत्थान र विकासमा गहिरोसँग भिजेको यो व्यवस्था पूर्व मेचीदेखि पश्चिम महाकाली उत्तर हिमालदेखि दक्षिण तराईसम्म आफ्नो प्रसिद्धिलाई कायम राख्न सफल छ। गुठीव्यवस्थाको माध्यमबाट हुने कार्यहरूले नेपालको अनेक मूर्त र अमूर्त संस्कृति र सम्पदालाई जीवन्त तुल्याइराख्न भरपर्दो आधार बन्न पुगेको यथार्थ छ। यद्यपि कतिपय गुठीहरूमा जग्गाको कारण कैयन् किसिमका समस्या विद्यमान छन्। त्यो ठाउँपिच्छे फरक हुन सक्छ।

नेवार समुदायमा गुठी व्यवस्था जन्मदेखि मृत्युसम्मका अनेक कार्यहरूमा सम्बन्धित छ। नेवारका विभिन्न जातजातिहरूमा सनागुठी, सिंगुठी, द्येगुठीको माध्यमबाट आआफ्नो संस्कार र संस्कृतिलाई सम्पन्न गर्ने चलन छ। त्यसदेखिबाहेक सामाजिक, धार्मिक एवं व्यक्तिगत कामकारबाहीका लागि अरू गुठीहरू पनि हुन सक्छन्। त्यसरी गर्नुपर्ने काम कुनै राजगुठी, कुनै तात्कालिक छुटगुठी र कुनै निजी गुठीअन्तर्गत सम्पन्न गरिने गरेको छ। गुठी संस्थान राजगुठीअन्तर्गतका कार्य हेर्ने निकायको रूपमा स्थापना भएको हो।

पछिल्लो पटक भएको संशोधनले छुटगुठी पनि राजगुठीमा परिवर्तन भइसकेको छ। तर निजी गुठीको नियमनका लागि प्रचलित ऐनकानुनमा कहीं कुनै उल्लेख आएदेखि बाहेक नियमनको लागि भरपर्दो नीतिनियम बन्न नसक्दा धेरै निजी गुठीहरू र त्यसअन्तर्गतका किमति जग्गाजमिनहरू मासिई सके। मासिने क्रममा छन्।

हामी दिगो विकासका लागि विकसित मुलुकका अनेकन विज्ञलाई ल्याएर ठूलो धनराशी खर्च गरेर कार्यशाला, सेमिनार एवं गोष्ठीहरू गर्छौं। उनीहरूले आफूले जानेका कुरा सिकाएर जान्छन् त्यसको नतिजा फलदायी छ या छैन भन्नेमा बहस र विवाद हुन सक्ला। तर नेपालमा विद्यमान गुठीव्यवस्था विश्वकै लागि एउटा यस्तो दिगो व्यवस्थापनको अनुपम उदाहरण हो। यसअन्तर्गत झन्डै साढे पन्ध्र सय वर्षदेखि नेपालमा त्यही व्यवस्थाको माध्यमबाट मूर्त र अमूर्त सम्पदाको व्यवस्थापन अवछिन्न रूपले सरकारले एक पैसा नबेहोरी सामूहिक हित र साझेदारीको भावनाबाट जिजुबाजे, बडाबाजे, हजुरबुबा हुँदै नाति, पनाति पुस्तामा हस्तान्तरण हुँदै अहिलेसम्म चलिरहेको छ।

इतिहासको अनेक कालखण्डमा कैयन् राजा फेरिए, राजनीतिक व्यवस्था फेरिए, वंश फेरिए, प्रधानमन्त्री, मन्त्री फेरिए तर गुठीव्यवस्था ज्यूँकात्यूँ जीवन्त छ। यो कसरी चलेको छ ?        यसका आफ्नै परिपाटी छन्। त्यसको बारेमा विश्वलाई बुझाउन सक्ने हो भने गुठीव्यवस्थालाई ‘विश्वसम्पदा सूची’ मा समेट्न कुनै गाह्रो पर्ने देखिन्न। यसबाट नेपालले अवछिन्न रूपले पाइरहेको फाइदाबाट अरूले पनि संस्कार, संस्कृतिको जोगाड एवं दिगो विकासका लागि उच्चतम अभिप्रेरणा प्राप्त गर्न सक्छन्। यथार्थ यस्तो हो पनि निहित स्वार्थ भएका या पूर्वाग्रहबाट ग्रसित मानिसले यसको अपव्याख्या गरिदिनाले तथा वास्तविकता बुझ्दै नबुझी गलत धारणा राख्न पुग्दा वि.सं. २००७ देखि यो गुठीव्यवस्था संकटको मझधारमा पुग्न गयो।

