बुद्धवीर लामा गीति साँझ
काठमाडौं : वृद्धाश्रम, खेलकुद र शैक्षिक संस्थाको सहयोगार्थ आयोजित ‘बुद्धवीर लामा नवौं गीतिमय साँझ’ का अवसरमा विभिन्न विधाका व्यक्तिलाई राष्ट्रिय सम्मान प्रदान गरिएको छ। वरिष्ठ गीतकार बुद्धवीर लामाले बर्सेनि आयोजना गर्दै आएको ‘बुद्धवीर लामा गीतिमय साँझ’ का अवसरमा स्वदेश तथा विदेशमा रहेका ्रस्रष्टालाई सम्मान प्रदान गरिएको हो। कार्यक्रममा लामाद्वारा लिखित गीतमा स्वर दिएका गायकगायिका तथा कलाकारले नृत्य प्रस्तुत गरे। गायिका कुन्ति मोक्तानले दुईवटा गीत सुनाइन्। गायक शम्भु राई र चन्द्रकुमार दोङले पनि एक एकवटा गीत सुनाए।
अमेरिकाबाट आएका मनोज राईले भुटानी पोसाकमा सजिएर गीतकार लामाद्वारा रचित गीत गाएर सुनाए भने हास्य कलाकार गणेश इशाराले पेट मिचिमिची हँसाए।
युवा गायक रमेश राईले ‘माया जिन्दावाद’ गीत सुनाए भने चर्चित डान्सर भुवन लामाले व्यंग्यात्मक गीतमा नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाए। कार्यक्रममा ब्लुरेन इन्टरनेसनल स्कुल तथा ज्ञानोदर बालवाटिका स्कुलका विद्यार्थीले रमाइलो नृत्य प्रस्तुत गरे।
कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले राष्ट्रिय भावना जागृत गराउन संगीतको संवद्र्धन गर्नुपर्ने औंल्याए। गीतकार बुद्धवीर लामाले गीतसंगीतका माध्यमबाट समाजलाई नयाँ बाटो डोहोर्याउन प्रेरित गर्ने र नेपाली कला संस्कृति विश्वमा चिनाउन सहज हुने बताए।
समारोहमा ‘नेपाली संगीत विशिष्ट सम्मान– २०७६’ मनोजकुमार राईलाई प्रदान गरियो। त्यस्तै विशिष्ट राष्ट्रिय सम्मानबाट ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई सम्मानित गरियो। समारोहमा अन्तर्राष्ट्रिय संगीत साधना सम्मान वरिष्ठ संगीतसाधक मधुकर लोहनी, गायक तथा संगीतकार किरण मोक्तानलाई दिइयो।
समारोहमा इन्दिरा याक्थुम्बा, शिवराज पन्त, उर्मिला शेर्पा, रमेश शाही, साकिर उद्दिनलगायतलाई शिक्षा सेवा सम्मान प्रदान गरियो। निजामती सेवा सम्मान शिवप्रसाद चापागाईं, चेतकुमार पोखरेल, लक्ष्मण आचार्य, भीमबहादुर केसी, मुरलीप्रसाद बाँस्कोटालगायतलाई प्रदान गरियो।
अग्रणी समाजसेवीहरू दीपक गौतम र डम्बर खड्कालाई राष्ट्रिय सम्मान प्रदान गरियो। इलाममा जन्मेका कर्मयोद्धा सम्मानबाट कुनाल राई, सिद्धि गिरी, इन्द्र गुरुङलाई पनि विशेष सम्मान प्रदान गरियो। खेलकुदका क्षेत्रमा योगदान पुर्याएबापत मधुशमशेर जबरालाई एथलेटिक्स सम्मान प्रदान गरियो। यज्ञलाल श्रेष्ठ, त्रिरत्न मानन्धर, सुनीलकाजी वज्राचार्य, लीलाकुमार श्रेष्ठ, याङ्दी लामा शेर्पालाई खेलकुद क्षेत्रमा योगदान पुर्याएबापत सम्मान गरियो। उत्कृष्ट समाजसेवी नागरिक सम्मान डा. खगेन्द्रबहादुर श्रेष्ठ, शम्भुप्रसाद दाहाल, बासु केसी, डीके लामालगायतलाई प्रदान गरियो।