थपिँदै बजार र प्रविधि
फलामे डण्डीजस्तो संवेदनशील विषयमा सम्झौता गर्दा निर्माण गर्ने संरचना नै कमजोर बन्ने र लगानीसमेत डुब्ने समस्या आउन सक्छ।
भौतिक पूर्वाधारको मेरुदण्ड फलामे डण्डी अर्थात् रडलाई मानिन्छ। फलामे डण्डीजस्तो संवेदनशील विषयमा सम्झौता गर्दा निर्माण गर्ने संरचना नै कमजोर बन्ने र लगानीसमेत डुब्ने समस्या आउन सक्छ।
भनिन्छ जग बलियो नभए घर बलियो हुन्न्। यही नियम लागू हुन्छ फलामे डण्डीमा पनि। पछिल्लो समयमा नेपाली उद्योगले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा चिरपरिचित नवीनतम प्रविधि (टेक्नोलोजी) भित्र्याएर भरपर्दो र बलियो डण्डी उत्पादनमा अब्बल बनेका छन्।
स्वदेशी उद्योगीहरूले डण्डी उत्पादनको क्रममा पछिल्लो ५० वर्षको अवधिमा प्लेन बार (एमएस बार) हुँदै डिफम्ड बार (टोरबार)। डिफम्डबारबाट टोरस्टील। र पछिल्लो समयमा सबैभन्दा नवीनतम प्रविधि प्रयोग गरी टोरस्टीलबाट टीएमटी बारसम्मको यात्रा गरेको छ।
एक जमाना थियो, जुनबेला (करिब ५० वर्षअघि) प्लेनबार अर्थात् एमएस बार नामको फलामे डण्डीको प्रादुर्भाव भएको थियो। यो फलामे डण्डी हेर्दा सीधा डण्डीको आकारमा मात्रै हुन्थ्यो। वरिष्ठ इन्जिनियर कृत्यानन्द ठाकुरका अनुसार एमएस बारमा कुनै पनि प्रकारको बुटा हुँदैनथ्यो। यसले गर्दा टिकाउपनको सवालमा यो फलाम त्यति भरपर्दो थिएन। तर त्यो बेला यही प्रविधि उत्कर्षमा भएकाले यसै प्रविधिमा आधारित फलामे डण्डी उत्पादन हुन्थ्यो।
समय परिवर्तनसँगै फलामे डण्डीमा नयाँ प्रविधि भित्रियो। यसलाई डिफम्ड बार भनिन्थ्यो। एमएस बारपछिको परिस्कृत प्रविधिका रूपमा आएको डिफम्ड बारलाई नेपाली उद्योगीले पनि अँगाल्दै यही प्रविधिमा आधारित भएर ‘डिफम्ड बार’ अर्थात् टोरबार फलामे डण्डी उत्पादन गर्न थाले।
लक्ष्मी स्टिल्सका जेनरल मेनेजर कुन्दन जोशीका अनुसार उद्योगले भारतलगायत तेस्रो मुलुकबाट ब्लेड आयात गरी यस्तो डिफम्र्ड प्रविधिमा आधारित भएर डिफम्ड बार फलामे डण्डी उत्पादन गरेका थिए। सन् १९९० तिर डिफम्ड बार फलामे डण्डी निकै चलेको थियो। डिफम्ड बार फलामे डण्डीमा सामान्य प्रकारको धर्के बुटा हुन्थ्यो। एमएस बारको तुलनामा तत्कालीन समयमा डिफम्ड बार बलियो मानिएको थियो।
समयले फेरि काचुँली फेर्यो। जोशीका अनुसार परिवर्तित समयसँगै फलामे डण्डी उत्पादनमा नयाँ प्रविधि भित्रियो। विज्ञान शास्त्रले डिफम्ड प्रविधिलाई परिमार्जन गरी अर्को प्रविधि विकास गर्यो, यसको नाम राखियो ‘टोरस्टील’ प्रविधि।
