वाइन उत्पादन गर्न अंगुर खेती

वाइन उत्पादन गर्न अंगुर खेती

धादिङ : धादिङको थाक्रे गाउँपालिकामा वाइन उत्पादनका लागि व्यावसायिक अंगुर खेती गरिएको छ। लामो समय जापान बसेका चन्द्रागिरी नगरपालिका ७ का कुमार कार्कीले जापानबाट फर्केपछि धादिङको थाक्रे गाउँपालिकास्थित केवलपुर र काउलेमा २ सय रोपनीमा २० प्रजातीका २८ हजार अंगुरका विरुवा रोपेका हुन्।

अंगुर उत्पादन सुरु भएको र वार्षिक डेढ लाख बोतलवाइन उत्पादन गर्ने लक्ष्य लिएको कार्कीले बताए। नेपालमै पहिलोपटक अंगुरवाट वाइन बनाउन व्यावसायिक खेती गरेको यो फर्मले धादिङका २ स्थान थाक्रेको केवलपुरमा १ सय ४० रोपनीमा १८ हजार विरुवा र थाक्रे सर्पुको काउलेमा ५० रोपनीमा ६ हजार विरुवाले फल दिन थालिसकेको छ।

यी सबै विरुवा स्वीजरल्यान्ड, जर्मनी र जापानबाट मगाइएका हुन्। यहाँसम्म ल्याई पुर्‍याउन प्रतिविरुवा ४ देखि ५ सयसम्म खर्च भएको थियो। जापानमा रहँदा पर्यटकीय गाइड पेशा गर्ने कार्की ७ वर्ष जापान बसे। जापानका विभिन्न भागमा घुम्ने क्रममा अंगुर खेती र अंगुरबाट बन्ने वाइनको अध्ययन गरे। जापानमा अंगुर खेतीमै ओकायामा विश्वविद्यालयबाट विद्यावारिधी गरेका प्रोफेसर ओकामोतो गोरोसँग सल्लाह गरी उनलाई नेपाल ल्याएर थानकोट नागढुंगास्थित पात्लेवन रिसार्टको स्थापना गरे। त्यहाँ १५ रोपनीमा परीक्षणका लागि अंगुर रोपे। परीक्षणको रूपमा लगाइएको अंगुरले राम्रो उत्पादन दिएपछि उनले हौसिएर थप अंगुर फार्म सञ्चालन गरी अंगुरबाट वाइन बनाउने उद्योग पात्लेवन भिनेयार्ड वाइनरी प्रालि नै सञ्चालन गरेका छन्।

कार्कीले भने, ‘सुरुको उत्पादन राम्रो भयो, परीक्षण सफल भएपछि उद्योग स्थापना गर्ने उद्देश्यले धेरै मात्रामा अंगुर लगाइएको हो।’ २ देखि ३ वर्षका समयमा उत्पादन दिन सुरु गर्ने केवलपुरका १८ हजार विरुवाले चालु आर्थिक वर्षमा ४० टन उत्पादन लक्ष्य लिएर ७ सय ५० एमएलका करिब एक लाख बोतलवाइन उत्पादन गर्ने लक्ष्य राखिएको कार्कीले बताए।

एक बोतलवाइन बनाउन १२ सय ग्राम अंगुरको आवश्यकता पर्छ।

जर्मन प्रविधिबाट अंगुरको रसलाई एक वर्षसम्म राखेर वाइन बनाएर बजार पठाउने गरेका छन्। वाइनको मुख्य बजार काठमाडौंका तारे होटल तथा रेष्टुराँ हुन्। फार्ममा अंगुरको उत्पादन राम्रो हुन थालेपछि अन्य किसान पनि अंगुर खेतीतर्फ आकर्षित भएका छन्। पहिले पहिले एक दुई वटा लहरा आफूलाई खान मात्र लगाउँदै आएका अन्य किसानले पनि व्यावसायिक हिसाबले अंगुर लगाउन थालेका छन्। ‘हामीले खोजेको जस्तो उत्पादन हुनुपर्‍यो’, उनले भने, ‘स्थानीयले उत्पादन गरेका अंगुर पनि वाइन उद्योगका लागि किन्न सकिन्छ।’

अबको २ वर्षमा १ लाख ५० हजार बोतल वाई उत्पादन गरी बजारमा पुर्‍याउने लक्ष्य लिएको कार्की बताउँछन्। २० करोडको लगानीमा सुरु गरेको व्यावसायिक अंगुर खेती जिल्लामै पहिलो र एक मात्र नमुना कृषि फार्म भएको कार्कीले दाबी गरे।

अंगुर खेतीका लागि उपयुक्त हावापानी, सुहाउँदो माटो भएकाले भिरालो र खेर गएको जमिनको उचित व्यवस्थापन गरी अंगुर खेती गर्न सबै किसानलाई कार्कीले सुझाव दिए। राजधानीनजिकै भएकाले काठमाडौंका कलेजबाट विद्यार्थी पनि फार्म अवलोकन अध्ययनका लागि आउन थालेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.