बाढीले अवरुद्ध सडक ५ दिनपछि खुल्यो
मैलुङ, नुवाकोट : पाँच दिनदेखि अवरुद्ध गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुवेशी–रसुवागढी सडक सुचारु भएको छ। बाढीले ह्युमपाइप बगाएपछि उक्त सडक शुक्रबारदेखि अवरुद्ध थियो।
अविरल वर्षाका कारण बेत्रावती–मैलुङ–स्याफ्रुवेशी सडकखण्डको गुम्चेत नजिक ठूलोखोलामा राखिएको ह्युमपाइप बगाउँदा अवरूद्व सडक मर्मत गरेर अस्थायी रूपमा सञ्चालन गरिएको सडक आयोजना प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिए।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले वर्षातको समयमा रातमा सवारी साधन नचलाउन र दिनमा सम्भावित जोखिमलाई ध्यान दिन आग्रह गरे। वर्षातको बेला दुर्घटनाको जोखिम उच्च भएकाले सो सडकमा दुई महिना साना, ठूला तथा जुनुसुकै यातायात सन्चालन नगर्नु नै उचित भएको भण्डारीले बताए।
गत वर्षमात्र निर्मित सडकखण्डमा साना यातायातका साधनमात्र सन्चालन गर्ने लिखित निर्णय भए पनि बाध्यता र छोटो दूरीका कारण ठूला हेभी गाडीसमेत सन्चालन हुँदै आएका छन्।
यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती–कालिकास्थान धुन्चे हुँदै स्याफ्रुवेशीको दूरी ५४ किलोमिटर छ।