नेपालमा झण्डै २० वर्षअघि हिमाल स्टिल्सले पहिलोपटक टोरस्टील प्रविधि भित्त्याएको थियो। डिफम्ड बार प्रविधिको नयाँ रूप हो टोरस्टील। अर्थात् डिफम्ड प्रविधिलाई परिमार्जन गरी थप टिकाउपन र बलियो भएको फलामे डण्डी उत्पादन गर्ने कालखण्ड हुने भयो। टोरस्टिल फलामे डण्डी थप बुट्टेदार र घुमाएको आकारमा उत्पादन भएर बजारमा आयो।
नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका अध्यक्ष साहिल अग्रवालका अनुसार नेपालको फलामे डण्डीको इतिहासमा पछिल्लोपटक भित्रिएको नयाँ प्रविधि हो, टीएमटी बार। टोरस्टिललाई थप परिमार्जन गरी उच्च गुणस्तरको कच्चा पदार्थ (ब्लेड) प्रयोग गरी कान्छो प्रविधिका रूपमा नेपाली उद्योगीले ‘टीएमटी’ बारलाई अंगिकार गरेको हो। अहिले नेपालका अधिकांश उद्योगबाट टीएमटी ५०० र बोर ४१५ भनेर दुई प्रकारको फलामे डण्डी उत्पादन हुँदै आएको छ।
उच्च गुणस्तरको ब्लेडलाई तताएर चिसो बनाएर र तातोपना रहेकै अवस्थामा ट्विस्ट गरी (घुमाएर बुट्टा र ग्रिपसहितको) टीएमटी बार फलामे डण्डी उत्पादन हुन्छ। नेपालमा यो प्रविधि भित्त्याउने श्रेय पञ्चकन्या स्टिल्स्लाई जान्छ। नेपालको सन्दर्भमा हालसम्म यही प्रविधि सबैभन्दा नौलो र अत्यन्त टिकाउपन मानिन्छ। यो प्रविधिको फलाममा ग्रिप भएकाले यसले सजिलै रोडा ढुंगामा मज्जाले समाउन सक्छ। यसले भौतिक पूर्वाधार बलियो हुन्छ।
लक्ष्मी स्टिल्स्का जनरल म्यानेजर जोशीका अनुसार फलामे डण्डी उत्पादनका क्षेत्रमा पछिल्लोपटक फाइबर नेटिक्स प्रविधि पनि भित्रिएको छ। तर यो प्रविधि नेपालमा प्रवेश गर्न अझै केही वर्ष कुर्नुपर्ने उनको कथन छ। बलियो भौतिक पूर्वाधार बनाउन सकेसम्म टीएमटी बार फलामे डण्डी नै प्रयोग गर्नुपर्ने जोशीको सुझाव छ।
यसरी भयो गुलजार
५० वर्षअघि उपत्यकामै निर्माण सामग्री (फलामे डण्डी, फलामे पाइप, सरसफाइ सामग्री, स्टिलका सामग्री र जस्ता पाता) को बजार निकै साँघुरो थियो। त्योबेला नेपालमा खासै यस्ता सामग्रीको उत्पादन हुँदैनथ्यो। यसले गर्दा हार्डवेयरसम्बन्धी सामग्रीको बजार पनि औंलामा गन्ने संख्यामा थिए। काठमाडौंको केही प्रमुख स्थान विस्तारै काँचुली फेर्न थालेको थियो। तर हार्डवेयर बजारको नाममा त्यो वेला अविकसित टेकु र कालिमाटी मात्रै थियो। ती दुई स्थान अहिलेको जस्तो भव्य बनिसकेको थिएन।
