उपप्राध्यापकमाथि यौन दुर्व्यवहार आरोप
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका एक उपप्राध्यापकमाथि छात्रालाई यौन दुर्व्यवहार गरेको आरोप लागेको छ। शिक्षाशास्त्र संकायअन्तर्गत अर्थशास्त्र गणित विषय पढाउने उपप्राध्यापक जगदिश मूर्ति कोइरालामाथि यस्तो आरोप लागेको हो। उनीविरुद्ध त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभाग र महानगरीय प्रहरी परिसर कीर्तिपुरमा उजुरी परेको छ। उजुरीकर्ता छात्रा स्नातकोत्तर तह तेश्रो सेमेस्टर पढिरहेकी छन्।
कोइरालाले पहिलो सेमेस्टरदेखि नै आफूलाई भेटे मात्र परीक्षामा उत्तीर्ण हुने अन्यथा पढाइ नै बिगारिदिने धम्की दिएको उजुरीकर्ता छात्राले आरोप लगाएकी छन्। कोइरालाले टेलिफोन र फेसबुक च्याटमासमेत सताउने गरेको छात्राले आरोप लगाएकी छन्। आफूलाई एक्लै नभेटे सेमेस्टरको पढाइ नै बिग्रने धम्की दिएको गुनासो गरेकी छन्।
अन्नपूर्ण पोस्ट्लाई प्राप्त एक टेलिफोन संवादमा कोइरालाले एक दिन बेलुका ती छात्रासँग कुरा गर्दै भोलिपल्ट साढे सात बजे बिहान जसरी पनि कलंकी खसीबजार नजिकै आउन भनेका छन्। छात्राले आफ्नो घरमा काम भएको बताउँदा कोइरालाले भनेका छन्, ‘त्यसो भए त त्यही घर हेरेर बस। म केही भन्दिन भन्दै फोन राख्दे भन्ने धम्कीपूर्ण भाषा बोलेका छन्।’
उक्त धम्कीपछि रोकिएकी छात्राले भोलिपल्ट आफ्नो परीक्षा भएकोले आउन नसक्ने टेलिफोनमै बताउँछिन्। त्यसपछि कोइरालाले परीक्षाको चिन्ता नलिन भन्दै म्यामलाई भनिदिने बताउँदै आफूसँग भेट गर्न भनेका छन्। छात्राले म्यामलाई के भनिदिने भनेर सोध्दा कोइरालाले भनेका छन्, ‘यो मेरो मान्छे हो नम्बर दिनुहोला भनिदिन्छु।’
कोइरालाले अरु बेलामा पनि आफूलाई कार्यालयमा एक्लै भेटेमात्रै नम्बर दिने चेतावनी दिएको छात्राले आरोप लगाइन्। ‘मलाइ निकै सताएको थियो। पहिलो सेमेस्टरदेखि नै सताइरहेको थियो। तर त्यतिखेर तनाव भएका कारण बाहिर ल्याउन सकेकी थिइन्। खप्नै नसक्ने भएपछि घटना बाहिर ल्याएको हुँ’, ती छात्राले अन्नपूर्णसँग भनिन्। त्रिवि शिक्षाशास्त्र केन्द्रीय विभागका प्रमुख दीपबहादुर अधिकारीले पनि कोइरालाविरुद्ध उजुरी आएको बताए।
उक्त उजुरीलाई त्रिवि केन्द्रीय क्याम्पसलाई जानकारी गराउँदै कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरिएको बताए। त्रिवि केन्द्रीय क्याम्पसका प्रमुख कृष्णप्रसाद आचार्यले आरोप प्रमाणित भए कोइरालालाई कारबाही हुने बताए। आरोपित शिक्षक कोइरालाले भने आफूलाई फसाउन केही विद्यार्थी संगठनको मिलेमतोमा प्रहरी र त्रिविमा उजुरी हालिएको दाबी गरे।