नयाँ आए, पुराना हराए

नयाँ आए, पुराना हराए

बेसीशहर : लमजुङको मस्र्याङ्दी गाउँपालिका–९ का उमाकान्त गौतमले पाँच बर्षयता रैथाने जातको धान खेती गर्न छाडेका छन्। उनले पहिले रोप्ने एक्ले, मन्सारा, सुनौलो सुगन्ध लगायतका हुन्। ‘पहिले–पहिले घर गाउँकै धान रोपिन्थ्यो। यसमा दु:ख बढी, उत्पादन कम भयो’, गौतमले भने, ‘अहिले उन्नततर्फ लागियो।’ उनका अनुसार छिटो फल्ने र धेरै उत्पादन दिने भएपछि किसानहरु नयाँ नयाँ जाततर्फ आकर्षित भएका छन्।

बेसीशहर नगरपालिका–६ गोताङथोककी दुर्गा बोहोराले पनि रैथाने छोडेर उन्नत तथा वर्णशंकर जातको धान खेती गर्दै आएकी छन्। ‘गाउँमा सबैले उन्नत जातकै धान रोप्छन’, बोहोराले भनिन्, ‘पुरानो धानको त विउ नै पाइन छाड्यो।’ उनका अनुसार पुरानो भनेको अनती मात्रै छ। ‘पहिला पहिला पानी लाग्ने र नलाग्ने ठाउँमा फरक फरक धान लगाइन्थ्यो। एक्ले, मनसुली, मन्सरा, आँगालगायतका थुप्रै धान थिए’, भोर्लेटारका किसान मोहनहरि पौडेलले भने, ‘आजभोली नयाँ आए पुराना हराए।’

राइनास नगरपालिकास्थित धमिलिकुवाका किसान कृष्णराज पाण्डेले राइनासटारका फाँटभरि उन्नत तथा वर्णशंकर जातका धान खेती गरिएको बताए। ‘यहाँ त नहर चल्छ। दुई खेती धान हुने भएकाले सबैले हाइब्रिड लगाउँछन’, पाण्डेले भने। आफूलाई खानभन्दा अरूलाई बेच्नका लागि खेती गरिएकाले व्यावसायिक किसानहरू हाइब्रिड जातका धान रोप्न तल्लीन भएको उनको भनाइ छ। किसानहरूले रामधान, पृथ्वी, तारालगायत रोप्ने गरेको उनले बताए।

कृषि ज्ञान केन्द्रका अनुसार लमजुङमा १६ हजार ४ सय ६३ हेक्टरमा धानखेती हुँदै आएको छ। १५ हजार ५ सय ५२ हेक्टरमा बर्खे धान हुन्छ। ९० प्रतिशत भन्दा बढीमा उन्नत जातको धान खेती हुँदै आएको कृषि प्रसार अधिकृत मदन रेग्मीले बताए। कार्यालयको तथ्यांकअनुसार उन्नत जातका रामधान, सावित्री, लोकतन्त्र, हर्दिनाथ, सुनौलो सुगन्धा, खुमल ४, सुक्खा १, २, ३, ४ जातका धन खेती गरिएको छ। वर्णशंकरमा यूएस ३१२, गोरखनाथ, चाँदनी र पृथ्वी जातका धान खेती गर्ने गरिएको छ। यस्तै, स्थानीय जातमा एक्ले, मन्सरा, मधेसे, अनती छन्।

स्थानीय तहमा रहेका कृषि शाखाले ५० देखि ७५ प्रतिशत अनुदानमा उन्नत जातको धानको विउ वितरण गर्ने गरेका छन्। यसबाहेक किसान आफैले पनि बजारबाट उन्नत जातका धानको विउ किनेर लैजाने गरेका छन्। कृषि ज्ञान केन्द्रले रैथाने धान जोगाउने कार्यक्रम गर्न सकेको छैन्। ‘यही कार्यक्रम गर्ने भनेर बजेट छैन। किसानले पनि बढी उत्पादन खोज्छन्’, रेग्मीले भने।

मस्र्याङ्दी गाउँपालिका–२ घनपोखरामा भने रैथाने जातका धान तथा अनय बाली जोगाउने प्रयास गरिएको छ। जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड) पोखराले घनपोखरामा रैथाने जातका धान बटुलेर परीक्षण थालेको हो। स्थानीय बाली परियोजनाअन्तर्गत ११ वटा रैथाने बिउ राखेर परीक्षण गरिएको घनपोखरा क्षेत्र परियोजना अधिकृत रीता गुरुङले बताइन्।

यस क्षेत्रमा संकलन गरिएका रैथाने बिउलाई नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको जिन बैंकमा पठाइएको छ। उनले हुम्ला र जुम्लाका २:२ वटा र दोलाखाको ४ वटा रैधाने जातको धान खेतीसमेत परीक्षण गरिएको बताइन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.