टेकु र कालिमाटीमा दिउँसै स्याल कुदेको देख्न पाइन्थ्यो, त्यतिबेला। राजधानीको भित्री सहरी क्षेत्रलाई कलंकी सडक खण्डसँग यही टेकु र कालिमाटीले जोडे पनि यो क्षेत्र आफैमा निकै पिछडिएको थियो। यो सडकमा सर्वसाधारण पनि त्यतिसारो हिँड्न मान्दैन्थे। कारण थियो, दिउँसै स्याल हेरिनु र एक्लै हुँदा स्यालले टोक्नु।
त्यो बेला उपत्यकामा निर्माण हुने घर, सरकारी कार्यालय, पुल, सडक, बहुतल्ले भवनलाई आवश्यक पर्ने हार्यवेयरका सामग्री भारत, चीन, कोरिया र रुसबाट आयात हुन्थ्यो। आयात हुने यस्ता सामग्री पनि सजिलै किन्न पाइँदैनथ्यो। बाहिरबाट आयात भएर आउने यस्ता सामग्रीको मुख्य बिक्रेता तत्कालीन समयमा नेसनल ट्रेडिङ लिमिटेड थियो। टेकु र कालिमाटीका पसलले थोरथोरै परिमाणमा यस्ता सामग्री राख्ने गर्थे। यस्ता सामग्री खरिद गर्न सर्वसाधारणले १५ दिनअगावै आफूलाई आवश्यक परेको परिमाणको नेसनल ट्रेडिङमा लाइन बसी कुपन कटाउनुपथ्र्यो।
‘तर आवश्यक परिमाणमा पैसा तिर्दा पनि पर्याप्त परिमाणमा निर्माण सामग्री किन्न पाइँदैनथ्यो’, पेसाले इन्जिनियर रहेका चाबहिलका ५८ वर्षीय धु्रव थापाले भने, ‘माग गरेभन्दा थोरै परिमाणमा निर्माण सामग्री नेसनलबाट खरिद गर्न पाइन्थ्यो। थप सामग्री टेकु र कालिमाटीको पसलबाट खरिद गर्नुपथ्र्यो।’ थापालाई अहिले पनि सम्झना छ, उतिबेला निर्माण सामग्रीको बजार कस्तो थियो भनेर। उनका अनुसार त्योबेला राजधानी अहिलेजस्तो विकसित थिएन। केही सीमित क्षेत्र मात्रै सहरका रूपमा रूपान्तरित हुँदै थियो।
‘त्यतिबेला भर्खरै काठमाडौंका केही क्षेत्र सहरका रूपमा रूपान्तित हुँदै थियो। २०२४ सालतिरको कुरा हो। म सानै थिए। भएका अधिकांश घर छड र पिलर नभएका थियो। माटो र काँचो इँटाका घर थिए। विकासको क्रमसँगै विस्तारै छडसहितको पिलर, छतको ढलान, जगमा छडको प्रयोग गर्ने प्रविधि भित्रियो। प्रविधिसँगै फलामे छड, जस्ता पाता, पाइपलगायत माग पनि चर्को रूपमा बढ्दै गयो। हाम्रो घर बनाउन पनि कहिले काँही डण्डी, पाइप, सिमेन्ट किन्नुपथ्र्यो,’ थापा भन्छन्, ‘म आफै पनि सानो छँदा त्यस्ता सामग्री खरिद गर्न कतिपटक नेसनल ट्रेडिङमा लाइन बसेर कुपन काटे।
कुपनका आधारमा मात्रै निर्माण सामग्री खरिद गर्न पाउथे। नेपालमै यस्ता सामग्रीको उत्पादन हुँदैनथ्यो। जति खपत हुन्थ्यो, ती सबै भारत, चीन, कोरिया र रुसलगायत मुलुकबाट आयात हुन्थ्यो।’ २०४० सालसम्म अधिकांश राजधानीबासीले निर्माण सामग्री टेकुस्थित नेसनल ट्रेडिङसहित टेकु र कालिमाटीमा रहेका अन्य साना पसलबाट खरिद गर्नुपर्ने बाध्यता थियो। अहिलेजस्तो राजधानीका गल्ली र चोक चोकमा जस्तो निर्माण सामग्रीको हब थिएन।
