लोकदोहोरीमा गुञ्जियो नाचघर

लोकदोहोरीमा गुञ्जियो नाचघर

काठमाडौं : चिटिक्क परेको रोदीघर जस्तै बनेको छ राष्ट्रिय नाचघरको हल। कलाकारहरू स्थानीय पहिरनमा सजिएका छन्। पुरुष कलाकारले दौरासुरुवाल, कालो इस्टकोट र भादगाउँले कालोटोपी लगाएका छन्। महिला कलाकार गुन्यूचोलीमा चिटिक्क परेका छन्।

रातो माटोले लिपेको दलान। खरको छानो लगाइएको पाली। पालीको छानोमा नाङ्लोमा बिस्कुन सुकाइएको छ। फर्सी फलेका छन्। आँगनमा तुलसीको मोठ छ। डोको, फूलका गमला आँगनको छेउमा छन्। पिँढीमा एक हूल कलाकार दोहोरीमा भिड्ने तयारी गर्दैछन्। कलात्मक झ्यालमाथि लालटिन झुन्ड्याइएको छ। यो दृश्य नाचघर परिसरको हो। दृश्य हेर्दा यस्तो लाग्छ काठमाडौंमा नभई ग्रामीण भेगको कुनै रोदीघरमा छौं।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान र सांस्कृतिक संस्थानको आयोजनामा राष्ट्रिय खुला दोहोरी गीत प्रतियोगिता सञ्चालन भइरहेको छ। राष्ट्रिय नाचघरको सभाहलमा आइतबारदेखि सुरु भएको यो कार्यक्रममा विभिन्न जिल्लाका स्थानीय लोक स्वाद सुन्न सकिन्छ।

रोदीघरमा दोहोरी गीत गाएर युवा जाग्राम बस्नु, मन परेको मान्छेलाई गीतकै माध्यमबाट फकाउनु र भगाएर लैजानु नेपाली संस्कृतिको पुरानै परम्परा हो। आज पनि विभिन्न ठाउँमा रोदी बस्ने चलन यथावत् छ। गाउँघरतिर दोहोरी गीत सबैको मुखमा झुन्डिएकै हुन्छ। चाहे विरह परेको बेला होस् या रमाइलो क्षण सुनाउने बहाना होस् लोकसंगीत पारखीले दोहोरी गीतलाई आफ्नो रोजाइमा पारेका हुन्छन्।

लोक तथा दोहोरी गीतको उन्नयनमा लागिपरेको लोक तथा दोहोरी गीत प्रतिष्ठानले लोक तथा दोहोरी गीत बचाउन, अन्तर्राष्ट्रिय स्तरमा फैलाउने काम गरिरहेको छ। २०५८ सालमा स्थापना भएको यो संस्थाले नेपालमा मात्रै गाइने दोहोरी गीतलाई अन्तर्राष्ट्रिय स्तरमा लैजाने काम गरिरहेको कार्यक्रमका संयोजक रमेश बिजीले जानकारी दिए।

दोहोरी गीत मनोरञ्जनात्मक सांगीतिक खेल हो। सुन्न थालेपछि छाड्न मन लाग्दैन। केटाको समूहको गीत गाएपछि केटीको समूहले के जवाफ दिन्छन् होला ?       भन्ने उत्सुकताले दर्शक तान्छ। ‘गीतमार्फत केटा र केटीबीच गरिने सवालजवाफ नै दोहोरी गीत हो’, विजीले प्रस्ट पारे।

फूलबुट्टे रुमाल

पोखराको मायालाई भेटियो काठमाडौं जमल

तिमी उता म यता बसेर

गाउनुपर्छ पलेँटी कसेर –‘केटी समूह’

भन्ज्याङमा कुन खोली सुसाको हो

गाउन भनी जोसिई आको हो। –‘केटा समूह’

प्रतियोगितामा सहभागी अधिकांश समूहले दोहोरीमार्फत प्रेमिल कुरा गरेका थिए। गाउँमा हँुदा कस्सिएको प्रेमसम्बन्ध प्रेमीहरू सहर पसेसँगै धमिलिएको गुनासो थियो अधिकांश गीतमा। धनी र सम्पन्न केटा पाएपछि गाउँमै बचपनदेखि हुर्किएको मायालाई केटीले लत्याएको आरोप थियो गीतमा। जेहोस् कार्यक्रमस्थल रमाइलो बनेको थियो दोहोरीका टुक्काले। कलाकारले गीतमार्फत नै सामाजिक विकृति र विसंगतिविरुद्ध आवाज उठाएका थिए।

आयोजकले कार्यक्रममा सहभागिताका लागि देशैभरि रहेका दोहोरी समूहलाई खबर गरेको थियो। ४० समूह सहभागी भएका थिए। प्रिसेलेक्सनमा २८ टोली छनोट भए। चार दिनसम्म चल्ने यो कार्यक्रममा २८ टोली दोहोरी घम्साघम्सी गर्दै छन्। कार्यक्रममा विशेषत दोहोरी साँझमा गीत गाउने कलाकार सहभागी छन्। कार्यक्रममा लोकगीतमा संघर्ष गर्दै गरेका नयाँ पुराना कलाकारको जमघट छ। कार्यक्रममा प्रयोग गरिएको गीतको भाकाको सर्जकलाई रोयल्टी संकलक समाज मार्फत रोयल्टी पनि प्रदान गरिने आयोजकले जानकारी दियो।

दोहोरी मर्यादित बनोस्, सभ्य र सुनिने बनोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको संयोजक रमेशले जानकारी गराए। उनका अनुसार समाज परिवर्तनका लागि गीत गाउनुपर्छ। शालिन दोहोरी खेलिनुपर्छ भन्नेमा आयोजक सदैव सचेत रहेको छ।

प्रतियोगितामा प्रथम हुने समूहलाई एक लाख नगद, मेडल र प्रमाणपत्र, दोस्रोलाई ५० हजार, तेस्रोलाई २५ हजार उत्कृष्ट समूहलाई १०, १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ। एउटा टोलीमा दुईजना केटा र दुईजना केटी कलाकार मिलेर संयुक्त रूपमा गीत गाउँछन्।

प्रतियोगिताको निर्णायक टिममा बद्री पंगेनी, कृष्णसुधा ढुंगाना, तेजबहादुर केसी, बद्री पराजुली, पशुपति शर्मा, लक्ष्मी न्यौपाने, प्रचण्ड जीसी, नारायण रायमाझीलगायतका कलाकार छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.