करेन्ट लागेर दुई बालक घाइते
नुवाकोट : नुवाकोटको सदरमुकाम विदुरमा आइतबार हाई भोल्टेज करेन्ट लागेर दुई बालक गम्भीर घाइते भएका छन् । साथीसँग खेल्नेक्रममा विदुर नगरपालिका वडा नं. १ स्थित ढुंगेमा ११ हजार भोल्टेजको करेन्ट लागेर स्थानीय दुई बालक गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख कृष्णबहादुर पलिमगरले जानकारी दिए ।
नुवाकोट बागवानी केन्द्र जाने भित्रि बाटोमा रहेको किरियापुत्री बस्ने भवनको छतमा खेल्ने क्रममा अचानक छतमाथि टाँगेको हाई भोल्टेजको तारमा छुँदा ७ वर्षका सुजन नगरकोटी र ५ वर्षका दमै नगरकोटी घाइते भएको नुवाकोट प्रहरी प्रमुख पलिमगरले बताए । घाइते दुबैको नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा प्रारम्भिक उपचार गरि काठमाडौं पठाइएको छ ।
नेपाल विद्युत प्राधिकरणले समयमै विद्युतको पोल नझिक्दा दुर्घटना हुन पुगेको स्थानीयवासी तथा किरियापुत्री भवन निर्माण समितिकी अध्यक्ष भगवति राजभण्डारीले बताइन् ।
वडा कार्यालय र विद्युत प्राधिकरणलाई विद्युतको जोखिम रहेको जानकारी दिए पोल र तार हटाउन पटक/पटक अनुरोध गर्दासमेत अटेर गरेका कारण अनाहकमा बालकहरु घाइते हुन पुगेको स्थानीयले बताएका छन् । बालकको सम्पुर्ण उपचार र पठनपाठनको व्यवस्था विद्युत प्राधिकरणले गर्नुपर्ने घाइतेका आफन्त र स्थानीयवासीले माग गरेका छन्।