त्यतिबेला टेकु र कालिमाटी सहरी क्षेत्रभन्दा केही टाढा र सबैको पहुँचमा थियो। बिस्तारै उपत्यका सहरी क्षेत्रको रुपमा विकसित हुँदै थियो। त्यहिबेला चोभारमा हिमाल सिमेन्ट उद्योग खुल्यो। चोभारबाट भित्री सहरी क्षेत्रमा छिर्ने मूल सडक पनि कालिमाटी र टेकु नै थियो। यस्तै व्यवसायी र नेसनल ट्रेडिङले विभिन्न मुलुकबाट वीरगन्ज हुँदै राजधानीमा निर्माण सामग्री भित्त्याउने मूल बाटो पनि त्यही टेकु र कालिमाटी थियो। व्यवसायीले यही क्षेत्रलाई आफ्नो व्यवसायको मूल केन्द्र विन्दु बनाउँदै लगे।
व्यापार व्यवसाय फस्टाउन यो क्षेत्रमा त्योबेला पर्याप्त मात्रामा खाली जग्गा भएकाले हार्डवेयर पसल सञ्चालन गर्न यो क्षेत्र व्यवसायीका लागि गतिलो सावित बन्यो। यसरी सुरु भयो निर्माण सामग्रीको बजार हब टेकु र कालिमाटीबाट।
उत्पादन र उद्योगको अवस्था
नेपाल स्टिल रोलिङ मिल एसोसिएसनका पूर्वअध्यक्ष धु्रव श्रेष्ठका अनुसार फलामे डण्डीमा नेपाल आत्मनिर्भर भइसकेको छ। उत्पादनको गुणस्तर पनि अब्बल छ। उनकाअनुसार कच्चा पदार्थ आयात गरी फलामे डण्डीको उत्पादन हुन्छ। कच्चा पदार्थमा नेपाल पूर्णरूपमा परनिर्भर छ। नेपालमा वार्षिक करिब ७५ अर्बभन्दा बढी मूल्यबराबरको फलामे डण्डीको कारोबार हुन्छ।
हिमाल स्टिल्स् उद्योगको स्थापनासँगै नेपालमा स्वदेशी फलामे छड, पाइप, जस्ता पाताको बजार विस्तार भएको मानिन्छ। हिमाल स्टिल उद्योग स्थापना भएको ५० बर्ष नेटो काटिसकेको छ। राजधानीसहित देशका अन्य सहरोन्मुख क्षेत्र पनि विस्तारै सहर बन्दै गयो।
सडक निर्माणसँगै बढदै गएको सहरी क्षेत्रका कारण हरेक स्थानमा भौतिक पूर्वाधार, पुल, बहुतल्ले भवन निर्माण हुन थाल्यो। भौतिक पूर्वाधार निर्माणसँगै यस्ता सामग्रीको माग बढेसँगै उत्पादन गर्ने उद्योग पनि थपिँदै गयो। हिमाल उद्योगसँगै अहिले देशभर गरी करिब २० को संख्यामा उद्योग सञ्चालनमा छन्। थप ५ वटा जति उद्योग पाइपलाइनमा छन्।
अम्बे स्टिलका निर्देशक पूर्णभद्र पौडेलका अनुसार नेपालमै अहिले प्रसस्त उत्पादन हुँदा फलामे रडको आयात नगण्य परिमाणमा हुन्छ। उनका अनुसार नेपालमा वार्षिक करिब साढे ५ लाख मेट्रिक टन फलामे छडको माग छ। तर उद्योग वार्षिक उत्पादन क्षमता भण्डै दोब्बरको हाराहारीमा छ। स्वदेशी रोलिङ मिलसँग वार्षिक करिब १५ देखि १६ लाख मेट्रिक टन फलामे डण्डी उत्पादन गर्न सक्ने क्षमता छ। तर विभिन्न प्रकारको अवरोधका कारण यस्ता उद्योगबाट १० ७ लाख टनको हाराहारीमा मात्रै फलामे डण्डीको उत्पादन हुँदै आएको छ। आगामी वर्षमा २० लाख टन टन उत्पादन गर्ने लक्ष्य राखिएको छ।
