धनकुटामा राप्रपा प्रजातान्त्रिक विघटन : सभापतिसहित २०को सामुहिक पार्टी परित्याग
धनकुटा : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) जिल्ला सभापति कुमार बहादुर थापा सहित जिल्ला तहका शिर्ष २० जना नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।
सोमवार पत्रकार सम्मेलन गर्दै राप्रपा प्रजातान्त्रिक र राप्रपा राष्ट्रवादीको केन्द्रमा एकीकरणपछि व्यक्तिगत स्वार्थमा निहित भएको भन्दै अब स्वतन्त्र रहने गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेमा जिल्ला सभापति कुमार बहादुर थापा, उपसभापति टीकाप्रसाद घिमिरे, क्षेत्र नं. १ का अध्यक्ष धर्मध्वज राई, क्षेत्र नं. २ का अध्यक्ष श्यामबहादुर गुरुङ, पाख्रिवास नगर कमिटी अध्यक्ष कृष्णबहादुर थापा, जिल्ला सदस्य रेवतराम भण्डारी, लक्ष्मीराज थापा, शंकर थापा, दुर्गा पुरी, गर्जमान राई, रिगिन्द्र बहादुर लिम्बू, नरेन्द्रकुमार राई, पवित्रा श्रेष्ठ, लोकेन्द्र घिसिङ, टेकबहादुर सारु, चन्द्र गुरुङ, क्षेत्रीय सदस्य रमेश चापागाईं, चोलेन्द्र गिरी र कृष्ण कार्की लगायत छन् । उनीहरुले संयुक्त रुपमा विज्ञप्ती समेत निकालेका छन् ।
राप्रपा जिल्ला कमिटी नै विघटन भएको कारण जिल्लाका सात स्थानीय तह र ६० वडामा गएर छलफल गरी के गर्ने भन्दै निर्णय गर्ने निवर्तमान उपाध्यक्ष टीकाप्रसाद घिमिरेले बताए ।
सोही पार्टीका केन्द्रीय महामन्त्री समेत रहेका पूर्वमन्त्री तथा सूर्यबहादुर थापाका छोरा सुनीलबहादुर थापाको कुनै प्रतिक्रिया आएको छैन । थापाले २०७० सालको संविधानसभामा धनकुटा क्षेत्र नं. २ बाट निर्वाचित हुँदा यीनै नेताहरुको महत्वपूर्ण भुमिका ठानिन्छ । यससँगै राप्रपा प्रजातान्त्रिकको धनकुटा जिल्ला कमिटी स्वतः विघटन भएको छ ।