सर्पदंश उपचार केन्द्रमा बिरामीको मृत्यु भएपछि तोडफोड
मलंगवा : उपचारको क्रममा चिकित्सकको लापरवाहीबाट बालिकाको मृत्यु भएको भन्दै आक्रोशित भीडले लालबन्दी–१ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा तोडफोड गरेका छन् ।
हरिवन नगरपालिका–९ का पुष्कर बुढाथोकीको साढे २ वर्षीया छोरी सम्पदा बुढाथोकीको उपचारको क्रममा मृत्यु भएपछि आक्रोशित आफन्तले सोमवार राति केन्द्रमा तोडफोड गरेका हुन् ।
सर्पले टोकेपछि सम्पदालाई उपचारका लागि केन्द्रमा ल्याइएको थियो । तोडफोडबाट भेण्टिलेटर तथा आईसीयुको मोनिटर र झ्यालहरुमा क्षति पुगेको छ । बालिकालाई अस्पतालमा ल्याउनेबित्तिकै उपचारमा संलग्न एक मात्र स्वास्थ्यकर्मीले मादक पदार्थ सेवन गरेको र अन्य स्वास्थ्यकर्मी बोलाउँदा समयमै नआएकाले बालिकाको मृत्यु भएको आफन्तको गुनासो छ ।
'समयमै चिकित्सक आएको भए बालिकाको ज्यान बच्थ्यो । तर, चिकित्सक समयमा नआउँदा उपचारको अभावमा बालिकाले ज्यान गुमाउनु परेकाे हाे,' मृतकका एक आफन्तले आराेप लगाए । तोडफोडबाट भेण्टिलेटर तथा आईसीयुको मोनिटरलगायत उपकरण र केन्द्रको झ्यालका सिसाहरुमा क्षति पुगेको अस्पताल व्यवस्थापन समिति अध्यक्ष बोधराज काफ्लेले जानकारी दिए ।
दुई महिनाअघि मात्रै जडान गरिएको भेन्टिलेटर फुटाउँदा केन्द्रलाई लाखौंको क्षति पुगेको अध्यक्ष काफ्लेले बताए । यस्तो सुविधा आसपासका जिल्लामा छैन । प्रदेश सरकार र नगरपालिकाको सहयोगमा ३५ लाखको खर्चमा भेन्टिलेटर सुविधा जडान गरेको अध्यक्ष काफ्लेले बताए । दैनिक ४÷५ जना सर्पले टोकेका बिरामीको उपचार हुने पनि केन्द्रका अधिकारी बताउँछन् ।
प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउतले घटनाको छानविन गर्न समिति गठन गर्ने प्रतिवद्धता जनाएपछि परिवारजनले मंगलवार बिहान शव बुझेका छन् ।