बन्द छन् प्रयोगशाला
बुटवल : तरकारी र फलफूलमा विषादी परीक्षणका लागि ढेड वर्षअघि बुटवलमा खोलिएको विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशाला तीन महिनायता बन्द छ। वैशाखमा कर्मचारी समायोजन भएर प्रदेश र संघमा पुगेपछि प्रयोगशाला बन्द भएको हो।
बुटवलको प्रयोगशाला बन्द भएकै कारण केही दिनअघि भैरहवा भन्सार हुँदै भित्रिने तरकारी र फलफूलको चेकजाँच काठमाडौं पुर्याएर गर्नुपर्यो। करिब एक करोड लागतमा यस्ता प्रयोगशाला प्रदेश ५ मा दुईवटा छन्। तर बुटवल र नेपालगन्जमा रहेका दुईवटै प्रयोगशालाले काम गरेका छैनन्।
भारतबाट आउने तरकारीमा विषादी भएनभएको परीक्षण गर्ने सरकारी निर्णय स्थगित गरिएपछि भइरहेको विरोधबीच मंगलबार मात्रै काजमा एक जना प्राविधिक प्रयोगशालामा हाजिर भएका छन्। तीन महिना बन्द हुँदा थोक बजार प्रवेश हुने तरकारी परीक्षण भएन। ०७४ साल पुसमा संघीय सरकारले बुटवलको थोक बजार उपज केन्द्रमा दु्रत विश्लेषण प्रयोगशाला एकाइ सञ्चालनमा ल्याएको हो। तर एकाइले अहिलेसम्म काम गर्न सेकको छैन। ‘कर्मचारी समायोजनपछि प्रयोगशालामा कोही कर्मचारी खटिएनन्,’ मंगलबार प्रयोगशालामा हाजिर भएका बाली विकास अधिृकत रामबहादुर खत्रीले भने, ‘मलाई काजमा खटाइएको छ। अब काम थालिन्छ।’
बुटवलको थोक बजारमा केरा पकाउन औषधिमा काँचो केरा चोप्दै व्यापारी।
समायोजनअघि पनि खत्रीले नै प्रयोगशालामा विषादी परीक्षण गरेका थिए। उनीबाहेक एक जना कार्यालय सहायक मात्रै प्रयोगशालामा छन्। यहाँ नियमित सञ्चालनका लागि कम्तीमा चार जना प्राविधिक कर्मचारी चाहिने खत्री बताउँछन्। ‘भारतीय तरकारी र नेपाली तरकारी फलफूल आयात धेरै हुने भएकाले परीक्षणमा जनशक्ति धेरै चाहिन्छ’, उनले भने।
प्रयोगशालामा कीटनाशक विषादीको मात्रा परीक्षण गर्न सकिने उकरण छन्। बुटवलमा कार्वामेट र अर्गेनो फस्फेट नामक कीटनाशक विषादीको मात्रै परीक्षण हुने गरेको छ। बुटवलमा ल्याब बन्द भएकै कारण केही दिनअघि भैरहवा भन्सारबाट आउने तरकारी परीक्षण काठमाडौंको कालीमाटीस्थित ल्याबमा गरिएको थियो। जनशक्ति भए सो स्तरको परीक्षण बुटवलमै गर्न सकिनेछ।
प्रदेश ५ का बुटवल र नेपालगन्जमा रहेका प्रयोगशाला प्रदेश सरकारले चलाउने तयारी थालेको छ। भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले प्रयोगशाला सञ्चालनको योजना बनिरहेको बताइन्।
प्रयोगशाला संघीय सरकार मातहतमा खुलेका हुन्। अहिले कुन सरकार मातहत छन् भन्ने निश्चित भइरहेको छैन। कार्यालय सहायकले धानेका प्रयोगशालामा प्राविधिक पठाइने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तयारी छ।
प्रयोगशाला परीक्षणमा नेपाली र भारतीय उत्पादन दुवैमा विषादी भेटिएको छ। भारतबाट आउने आँप, केरा र भेडे खुर्सानीमा अत्यधिक विषादी भेटिएपछि नष्ट गरिएको थियो। बेमौसमी तरकारी र फलफूलमा विषादी भेटिने बाली विकास अधिकृत खत्री बताउँछन्। ‘अफ सिजनका उत्पादनमा विषादी बढी भेटिन्छ’, उनले भने, ‘कतिपय त्यस्ता उत्पादन एकाध दिन राखेपछि बिक्री गर्न दिने गरेका छौं।’ किटाणु मार्न प्रयोग हुने विषादी पखालेर र केही दिन त्यत्तिकै राख्दा पनि नष्ट हुने उनले बताए।