गुठीको विनासलाई देख्न नसकेर वि.सं. २०२१ मा गुठी संस्थान गठन त भयो। तर यो सरकारी निकायबाट जेजे कुराको आशा गरिएको थियो त्यो पूरा हुन पाएन। विभिन्न समयमा यसका सामान्य कर्मचारीदेखि उच्चपदस्थ कर्मचारी सत्तासीन राजनीतिक दलका आआफ्ना कार्यकर्ता घुसाउने थलो बन्न पुग्दा गुठीको मूल सम्पत्ति जग्गा–जमिनमाथि कुदृष्टि पर्न गयो। जसको कारण राजगुठीको संरक्षण, सम्बर्धन गर्नुपर्ने दायित्व बोकेको संस्था नै जग्गा–जमिन विनाशमा लाग्न थाल्यो। यो सत्य कुरा हो कि गुठीमा अनगिन्ती बेथिति, अनियमितता र अतिक्रमण भइरहेको छ। गुठीभित्र मौलाएको भ्रष्टाचार र भूमाफियाको चलखेल नै गुठीव्यवस्था समाप्त पार्ने दिशामा अग्रसर छ।

उनीहरूले राजनीतिक संरक्षण पाएका हुन्छन्, ठूला नेता र शक्तिशालीहरूलाई आफ्नो पोल्टाको गोटी बनाएर गुठीको मूल सम्पत्ति जग्गा हडपिने र त्यसलाई आफ्नो बनाउने काममा अन्धाधुन्ध लागिरहेको अवस्था छ। त्यसलाई कसरी नियन्त्रण र सुधार गर्ने हो जरुरी भइसकेको छ। गुठी व्यवस्था जगेर्नाको प्राण भन्नु नै जग्गा–जमिन हो। हाम्रा पुर्खाहरू कति दूरद्रष्टा थिए ? उनीहरूले गुठीको जिउनीका लागि नगदभन्दा जग्गालाई प्रोत्साहन दिए। जग्गा भनेको न राजाले, न शासकले हर्न सक्ने, कथं कदाचित हरे पनि फिर्ता दिन सकिने, नदीले नलग्ने, लगे पनि केही वर्षपछि छोड्ने, भूकम्प र प्रकम्पले केही समय संकटमा पारे पनि लिएर जान नसक्ने दिगो सम्पत्तिलाई रोजे।

जग्गाको सदैव कुनै न कुनै रूपले मूल्यवृद्धि भएर गएको हुन्छ जबकि रकमको हरेक क्षण अवमूल्यन हुँदै गइरहेको हुन्छ। पशुपतिनाथ मन्दिरमा मल्ल राजा यक्ष मल्ल (वि.सं. १४८५÷१५३९) र उनका भाइ जीव मल्लले आमा संसारदेवी र गौरीको लागि राखेको गुठीबाट हरेक दिन बिहान एक कुरुवा पकाएको भुजा र त्यसमा दाल, तरकारी भोग लगाउने र प्रसादस्वरूप दुःखी, गरिबहरूलाई बाँडिदिनु भनेर राखेको गुठीअन्तर्गतको कार्य आजका दिनसम्म चल्दैछ। यदि रकम राखेको भए उहिलै बन्द भइसक्थ्यो।

गुठीको जग्गा जुन कुनै माध्यमले रैकर बनाएको छ वा अतिक्रमित भएको छ भने त्यसलाई मूल गुठीमै फर्काउने नीति–नियमको अपरिहार्यतालाई नकार्नु हुने बेला छैन। यसको छिनोफानो ‘फास्टट्र्याक’ को माध्यबाट गर्नुपर्छ। एउटा गुठी जग्गाको समस्याको छिनोफानो हुन पच्चीसौं वर्ष लाग्ने अवस्थाले हाम्रा मठमन्दिरहरूको संरक्षण सम्बद्र्धनमा होला भनेर सोच्नु नै गलत हुन्छ। बरु राणाकालमा श्री ५ गुठी बन्दोवस्त अड्डा, श्री ३ गुठी बन्दोवस्त अड्डाहरू जस्ता गुठी हेर्ने निकाय स्वयं अर्धन्यायिक थिए। ससाना समस्या उनीहरू नै समाधान गर्थे।