२० लाख टन उत्पादन गर्न करिब २५ लाख टन ब्लेड आयात हुन्छ। उत्पादन हुने फलामे डण्डीबाट विभिन्न प्रकारका सामग्री निर्माण गरी विभिन्न मुलुकमा सबा खर्ब मूल्यबराबरको निर्यात पनि हुन्छ।
अहिले नेपालमा टीएमटी र बार भएको दुई प्रकारमा आठ एमएम, १० एमएम, १२ एमएम, १६ एमएम, २० एमएम, २५ एमएम, २८ एमएम र ३२ एमएम ब्यास भएको फलामे छड उत्पादन हुँदै आएको छ। पछिल्लो ६ वर्षदेखि फलामे छडमा नेपाल पूर्णरूपमा आत्मनिर्भर भइसकेको छ।
पञ्चकन्याले २५ वर्ष मनाइसकेको छ। अम्बे उद्योग पनि स्थापना भएको करिब ७ वर्ष नाघिसकेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागका अनुसार अहिले मुुलुकमा १९–२० वटा उद्योगले फलामे डण्डी र पाइप उत्पादन गर्दै आएको छ।
विभागका अनुसार नेपालमा हाल हुलास स्टिल, कमला स्टिल, अशोक स्टिल, हिमाल स्टिल, जगदम्बा स्टिल, काठमाडौं स्टिल, लक्ष्मी स्टिल, अम्बे स्टिल, एभरेस्ट स्टिल, गोयन्का स्टिल, वागेश्वरी स्टिल, हामा स्टिल, नारायणी स्टिल, पञ्चकन्या स्टिल, पशुपति स्टिल, एसआर स्टिल, शाख: स्टिल, शालिमार स्टिल, जगशक्ति स्टिल, मारुती नन्दन स्टिल, भगवती स्टिललगायत उद्योग सञ्चालनमा छन्।
हुलास स्टिलका सञ्चालक दिवाकर गोल्छाका अनुसार उद्योगमैत्री सरकारी नीतिको अभावमा कहिलेकाँही स्वदेशी उद्योगले पूर्णक्षमतामा उत्पादन गर्न सकेको छैन। गोल्छा भन्छन्, ‘यस्तो बेलामा भारतबाट गुणस्तरहीन सामग्री आयात हुन्छ।’ उनका अनुसार केही वर्ष अघिसम्म नेपालमा ३५ को संख्यामा फलामे छडको उद्योग भए पनि नियमितरूपमा बिजुलीको आपूर्तिको अभावमा अहिले करिब २० को संख्यामा मात्रै उद्योग सञ्चालनमा छन।
स्वदेशी उत्पादनको गुणस्तर उच्च
गुणस्तर तथा नापतौल विभागका अनुसार नेपाली उद्योगले उत्पादन गरेका फलामे डण्डी, पाइप र जस्ता पाता उच्च गुणस्तरका छन्। भारतीय उत्पादनभन्दा स्वदेशी उत्पादन निकै गुणस्तरीय रहेको विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले बताए। उनका अनुसार विभागबाट १९–२० वटा स्वदेशी उद्योगले गुणस्तरसम्बन्धी एनएस मार्क लिएका छन्। वार्षिक रूपमा कुनैमा सामान्य त्रुटिबाहेक नेपाली छड, पाइप, जस्तापातामा हालसम्म अति संवेदनशील समस्या देखापरेका छैनन्।