सुदूरपश्चिमको संसद २२ दिनपछि सुचारु

सुदूरपश्चिमको संसद २२ दिनपछि सुचारु

 धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले असारमा आएर गरिने बिकास रोक्नुपर्ने बताएका छन्। प्रतिपक्षको अवरोधका कारण २२ दिन देखि अवरुद्ध प्रदेश सभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन।

‘तीन चौमासिकसम्म चुप लागेर बस्ने चलन छ’, उनले भने,‘ अब यो सुधार्ने तर्फ ध्यान केन्द्रीत गर्नुपर्छ।’ असारे विकासको सोचबाट बाहिर ननिस्केसम्म बिकासले गति नलिने उनले बताए। प्रदेशको बजेट खर्च गर्ने क्षमता बढाउन आवश्यक रहेको बताए। ‘हाम्रो बानी जेठ र असारमा मात्रै बिकास गर्नुपर्छ भन्ने परिसक्यो, हामीले त्यो बानी फेर्नुपर्छ, अब चौमासिकको प्रगती होइन, हरेक महिनाको कार्ययोजना बनाएर जनतालाइ प्रगती देखाउनुपर्छ’ मुख्यमन्त्री भट्टले भने।

‘आगामी आर्थिक वर्ष देखि हरेक मन्त्रालय र कार्यालयको मासिक प्रगति तय गरिने छ’, उनले भने, ‘ जनताले खोजेको परिणाम दिने बेला अझै भइ सकेको छैन। तर परिणाम देखाउने बाटो भने पहिल्याउन थालिएको छ। ’ प्रतिपक्षीदल कांग्रेस र राजपाले बजेटमा असन्तुष्टि जनाउदै असार १ गतेदेखि नै सदन चल्न दिएको थिएन। आगामी आर्थिक वर्षको बजेट कार्यकर्ता मुखी भएको, प्रदेश गौरवका योजना बनाउन नसकेको, पश्चिम सेती जस्ता गौरवका योजनाबारे सरकार मौन बसेको आरोप लगाउँदै प्रतिपक्षले अवरोध गर्दा २१ गते सम्म सात पटक संसद बैठक अवरुद्ध भएको थियो।

प्रतिपक्षका माग सम्बोधन हुने गरी मुख्यमन्त्रीले संसदलाई सम्बोधन गर्ने सहमति भएपछि आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टले सदनलाई सम्बोधन गरेका हुन। झण्डै ४५ मिनेट सदनमा बोलेका मुख्यमन्त्री भट्टले विगतको बजेट भन्दा आगामी वर्षको बजेट ब्यवस्थित आएको बताए।

उनले संघीयतामा जानु अघि देखि नै खल्तीका योजना बजेटमा पर्ने समस्या रहेको अवस्थामा सुदूरपश्चिमप्रदेशको बजेट, योजना बैंकका आधारमा ल्याईएको दाबी गरे। ‘प्रदेश सरकारले अध्ययन भइसकेका योजनामा मात्रै बजेट राखेको छ, जसको अध्ययन नै भएको छैन, त्यसमा बजेट राखे कार्यान्वयन पनि हुँदैन, त्यसको दुरुपयोगको पनि सम्भावना रहन्छ’ उनले भने।

संसदको विशेष समयमा बोलेका मुख्यमन्त्री भट्टले आफु प्रदेशमा भ्रष्टाचार शुन्यमा झार्न लागि परेको बताउँदै भने ‘भ्रष्टाचार मैले मात्र लागेर शुन्यमा पुग्दैन, त्यसमा प्रतिपक्षको पनि साथ चाहिन्छ, अनि जनतामा पनि जागरण हुन जरुरी छ।’

सुदूरपश्चिमप्रदेश सरकारले २८ अर्बको बजेट प्रस्तुत गरेको छ। त्यो बजेट संघीय मन्त्रालयको भन्दा पनि कम भएकाले धेरै योजनामा बजेट कम भएको मुख्यमन्त्री भट्टले स्वीकार गरे। ‘संघको एउटा मन्त्रालयको भन्दा पनि कम बजेट छ, माननीय योजना धेरै छन होला, जनताका विकास निर्माणका चाहना धेरै छन, तर बजेटको ‘लिमिटेशन’ छ’ मुख्यमन्त्री भट्टले भने।

उनले विकास निर्माणका लागि प्रतिपक्षको गहकिलो साथ चाहिएको बताए। विचार र सिद्धान्त फरक भए पनि विकास र समृद्धिका लागि एकै डुंगामा जान उनले प्रतिपक्षलाइ आग्रह गरे।

‘प्रतिपक्षले एक मत भएर विकासमा सरकार सँगसँगै आउनुपर्छ, विकासका लागि सबै एकजुट भएनौं भने सम्भव हुन्न, त्यसैले प्रदेश सरकार प्रतिपक्षलाइ पनि सँगै लैजान चाहन्छ’ उनले भने। विशेष समयमा प्रतिपक्षीदलका नेता रणबहादुर रावलले पनि सम्बोधन गरेका थिए। उनले प्रदेश सरकार प्रतिपक्षका माग मान्न तयार भएकाले धन्यवाद दिए। तर उनले त्यसको कार्यान्वयन भने हेर्न बाँकी रहेको बताए। यसैबीच आइतबारको बजेटमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले बजेट माथिको छलफलका लागि राखेको प्रस्ताव पनि पारित भएको छ। यो सँगै प्रदेश सरकारले ल्याएको बजेट माथि छलफल हुनेछ। संसदको अर्को बैठक सोमबार बिहान साढे ८ बजे तोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.