त्यसमा ‘गुठी कचहरी’नामको छुट्टै अदालत थियो। उसले गुठीजग्गाको कचमचको विषयमा छिटोछरितो ढंगले न्याय दिन्थ्यो। गुठीमा बेथिति हुनबाट रोक्थ्यो। पशुपतिनाथको गुठी जग्गा–जमिनको समस्या समाधान गर्न पशुपति अमालकोट कचहरि नामको अर्धन्यायिक छुट्टै एकाइ थियो। हिजोआज कस्तो छ जगजाहेर नै छ। यो सब हुनाको कारण गुठीको महत्व नबुझ्नाले नै हो। गुठी भनेको मठमन्दिर, स्तूप–विहारसँग सम्बन्धित छ।

तिनीहरू बोल्ने होइनन् जे गरे पनि हुन्छ भन्ने भावनाले विकराल रूप लिँदा गुठीको दुर्दिन देख्नु परिरहेको छ। गुठी चल्ने भनेको कुतबाट हो। जनता पनि कुत नतिर्ने सरकार पनि गुठीको तिर्नुपर्ने रकम नतिर्ने नाजुक अवस्था छ। सरकारले गुठी संस्थानलाई तिर्नपर्नु बाँकी १३ अरब रुपैयाँ छ। यत्रो बाँकी बक्यौता रहँदा कुनै पनि निकाय स्वस्थ रूपले अगाडि बढ्न सक्दैन।

हामी साम्यवाद, समाजवादको सिद्धान्तका अनेक कुरा गर्छौं र सबैको बाँच्न पाउने हक सुरक्षाको लागि समर्पित छौं पनि भन्छौं। यथार्थतामा त्यसमा को कति लागेको छ र त्यो सिद्धान्तबाट वास्तविक भूमिहीन, गरिब र सर्वहारा भनिने वर्गले के पाए ? सधैं निरुत्तरित हुनुपर्ने अवस्था छ। यसको जवाफ आउँदा अनेकौं वर्षहरूमा पनि पाउने छैनौं।

गुठी व्यवस्थासँग मोहीको साथै गुठियार, पुजारी, रैरकमीहरूको पनि प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध रहेकाले उनीहरूको हित–कल्याणका लागि पनि उचित ढंगले सोचिनु आवश्यक छ।

ती हाम्रा पूर्वजहरूलाई हृदयदेखि नै आभार व्यक्त गर्नुपर्छ, जसले रैकर जग्गा किनेर या राज्यबाट प्राप्त जग्गाजमिनलाई कृषियोग्य तुल्याइ मठमन्दिरको नाउँमा ‘देवस्व’ स्वरूप आफ्नो हकअधिकार छोडी गरिब, निमुखाहरू, जग्गा–जमिन नहुनेहरूलाई ‘मलाई केही बुझाउनु पर्दैन, अमुक मठमन्दिर, विहार, चैत्यका लागि वार्षिक यति कुत वा बाली तिर र गरी खाओ’ भनेर राखिदिएको जग्गा नै गुठी जग्गा हो। वि.सं. १९४५ देखि मात्र स्वामित्व बेच्न नपाइने तर अर्कालाई जग्गा हस्तान्तरण गर्न पाइने परिपाटीको सुरुवात भएको हो। नभए जसले कुत तिर्छु भन्छ उसैलाई गुठी जग्गा सित्तैमा दिने चलन थियो। मोहियानी हकको व्यवस्थापछि स्वामित्व टुक्रियो र जग्गाको मूल्य पनि क्रमशः बढ्दै जान थालेपछि लोभिपापी बढ्दै गए।

गुठीव्यवस्था न सामन्तवादको अवशेष हो न गुठीले कसैलाई गरिब निमुखा बनाउने लक्ष्य नै राखेको हुन्छ। न यो लुकाउन राखेको सम्पत्ति नै हो। गुठीव्यवस्थाको धर्म र मर्म नबुझी गरिएका टीकाटिप्पणीको कुनै अर्थ छैन। मठमन्दिरको कुनै निश्चित काम गरुञ्जेल तलबवापत पाउनुपर्ने रकम त्यही जग्गाको कुत उठाइ खाऊ भनी दिएको खान्गी जग्गा काम छोडेपछि पनि मैले हिजो कमाएको थिएँ, अहिले पनि मेरै हुनुपर्छ, गुठीजग्गाको कारण म गरिब भएँ भन्नु गुठी खान्गीलाई नबुझ्नु हो।

