सरकारी जग्गा मिचेर रिसोर्ट
भैरहवा : रूपन्देहीमा सञ्चालित पाँच तारे टाइगर प्यालेस रिसोर्ट (टाइगर वान प्रालि) बिरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर भएको छ। रूपन्देहीको तिलोत्तमा नगरपालिका–१३ मा रहेको रिसोर्टले भैरहवा–लुम्बिनी भूमिगत जल (भैलुभुज) को करिब १० कठ्ठाभन्दा बढी जग्गा (सार्वजनिक कुलो तथा नहर) अतिक्रमण गरी संरचना निर्माण गरेको दाबी गरिएको छ।
तत्कालीन भैलुभुज परियोजना अन्तर्गत नलकुप जल उपभोक्ता संघ रूपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेले सरकारी सम्पत्तिमा निर्मित संरचना भत्काइ सरकारी सम्पत्तिको संरक्षण गरी पाऊँ भनी मुद्दा दायर गरेका हुन्।
रिसोर्टले रूपन्देहीको साविक टिकुलीगढ ९ ‘घ’ (हाल तिलोत्तमा नगरपालिका १३) को कित्ता नम्बर १२०, १४८, १५२ र १९० का नहर (नलकुप) सार्वजनिक जग्गा र कित्ता नम्बर ७३ को सरकारी जग्गामा समेत कमाउन्डभित्र राखेर होटल संरचना निर्माण गरी भोगचलन गर्दै आएको दाबी रिटमा गरिएको छ।
सार्वजनिक जग्गा अतिक्रमण गर्नेलाई छुट दिएमा भविष्यमा सबै सार्वजनिक जग्गा अतिक्रमण हुने हँुदा सार्वजनिक जग्गाको संरक्षण गर्न मुद्दा दायर गरिएको नलकुप जल उपभोक्ता संघ रूपन्देहीका अध्यक्ष थानेश्वर घिमिरेको भनाइ छ।
उनले रिटमा उल्लेख रहेको बाहेक थप कित्ताको जग्गा पनि रिसोर्टले अतिक्रमण गरेको पाइएकाले त्यसका लागि पनि अदालतमा निवेदन दिइने बताए। उनका अनुसार रिसोर्टले पश्चिमदेखि पूर्व जाने नहर र दक्षिण देखिपूर्व जाने शाखा नहरको जग्गा अतिक्रमण गरेको छ।
शुक्रबार मुद्दाको प्रारम्भिक सुनुवाइमा न्यायाधीश नरिश्वर भण्डारीले प्रतिवादीको नाममा मुलुकी देवानी कार्यविधिसंहित २०७४ को दफा १५६ बमोजिम अन्तरकालीन आदेश जारी गरेका छन्।
मुद्दाको अन्तिम टुंगो नलागेसम्म सार्वजनिक तथा सरकारी जग्गा र तीसगँ कित्ता जोडिएका अन्य कित्तासमेत संरचना निर्माण, बेचबिखन तथा दृष्टिबन्धकलगायत काम नगर्नु नगराउनु भन्ने आदेशमा उल्लेख छ।
नलकुप जल उपभोक्ता संघ रूपन्देहीका तर्फबाट वरिष्ठ अधिवक्ता मनोज दवाडी र लेखनाथ पोखरेलले बहस गरेका थिए। अदालतले रिसोर्टलाई बाटोको म्याद बाहेक २१ दिने सूचना जारी गर्दै अदालतमा हाजिर हुन पत्राचार गरिसकेको छ।
सार्वजनिक जग्गा टाइगर प्यालेसले अतिक्रमण गरी संरचना बनाएको विषयमा जानकारी नभएको तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले बताए।
‘टाइगरले सार्वजनिक जग्गा अतिक्रमण गरेको विषयमा मलाइ केही जानकारी छैन’, उनले भने, ‘तर, सार्वजनिक जग्गा अतिक्रमण गरेको हो भने कानुनी कारबाही हुनुपर्छ।’ टाइगर प्यालेस रिसोर्टका प्रनिनिधिले भने यस विषयमा प्रतिक्रिया दिन मानेनन्।