अर्को कुनै गुठी जग्गा शक्तिको भरमा कब्जा गरी गरिब गुरुवालाई कमाउन लगाई उनीहरूलाई जसोतसो सामान्य रूपले उब्जनीको केही भाग दिई सम्पूर्ण गुठीजग्गा नै आफ्नो हुनुपर्छ भनेर हिँड्ने शक्तिशालीहरूले विभिन्न दलका नेता र नेतृत्व तहलाई प्रभावमा पारी गुठीव्यवस्था नै गलत हो भनाउन कति सफल भएका रहेछन् भन्ने त विगतका दिनमा सत्तामा रहेका ठूलाबडाको सतहमा आएका गुठीप्रतिको नकारात्मक टीकाटिप्पणीका अभिव्यक्तिले झल्काउँछ। कसैको व्यक्तिगत रैकर जग्गा कमाएवापत विभिन्न ठाउँमा विभिन्न चलन होला तर ‘अध्याँ’ सबैतिर एक किसिमले प्रचलित व्यवस्था हो।

गुठीजग्गामा अध्याँ होइन सामान्य कुत दिन भन्छ। कोही दर्तावाला छन् भने खास किसानलाई ‘अध्याँ’ मा लगाएर आफूले कुत तिर्ने गरेको अनौठो चलन दोहोरो मोही खारेजीसँगै समाप्त भइसकेको अवस्थामा केही टाठाबाठाले अझै जग्गामा मेहनत र परि श्रम गर्ने खास मोहीलाई अझै दुःख दिएका हुन सक्छन्। त्यस्ता खास मोही वा किसानको हकहितको लागि राज्यले सोच्नुपर्छ। गुठी जग्गावापतको तोकिएको कुत जिन्सी या नगद नबुझाउने अनि मठमन्दिरलाई किन जग्गा चाहियो, हामीलाई अमुक मठमन्दिर वा गुठीले शोषण गर्‍यो भन्नु गुठीको मर्म नबुझ्नु हो।

अझ कतिपयले त ठाउँठाउँमा गरिब निमुखा खास किसानको जग्गाको निस्सा आफूले हड्पेर चाँडै लालपुर्जा लिइदिन्छौं भनेर विगाहाका विगाहा जग्गाको मालिक हुने दाउमा किसानलाई दुःख दिइरहेको दुखेसोहरू पूर्व–पश्चिम जता गए पनि सुन्न पाइन्छ। यसको निदानको लागि तुहिएको विधेयकमा समाधानको उपायभन्दा पनि त्यस्तै भूमाफियालाई भाग्योदय चिठ्ठा पर्ने गरी व्यवस्था भएका थिए। प्रस्तावित गुठी विधेयक विधिवत् फिर्ता भयो। नेपालको धर्मसंस्कृतिमाथि ठूलो वज्रपात हुनुबाट जोगियो।

असक्षम, क्षमताहीन, सत्तासीनहरूको भर्तिकेन्द्रको रूपमा रहेको गुठी संस्थानबाट नेपालको धर्मसंस्कृतिको संरक्षण, सम्बद्र्धन एवं प्रवद्र्धन हुन्छ भनेर सोच्नु नै गलत हुन्छ। यसको विकल्पमा जानैपर्ने हुन्छ। यसका लागि समयमै सोचविचार गरेर हाम्रा मूर्त÷अमूर्त सम्पदाहरूको केकसरी जोगाड गर्ने तथा विगतमा भएका गल्तीहरूलाई कसरी सच्च्याउने र गुठीव्यवस्थालाई निरन्तरता कसरी दिने भन्ने विषयमा सम्बन्धित सरोकारवालाहरू, संस्कृति एवं सम्पदाका विषयमा जानिफकारहरूको उचित रायसल्लाहमा अगाडि बढ्नु जरुरी छ। गुठीव्यवस्थासँग मोहीको साथै गुठियार, पुजारी, रैरकमीहरूको पनि प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध रहेकाले उनीहरूको हित–कल्याणका लागि पनि उचित ढंगले सोचिनु आवश्यक छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.